+
+
व्यंग्य/कथा :

कलाबहादुर

प्रकाश तिवारी प्रकाश तिवारी
२०७८ असार १२ गते १६:५२

कलियुग शुरू भइसकेको थियो । ब्रहृमाजीले सृष्टिको एकाधिकार छोड्नुभएको केही हजार वर्षपछिको कुरो हो । कलि लागिसके पनि मानिसहरूले ब्रहृमाजीको सृष्टि-सत्तामाथि विश्वास गर्न छोडेका थिएनन् । उहाँ स्वर्गमा स्थायी बसोबास गर्ने गरी पृथ्वीलोकबाट प्रस्थान गर्नुभयो । यात्राका क्रममा कैलाशपर्वत मुन्तिर रहेको गरीब किसानको झुपडीतिर बास बस्न पुग्नुभयो । ब्रहृमाजी आउनुभएको थाहा पाएर चन्द्रमान र उसकी श्रीमती पार्वती औधी खुशी भए ।

पार्वती र चन्द्रमानका पाँच सन्तान जन्मे पनि त्यतिबेला कुनै जीवित थिएनन् । दुवैलाई एउटा छोरा भइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो । चन्द्रमान र पार्वतीले ब्रहृमाजी घर आउनुभएको मौकाको फाइदा उठाउने विचार गरे । रात्रि खानपानपछि जोईपोईले नै हात जोडी पुत्र प्राप्तिको वर मागे ।

ब्रहृमाजीले पार्वतीको शिरमा हात राखी ‘तथास्तु’ भन्नुभयो । साथै पुत्रलाभ भएपछि सोको जानकारी दिन जोडले शंख फुक्न निर्देशन दिनुभयो । नभन्दै ब्रहृमाजीको आशीर्वाद पाएको दश महीनाभित्रै पार्वतीले छोरो जन्माई । चन्द्रमानले ब्रहृमाजीको आदेशको पालना गर्दै शंख फुकी पुत्रलाभको सन्देश पठायो । ब्रहृमाजी शयनकक्षमा आराम गरिरहनुभएको थियो । शंख बजेको आवाजबाट उहाँले पार्वतीले पुत्रलाभ गरेको अनुमान लगाउनुभयो ।

छोरो जन्मेकोमा पार्वती विछट्टै खुशी थिई । उसले नवजात शिशुलाई स्तनपान गराउँदै म्वाइँ खाई । चन्द्रमानले न्वारानको दिन रजिष्ट्रेसन पास गर्ने गरी बालकको नाम ‘कलाबहादुर’ राख्यो ।

चन्द्रमान गरीब वर्गको मानिस थियो । कुनै जायजेथा थिएन । मुखियाको बारीमा झुपडी बनाएर बसेको थियो । श्रम नबेचे हातमुख जोर्न असम्भव थियो । पार्वती दुधे बालकलाई झोलुङ्गोमा सुताएर मेलापात जान्थी । समयमा खान नपाउँदा बालक कलाबहादुर भोकले रोइरहन्थ्यो ।

अभावै अभावका बीच बित्यो कलाबहादुरको बाल्यकाल । समयमा पर्याप्त आहार नपाउँदा उसको शरीर सुकेर दाउरा जस्तै भएको थियो । छिमेकीहरू उसको लुरे शरीरमाथि व्यङ्ग्य गर्दै ‘दाउरे’ भनी बोलाउँथे ।

शरीर लुरे भए पनि मुख छुरा जस्तो धारिलो थियो उसको । त्यतिकै जिद्दी स्वभावको पनि थियो ऊ । उट्पट्याङ हर्कत गरिरहन्थ्यो । दश कक्षामा पढ्दाको कुरा हो, शौच गरिरहेकी युवतीलाई ढोकाको चरबाट चियाएको अभियोगमा माफी माग्नुपर्ने भयो कलाबहादुरले । जिद्दी स्वभावको भएकोले ऊ माफी माग्न मरिगए तयार भएन । क्षमा माग्न तयार नभएपछि शिक्षकले कलाबहादुरमाथि छडी बर्सायो । रीसको आवेगमा कलाबहादुर छडी हान्ने शिक्षकमाथि नै जाइलाग्यो । अनुशासनहीन क्रियाकलाप गरेकोमा ऊ विद्यालयबाट निष्कासित भयो । त्यसपछि उसको पढाइ टुङ्गएि जस्तै भयो ।

अदालतको फैसलापछि कलाबहादुरको जेल जीवन शुरू भयो । जेलमा बस्दा आफूले गरेको हत्यालाई कसरी राजनीतिक रङ दिन सकिन्छ भन्नेबारे सोचिरहन्थ्यो कलाबहादुर । उसको भित्री इच्छा उक्त हत्यालाई शोषक मास्ने अभियानको रूपमा परिभाषित गर्ने थियो

कलाबहादुरका साथीहरू पनि ऊ जस्तै उट्पट्याङ थिए । हरेक दिन कुनै न कुनै अवाञ्छित गतिविधिमा संलग्न रहन्थे । उनीहरूले एकदिन गुलेली प्रहार गरी पानी बोकेर आएकी गृहिणीको गाग्रो फोडिदिए ।

कलाबहादुर बीस-बाइसको थियो । ऊ र उसका सहयोगी मिलेर सम्भ्रान्तहरूको घर लुट्ने योजना बनाए । रातको समयमा कलाबहादुर पेस्तोल बोकेर कुनै एक धनीको घर पुग्यो । ‘बोलिस् कि मरिस् !’ घर मालिकको कञ्चटमा पेस्तोल तेस्र्याउँदै धम्क्यायो कलाबहादुरले । प्रतिरोधमा उसकी श्रीमती मारिई ।

ऊमाथि ज्यान मुद्दा दायर हुनुको अतिरिक्त पक्राउ पुर्जी जारी गरियो । कलाबहादुर सुरक्षाको खोजीमा रातारात परदेश हान्नियो । कैयौं महीना अज्ञातवास बस्यो । त्यही समयमा घरमा बाबु सिकिस्त बिरामी परेको खबर पुग्यो । घर फर्किने क्रममा ऊ बीच बाटोबाटै गिरफ्तार भयो ।

अदालती फैसलापछि कलाबहादुरको जेल जीवन शुरू भयो । जेलमा बस्दा उक्त हत्यालाई कसरी राजनीतिक रङ दिन सकिन्छ भन्नेबारेमा सोचिरहन्थ्यो कलाबहादुर । उसको भित्री इच्छा धनीको हत्यालाई शोषक मास्ने अभियानको रूपमा परिभाषित गर्ने थियो । लामो प्रयासपछि ऊ त्यसमा केही हदसम्म सफल पनि भयो ।

०००

कलाबहादुरले झण्डै डेढ दशक जेलमा बितायो । त्यहीबीच देशमा ठूलो राजनीतिक उथलपुथल आयो । लोकतन्त्र बहालीपछि राजनीतिक बन्दीहरू जेलमुक्त हुन थाले । कलाबहादुर पनि राजनीतिक बन्दीको रूपमा कैदमुक्त भयो ।

जेलमा रहँदा ऊ पुराना नेता मार्फत मेकियाबेलीको दर्शनबाट दीक्षित भएको थियो । ‘विश्वासको पालना नगर । सिंह र स्याल झैं होऊ । शक्तिको प्रयोग निर्ममतासाथ गर’ भन्ने मेकियाबेलीको उक्ति उसलाई साह्रै मन पर्दथ्यो । जेल प्रवासमै उसले रोम जलिरहँदा बाँसुरी वादनमा मस्त रहने सम्राट निरोको किस्सा पनि सुनेको थियो ।

तिनताक दलहरू राजनीतिक स्वतन्त्रताको फाइदा उठाउँदै संगठन विस्तारमा लागेका थिए । संगठन विस्तारका नाममा डन, डकैत, ज्यानमारा, तस्कर, माफिया, भ्रष्टाचारी आदि सजिलै पार्टीको झण्डामुनि गोलबन्द हुन्थे । त्यही मौकामा कलाबहादुर पनि दलको रातो झण्डामुनि गोलबन्द हुन पुग्यो ।

धुत्र्याइँ, छलकपट, षड्यन्त्र र जालझेलमा माहिर भइसकेको थियो कलाबहादुर । उल्लिखित गुणहरूको सहारामा उसले पार्टीभित्र प्रभाव विस्तार गर्दै लग्यो । केही वर्षभित्रै कलाबहादुरले दलभित्र कुण्डले-मण्डले, तस्कर, माफियाहरूको विशाल फौज तयार पार्‍यो । जो उसको एक इशारामा समाजलाई त्राहिमाम् बनाइदिने सामथ्र्य राख्थे ।

