Comments Add Comment

युरोकपका नकआउट चरणका खेल आजदेखि, वेल्स र डेनमार्क भिड्दै

१२ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । नकआउट चरण अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा आज वेल्स र डेनमार्क भिड्दैछन् । खेल नेदरल्याण्ड्सको आम्सटरडम एरेनामा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

वेल्स समूह ए को उपविजेता तथा डेनमार्क समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । समूह चरणका तीनवटै खेल घरेलु मैदानमा खेलेको डेनमार्क पहिलो पटक घर बाहिर खेल्दैछ ।

समूह ए मा वेल्सले पहिलो खेलमा स्विट्जरल्याण्ड्ससँग १-१ को बराबरी खेल्दै प्रतियोगिता सुरुआत गरेको थियो । दोस्रो खेलमा टर्कीलाई २-० ले पराजित गरेको वेल्स तेस्रो खेलमा इटलीसँग १-० ले पराजित भए पनि समूह उपविजेता बनेको हो । समान अंक भए पनि वेल्सले स्विट्जरल्याण्डलाई गोलअन्तरमा पछि पारेको थियो ।

उता डेनमार्कको सुरुआत भने सुखद रहेन । नवप्रवेशी फिनल्याण्डविरुद्ध पहिलो खेलमै हार अनि मिडफिल्डर क्रिस्टिएन एरिक्सनलाई चोटका कारण गुमाएपछि डेनमार्क सुरुमै झड्का लाग्यो ।

दोस्रो खेलमा एक गोलको अग्रता लिए पनि बेल्जियमसँग २-१ ले पराजित भयो । त्यसपछि रुसविरुद्ध गर या मरको खेलमा शानदार पुनरागमन गर्दै डेनमार्कले ४-१ को जित हात पार्‍यो । समूहमा एक खेल मात्र जितेको डेनमार्कले फिनल्याण्ड र रुसलाई गोल अन्तरमा पछि पार्दै नकआउट चरणमा स्थान बनाएको हो ।

वेल्स र डेनमार्क युरोकपमा पहिलो पटक भिड्न लागेका हुन् । वेल्स २०१६ मा युरोकपमा डेब्यु गर्दै सेमिफाइनलसम्म पुगेको थियो । डेनमार्क सन् १९९२ को युरो च्याम्पियन हो । डेनमार्क समग्रमा नवौं पटक खेल्दैछ भने पछिल्लो चार संस्करणमा दोस्रो पटक हो ।

दुवै टोली जित हात पार्दै क्वाटरफाइनल पुग्ने योजनामा छन् ।

यूईएफए नेशन्स लिगअन्तर्गत २०१८ मा भएको पछिल्लो दुई खेल डेनमार्कले जितेको थियो । डेनमार्कले घरेलु मैदानमा वेल्सलाई २-० ले र वेल्सकै मैदान २-१ ले पराजित गरेको थियो ।

यी दुई टोलीबीच अहिलेसम्म १० पटक खेल हुँदा डेनमार्कले ६ र वेल्सले ४ पटक जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment