Comments Add Comment

मेलम्चीको बाढीबाट के सिक्ने ?

बायाँबाट क्रमश: ई. डा. भेषराज थापा, ई डा. रकि ताल्चाभडेल, ई. क्षितिज दाहाल, ई प्रा. डा. विष्णुप्रसाद पाण्डे ।

मेलम्ची खोलामा गत असार-१ गतेदेखि आएको अप्रत्याशित बाढीपछि स्थलगत अवलोकन गर्दा उजाडिएको बस्ती र मनसँगै, स्थानीय वासिन्दा बालुवाले भरिएको घर खोतल्दै भविष्यका सपना बुनिरहेको देखिए ।

त्यो परिवेश देखिसकेपछि यससँग सम्बन्धित प्राविधिक पक्ष उजागर गरेर यस्तै प्रकोप नेपालका अरु कुनै बस्तीले व्यहोर्न नपरोस् भनी केही संक्षिप्त प्रारम्भिक अध्ययनको निष्कर्ष पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौं । जसले विपद व्यवस्थापन र पूर्बतयारिमा सहयोग गर्ने अपेक्षा राखेका छौं ।

मनसुन शुरु भएपछि हालसम्म बाढी र पहिरोबाट १९३ परिवार प्रभावित, २० जनाको मृत्यु र २४ जना वेपत्ता छन् ।

हरेक बर्ष यस्ता घटनाहरु दोहोरिरहेका छन् तर किन यसको न्युनीकरण हुन सकिरहेको छैन ? के हाम्रा बस्तीहरु, विकास निर्माणका कामहरु यस्ता विपदलाई ध्यान नदिई बनाइएका छन् ? आजकाल हामी धेरै नेपालीको मनमा यस्तै प्रश्न उब्जिरहेका छन् । झन् असार १ गते मेलम्चीको गेगरसहितको बाढी र त्यसले निम्त्याएको तहसनहस र वितण्डाबाट भिरालो जमिन र खोला किनारमा रहेको नेपालका बस्तीलाई थप सशंकित र त्रसित बनाएको छ ।

मेलम्चीको स्थलगत अध्ययन र स्थानीय वासिन्दाको छलफलबाट करोडौंको हानि भएको बुझ्न सकिन्छ । विगत सय बर्षमा नदेखिएको यो वितण्डा कसरी भयो भन्ने कुराको ठोस जानकारी, कारण अहिलेसम्म पत्ता लाग्न सकेको देखिँदैन । हाम्रो समूहले गरेको स्थलगत अध्ययन र स्याटलाइट डाटाको आधारमा प्राप्त निर्क्यौल यहाँ प्रस्तुत गरेका छौं ।

६२९ देखि ६०७५ मिटरको उचाइ विविधतामा रहेको इन्द्रावती जलाधार क्षेत्रको क्षेत्रफल १२२८ वर्ग किलोमिटर छ । जसमा इन्द्रावती र मेलम्ची दुई वटा मुख्य नदी छन् । इन्द्रावतीका दुई वटा शाखा  याङ्ग्री र लार्के खोला र मेलम्चीको मुख्य एउटै नदी र ससाना थुप्रै शाखा रहेका छन् । यी नदी र शाखा आफैंमा एकदमै साँघुरो गहिरो र भू-क्षय र पहिरोको हिसाबले अत्यन्तै संवेदनशील देखिन्छन् (चित्र-एक हेर्नुहोस्) ।

यसको अलावा मेलम्ची नदीको वहाव क्षमता पनि उच्च देखिन्छ ।

चित्र १. इन्द्रावती जलाधार क्षेत्रको नक्साकंन

बर्षा र जलमापन ले के भन्छ  ?

नासाको स्याटेलाइटबाट भएको बर्षामापन हेर्ने हो भने जेठ २७ गते ९.९ मिलिमिटर, २८ गते २२.२ मिलिमिटर, २९ गते ३०.३ मिलिमिटर, ३० गते ३०.३ मिलिमिटर,३१ गते १२३.८ मिलिमिटर र असार १ गते २७.४ मिलिमिटर बर्षा भएको देखिन्छ  (चित्र-२ लाई हेर्नुहोस्) ।

मेलम्ची नदी इन्द्रावती नदीसँग मिसिनुभन्दा अगाडि यसको जलाधार क्षेत्र ३२४ वर्ग किलोमिटर मात्र रहेको र यस नदीले यत्तिको बर्षामा, यति धेरै गेग्रान र बाढी ल्याउँदा यस क्षेत्रका बासिन्दा र अध्ययनकर्ता आश्चर्यचकित भएका छन् ।

यस्ता घटनाहरु कि त मुसलधारे बर्षा (Cloud Burst) र पहिरो गइसकेपछि बनेको ताल फुटेर भएको (LDOF) हुन सक्ने अनुमान गर्न सकिन्छ । हालसम्म यस क्षेत्रमा काम गरिरहेका अनुसन्धानकर्ताबाट गरिएको प्रारम्भिक अध्ययनबाट मुसलधारे बर्षा भएको देखिदैन । तर ताल फुटेर बाढी आएको अनुमान लगाउन सकिन्छ ।

नाकोटेमा रहेको जलमापन केन्द्रमा ५ मिटरबाट ३ मिटरमा पानीको सतह बिस्तारै झरेको र एक्कासी केही मिनेटमा नै ६ मिटरसम्म  पानीको सतह बढेको देखिन्छ । यसले ताल फुटेको संकेत गरेको छ ।

चित्र २. गत जेठ-२७ गतेदेखि असार १ गतेसम्म स्याटलाइटबाट देखिएको २४ घण्टाको एकीकृत वर्षामापनको तथ्यांक ।

असार १ को मेलम्ची प्रकोप

मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रका वासिन्दा दोर्जे घलेसँगको कुराकानी र उनले सामाजिक सञ्जालमा राखेको भिडियो र फोटोबाट लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी मार्ग, मेलम्ची जलाधार क्षेत्रभित्र पर्ने, भ्रेमाथाङको ठूलो चउर बर्षाको कारण गलेर पहिरोको रुप लिएको देखिन्छ ।

यसले विस्तारै २०७२ सालमा आएको भूकम्पको कारण थिल्थिलो भएको दायाँ र बायाँ किनारालाई थप गलाएर विगतका बर्षामा शाखा ठाडो नदीले बगाएर ल्याएको ठूला ठूला ढुङ्गा र गेग्रान बगाई हालको रुप लिएको अहिलेसम्म उपलब्ध सामग्रीको आधारमा बुझिन्छ, (चित्र-३ लाई हेर्नुहोस्) ।

चित्र ३ : भ्रेम्राथाङगको ठूलो चउरमा हाल देखिएको बालुवा र थेग्रनको थुप्रो (असार ९ गते दोर्जे घलेको साथीले नजिकबाट लिएको भिडियोबाट साभार गरिएको)

यसरी हेर्दा हेलम्बु क्षेत्रको कमजोर भूवनोट र पुराना पहिरो जसलाई २०७२ सालको भूकम्पले थिलथिलो बनाएको थियो । त्यससंगै सामान्य खालको वर्षा लामो समयसम्म परिरहेकोले विस्तारै ती पुराना पहिरोमा भएको बर्षा र हिमको Seepage कार्यले यो प्राकृतिक प्रकोपको सुरुवात भएको अनुमान गर्न सकिन्छ ।

मेलम्ची खोलाको सफा पानी मात्र बग्दा नै बहाव शक्ति धेरै रहेकामा झन् लेदो र गेग्रान मिसिदै गएपछि यसको बहाव शक्ति धेरै नै बढेर यो मात्राको प्राकृतिक प्रकोप ल्याएको देखिन्छ ।

यो घटना भन्दा अगाडि औसतमा ४० देखि ५० मिटरको चौडाइमा रहेको नदी बाढी २०० देखि ३०० मिटरसम्म फैलिई नदीको सतह ६ देखि १० मिटर अग्लो बनेको देखिन्छ ।

यसको असर के हुन्छ त ?