त्यसपछि कलाबहादुर दल र सरकारको कार्यकारी नेतृत्व हत्याउने आन्तरिक गृहकार्यमा जुट्यो । आमा पार्वतीले सोका लागि भगवान ब्रहृमाको आशीर्वाद प्राप्त गर्न सुझाव दिई । पार्वतीकै सल्लाहअनुसार उसले ब्रहृमाजीको आराधना गर्‍यो । आराधनापछि ब्रहृमाजी प्रकट भई मनोकाङ्क्षा सोध्नुभयो । उसले ‘पार्टी र सरकारको सर्वोच्च स्थान हासिल गर्न सकूँ’ भनी वर माग्यो । ‘नागरिक अधिकारको अपहरण गर्न नपाउने’ शर्तमा ब्रहृमाजीले ‘तथास्तु’ भनी आशीर्वाद दिनुभयो ।

ब्रहृमाजीबाट आशीर्वाद पाएको केही महीनाभित्रै कलाबहादुर दलको सर्वोच्च नेतृत्वमा पुग्न सफल भयो । त्यही साल सम्पन्न आम निर्वाचनपछि त ऊ सरकार प्रमुखको कुर्सीमा समेत आसीन हुन पुग्यो !

सत्तामा पुगेपछि उसले राज्यको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्न थाल्यो । विरोधीहरू दिन-प्रतिदिन कमजोर बन्दै गए । केही वर्षभित्रै ऊ प्रतिद्वन्द्वीविहीन जस्तै अवस्थामा पुग्यो ।

कलाबहादुर अपार शक्तिले सम्पन्न भइसकेको थियो । तैपनि सन्तुष्ट रहन सकेन । उसलाई आजीवन सत्तामा रहने तीव्र उत्कण्ठा जाग्न थाल्यो । शिरमा मुकुट पहिरिन पाए उसको त्यो सपना पूरा हुन सक्थ्यो ।

कलाबहादुरले चाहेपछि चुनौती दिने कसले ! उसले संविधान संशोधन गर्दै ‘राजतन्त्र वा गणतन्त्र’ मध्ये कुनै एक रोज्ने गरी जनमतसंग्रहको घोषणा गर्‍यो ।

उसको त्यस कदमको प्रतिरोध नभएको होइन तर उसले विरोधीमाथि निषेधको तलबार राम्रैसँग चलायो । परिणाम त्यही आयो जे कलाबहादुरले अपेक्षा गरेको थियो ।

राजतन्त्र विजयी भएको भोलिपल्टै कलाबहादुरले धर्मगुरुका हातबाट मुकुट पहिरियो । यसप्रकार राजा बनी आजीवन शक्ति र सत्तामा रहने कलाबहादुरको धोको पूरा भयो ।

कलाबहादुर शक्ति र सत्ताको उन्मादी नशामा चुर्लुम्म डुबिसकेको थियो । उसले एकएक गर्दै सम्पूर्ण नागरिक स्वतन्त्रता हरण गर्न थाल्यो । अन्याय अत्याचारले सीमा नाघ्दै गएपछि जनता जाग्न थाले । निमुखा भनिएकाहरू बोल्न थाले । नागरिक समाज आन्दोलित भयो । जनता जुर्मुराएको देखेपछि प्रतिपक्षी दलहरूले समेत आन्दोलनको घोषणा गरे । कलाबहादुरले आन्दोलनकारीलाई लाठी र गोलीको उपहार दियो ।

स्वर्गलोकमा ब्रहृम परिषद् चलिरहेको थियो । सभामा सभासद, भाइ-भारदार, ऋषिगण, ज्योतिष, पत्रकार आदि सहभागी थिए । सभासदहरू स्वर्ग, मत्र्य, पातालमा घटित जल्दाबल्दा विषयमा आफ्नो अभिमत राखिरहेका थिए । केहीले ब्रहृमाजीद्वारा प्रतिपादित वर्ण व्यवस्थाका कारण कथित माथिल्लो वर्णका मानिसहरूले शूऽ वर्णका मानिसको नृशंस हत्या गरेको, छुवाछूत र भेदभावको अन्त्य हुन नसकेको भन्दै वर्ण व्यवस्थालाई तत्काल प्रतिसंहरण गर्न आवाज उठाइरहेका थिए ।

