 
																			१३ असार, गोरखा । बाँदर नियन्त्रणका लागि गोरखामा वनजन्य फलफूल खेती गरिने भएको छ । वनमा खानेकुरा नपाउँदा घरघरमा आएर बाँदरले दुःख दिन थालेपछि वनजन्य फलफूल खेती गर्न लागिएको हो । त्यसका लागि डिभिजन वन कार्यालयले निःशुल्क रुपमा बिरुवा वितरण गर्ने भएको छ ।
‘चालु आर्थिक वर्ष गण्डकी प्रदेश र संघको संयुक्त फुड फरेष्टी मोडल कार्यक्रम रहेको छ,’ डिभिजनल वन अधिकृत अशोक कुमार श्रेष्ठले भने, ‘त्यही कार्यक्रमअन्तर्गत सामुदायिक वनहरुसँग समन्वय गरेर वनजन्य फलफूल खेती सुरु गर्न लागेका हौं ।’
खेतीका लागी कृषक समूह तथा सामुदायिक वन उपभोक्ता समूहसँग आवदेन माग गरिसकेको उनले बताए । धार्चे र बारपाक सुलिकोट गाउँपालिकाका साथै गोरखा र पालुङटार नगरपालिकामा उक्त कार्यक्रम लागू गरिने छ ।
‘सामुदायिक वन क्षेत्रमा बाँदरले खाने खालका फलफूल रोप्न सके घरतिर आएर दुःख दिँदैन भन्ने अपेक्षासहित परीक्षणको रुपमा यो कार्यक्रम लागू गर्न लागेका हौं, मागको आधारमा सामुदायिक वनहरुलाई निःशुल्क विरुवा वितरण गर्छौं ,’ वन अधिकृत श्रेष्ठले भने । कार्यक्रम अन्तर्गत जिल्लाभर करिब २० हेक्टर क्षेत्रफलमा चिउरी, लप्सी, अम्बा लगायतका फलफूल लगाइने उनले बताए । उनका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख ७८ हजार रुपैयाँ विनियोजन भएको छ ।
निःशुल्क विरुवा वितरण
डिभिजन वन कार्यालयले फलफूल खेतीका लागि निःशुल्क विरुवा वितरण थालेको छ । गोरखा नगरपालिको तीन किलोस्थित नर्सरीबाट आइतबार विरुवा वितरण थालिएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए । गण्डकी प्रदेश र संघीय सरकारको संयुक्त कार्यक्रमअन्तर्गत चालु आवमा नर्सरीमा एक लाख ४० हजार विरुवा उत्पादन गरेका छौं, त्योमध्ये दश हजार विरुवा बहुवर्षीय छन् भने बाँकी एक लाख ३० हजार काष्ठजन्य लगायतका बहुउपयोगी विरुवा छन्, त्यही विरुवा निःशुल्क वितरण थालेका हौं,’ डिभिजनल वन अधिकृत श्रेष्ठले भने ।
डाले घाँस, चाप, अशोक, धुपी लगायतका काष्ठजन्य बहुउपयोगी विरुवा वितरण गरिएको उनले बताए । पालुङटार सव डिभिजन वन कार्यालयबाट पनि विरुवा वितरणको काम भइरहेको उनले बताए ।
प्रदेश सरकारबाट ४ हजार र संघबाट १५ हजार गरी १९ हजार विरुवा वितरण गरिने छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4