यसरी ल्याएको गेग्रानको कारण खोला उकासिएर नदी तटीय क्षेत्रमा रहेका संरचना जस्तै भवन, बाटो, खानेपानी, सिञ्चाइ विद्युत आदिसंग सम्बन्धित संरचनाहरुको रिडिजाइन र रि एलाइनमेन्ट गर्नुपर्ने देखिन्छ । यसरी थुपारिएको गेग्रानलाई वैज्ञानिक रुपमा उत्खनन् गरी उचित व्यवस्थापन नगरेमा कुनै बेला ठूलो बाढी आएर अहिले बाँकी रहेका संरचनाहरुमा समेत थप क्षति पुग्ने निश्चित छ ।

किन नेपालमा यस्ता घटना घटिरहन्छन् त भन्नको लागि हाम्रो समूहले गरेको प्रारम्भिक अध्ययनको केही तथ्याकं पस्किन चाहन्छौँ । तलको चित्रलाई हेर्ने हो भने नेपालको मध्यपहाडी र चुरे क्षेत्रमा धेरै वर्षयता वर्षायाममा उच्च वर्षा हुने ५ दिनको औसत एकीकृत बर्षा हेर्ने हो भने ३०० मिलिमिटर भन्दा बढी छ ।

यसले जमिनलाई गलाउने क्रम पनि बढ्दै गएको देखिन्छ । यसको अलावा मध्यपहाडी र हिमाली क्षेत्रको उच्च भिरालोपना र नदीको उच्च बहाव क्षमता कमजोर भू-वनोटले थप बाढी र पहिरोलाई सकारात्मक वातावरण निर्माण गरेको छ ।

चित्र  ४ : पहिरोलाई उक्साहट गर्ने विभिन्न Factor हरु (नेपालभरिको) ।

नेपालको बर्षायाम शुरु भएसंगै पहिरोक जोखिम कति छ त भन्ने अध्ययन गर्ने प्रयत्न गरेका छौं । हाम्रो अध्ययनले पहाडी क्षेत्र पहिरोको हिसाबले नेपालको मध्य-क्षेत्र (हेलम्बु क्षेत्र आदि) अन्यन्तै जोखिममा रहेको देख्न सकिन्छ । उच्च हिमाली र पहाडी क्षेत्रबाट बग्ने नदीहरुको उच्च बहाव क्षमता र त्यस क्षेत्रमा रहेको जोखिम युक्त पहिरोले ल्याउने लेदो र गेग्रानले नदी थुनिन सक्ने देखिन्छ ।

मेलम्चीको जस्तो प्राकृतिक प्रकोपले देशका अरु नदीको तटीय क्षेत्रमा भएका बजारहरु/बस्तीहरुमा ठूलो असर पुर्‍याउन सक्ने स्पष्ट देखिन्छ । यसलाई थप  बढाउने काम हाल भइरहेको अव्यवस्थित विकास निर्माणले गरिरहेको छ ।

यसरी भूउपयोगमा आयको परिवर्तन, हाम्रो हिमाली र पहाडी क्षेत्रको कमजोर भूवनोट, सानो मात्राको पानी लगातार पर्दा पनि यस्तो प्रकोप निम्त्याउन सक्छ भन्ने सबै वासिन्दाले बुझ्न जरुरी छ । नत्र यस्ता थुप्रै घटनाहरु अरु धेरै बर्षसम्म दोहोरिइरहन्छन् ।

चित्र ५ : बर्षाको कारण उत्पन्न भएर पहिरो आउन सक्ने पहिरोको तथ्यांक र पहिरोको कारण जोखिमको वर्गीकरण (नेपालभरिको)

यस्ता प्राकृतिक प्रकोप हालसम्म सरकारी प्रयासले न्युनीकरण गर्न नसकेको प्रस्ट छ । नेपालको उच्च हिमाली क्षेत्रमा प्रकोपसंग सम्बन्धित विषय जस्तै बर्षा, तापक्रम, भूवर्ग आदिको अध्ययनको लागि तथ्यांक पाउन मुश्किल छ । तर हालसम्म उच्च हिमाल, यस्ता वातावरण, भूवर्ग र पानीजन्य जोखिम अध्ययन अनुसन्धानमा किन केन्द्रित गर्न सकिएन ?