बैठकमा ऋषि नारदले अर्को ज्वलन्त विषय उठाए । उनले कैलाश पर्वत मुन्तिरको हिमाली राज्यमा घोर अशान्ति छाएको, ब्रहृमाजीको मानसपुत्र कलाबहादुर दिन प्रतिदिन निरंकुश बन्दै गएको रिपोर्ट पेश गरे । कलाबहादुरको बारेमा त्यस्तो नकारात्मक टिप्पणी सुन्नुपर्दा ब्रहृमाजी दुःखित हुनुभयो । आफूलाई दिएको वचन पूरा नगरेकोमा ऊप्रति क्रोधित पनि हुनुभयो । अनि यसबारे विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न ऋषि नारदलाई निर्देश गर्नुभयो ।

ऋषि नारदले केही घण्टाभित्रै भूमण्डलको भ्रमण गरी ब्रहृम परिषदसमक्ष स्थलगत प्रतिवेदन प्रस्तुत गरे । उनले सम्राट कलाबहादुरले जनअधिकार कुण्ठित गरी सम्पूर्ण सत्ता हातमा लिएको, शक्तिपृथकीकरण सिद्धान्तको धज्जी उडाएको, भ्रष्टाचार, अन्यायका तथ्य प्रस्तुत गरे ।

अब भने ब्रहृमाजी कलाबहादुर विरुद्ध ठोस कदम नचाली हुँदैन भन्ने निष्कर्षमा पुग्नुभयो । उहाँले आफ्नै आँखाले कैलाश शिखरबाट हिमाली राज्यमा नियालेर हेर्नुभयो ।

जताततै अशान्ति र हिंसा देखेर ब्रहृमाजीलाई कलाबहादुरमाथि खपिनसक्नु रीस उठ्यो । चन्द्रमानले राति सपनामा ब्रहृमाजीलाई देख्यो । सपनामा ब्रहृमाजीले कलाबहादुरप्रति आक्रोश पोख्नुभयो । चन्द्रमान चिन्तित हुँदै कलाबहादुरको दरबार पुग्यो । ऊ छोरामाथि कुनै अपशकुन नआइलागोस् भन्ने चाहन्थ्यो।

उसले छोरालाई सम्झायो । ‘ब्रहृमा, ब्रहृमा, ब्रहृमा ! म कुनै ब्रहृमासर्मालाई चिन्दिनँ ! म आज जुन स्थानमा छु आफ्नै पौरख र बलबुताको भरमा छु । जहाँसम्म सिंहासनको कुरो छ, यसलाई मैले शक्तिको बलमा हासिल गरेको हुँ । आइन्दा यस्ता बकबास कुरा लिएर नआउनुहोला । तपाईं गए हुन्छ बुबा !’ कलाबहादुर झर्कियो ।

त्यसरात भयङ्कर वर्षा भयो । बूढापाका भन्थे, यति ठूलो वर्षा साठी वर्षयताकै पहिलो हो । मेघ गर्जिरहेको थियो, मुसलधारे वर्षा भइरहेको थियो । छिनछिनमा डरलाग्दो बज्रपातको आवाज सुनिन्थ्यो । यसैबीच बाढीले हुत्याइ ल्याएको एउटा ढुङ्गा कलाबहादुरको दायाँ खुट्टामा बज्रियो ।

‘दुष्ट इन्द्र ! तँ सम्राट कलाबहादुरमाथि हमला गर्ने ? नाङ्लो ठटाएर हात्ती तर्सिंदैन’ कलाबहादुर चोटले रन्थनिंदै डुक्रियो । ऊ गर्जिंदै थियो । त्यहीबेला उसको टाउको माथि आगोको विशाल लप्का खस्यो । अग्निज्वालासँगै भयानक विस्फोट भयो ।

सुरक्षा सैनिक राइफल सोझ्याउँदै अघि बढ्यो । तर उसको गोलीले कलाबहादुर माथिको बज्रपात रोक्न सकेन ।

यसरी मिथकीय शैलीमा उदाएको कलाबहादुर मिथकीय शैलीमा नै अस्तायो । नयाँ पुस्ता कलाबहादुरलाई ऐतिहासिक खलपात्रका रूपमा पढ्ने गर्छन् ।

(तिवारीका तीन उपन्यास प्रकाशित छन् ।)

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?