माथिल्लो र तल्लो तटीय क्षेत्रको अन्तर सम्बन्ध किन अध्ययन अनुसन्धान गरिएन ? जोखिमयुक्त क्षेत्र भिर पाखामा रहेको बस्तीहरुलाई स्थानान्तरण गर्न किन  ठोस नीतिगत व्यवस्था भएन ? तल्लो तटीय क्षेत्र नदी आसपासका बस्तीमा बाढी-पहिरोको जोखिम न्युनीकरणको उपाय अवलम्बन गरेको खोइ ? यस्ता कैयन प्रश्न अहिलेसम्म अनुत्तरित नै छन् ।

यस्ता प्राकृतिक प्रकोपबाट पूर्णरुपमा जोगिन र पूर्ण रुपमा नियन्त्रण गर्न कठिन देखिन्छ तर यसको पूर्वतयारीबाट धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्छ । प्राकृतिक प्रकोपको पूर्वतयारीमा गरेको एक डलरको खर्चले प्रकोपपछिको पुनर्स्थपनामा गर्ने ६ डलर बराबरसम्म बचत गर्न सकिने अध्ययनले देखाउँछ । हामी कहाँ चुकिरहेका छौ त ? के हाम्रा पूर्वतयारी नपुगेकै हुन् ? अहिलेको मेलम्ची प्रकोपले मेलम्ची खानेपानी आयोजनाको मात्र एक अर्ब बराबरको नोक्सान भएको प्रारम्भिक आँकलन छ ।

७-८ वटा झोलुङ्गे पुल, दुई वटा गाडी गुड्ने पुल र सयौं घर, हजारौं हेक्टर खेतीयोग्य जमिन, हजारौं हेक्टरमा सिञ्चाइ गर्ने कुलो, सडक संरचना टुटाएको स्थलगत अध्ययनबाट प्रष्टै देखिन्छ । विपदपछि  सान्त्वनाका लागि गरिएको राहत वितरणले तत्काल राहत त मिल्छ तर समस्याको दीर्घकालीन समाधान भने हुदैन । अब पनि हामी पूर्व तयारीलाई व्यवस्थित र वैज्ञानिक तवरले व्यवस्थापन नगर्ने हो भने यस्ता थुप्रै घटनाह अरु धेरै बर्षसम्म भइरहनेछन् ।

अवको बाटो के ?

१. प्राकृतिक प्रकोपको पुर्स्थापना भन्दा पूर्वतयारीको लागि सरकारले उचित संयन्त्र विकास गर्नुपर्ने ।

२. माथिल्लो तटीय क्षेत्रको सूचना तल्लो तटीय क्षेत्रमा दिने संयन्त्र व्यवस्था गरिनुपर्ने ।

३. नागरिक वैज्ञानिक (Citizen Scientist) को अवधारणालाई प्राकृतिक प्रकोपसंग सम्बन्धित तथ्यांक संकलन र सूचना प्रवाहमा प्रयोग गरिनुपर्ने ।

४. उच्च उचाइ प्रकोप अनुसन्धान र मूल्याकंन गर्न आवश्यकता अनुसार प्रकोप र जल मापन केन्द्रहरु स्थापना गरिनुपर्ने र यस्ता काम गर्न उच्च हिमाल प्राकृतिक प्रकोप अध्ययन केन्द्र स्थापना गर्नुपर्ने ।

५. उक्त केन्द्रले लामो समयको डाटा संकलन, प्रशोधन, अध्ययन अनुसन्धान गरी Short-term, Long-term, Medium-term को लागि गर्नुपर्ने कार्य विवरण सहित स्पस्ट रणनीति बनाउन नेपाल सरकारलाई सिफारिस गर्नुपर्ने ।

६. समुदायमा प्राकृतिक प्रकोपसंग कसरी जिउने को अवधारणा बुझाउने संयन्त्रको विकास गरिनुपर्ने ।

७. देशको भूगोल र नदीको विस्तृत अध्ययन गरी विस्तृत प्राकृतिक प्रकोपको नक्साकंन गरी प्राकृतिक प्रकोपको पूर्वतयारी, व्यवस्थापन र पुनर्स्थापनाको योजना बनाउनुपर्ने ।

८. प्रकोप न्यूनीकरणको लागि तीन तहको सरकारको समन्वयमा प्रभावकारिता ल्याउनुपर्ने जरुरी देखिन्छ ।

९. समग्र नेपालको बस्ती विकासको योजना बनाउनुपर्ने देखिन्छ ।

अन्त्यमा उपयुक्त भूबनोट अनुसारको भूपयोग नीतिको निर्माण र कडा अनुगमन र कार्यान्वयन र व्यवस्थित विकास निर्माण नै यसको समाधान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment