Comments Add Comment
कांग्रेस महाधिवेशन :

क्रियाशील सदस्यता विवाद टुंग्याउन छानविन समितिले माग्यो नेतृत्वको सहयोग

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन नेतृत्वलाई आग्रह गरेको छ ।

२० असारभित्र क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा रहेको समितिले सदस्यता छानबिनबारे मापदण्ड निर्धारणमा सहयोग गर्न पार्टी पदाधिकारीलाई आग्रह गरेको हो । समितिले मापदण्ड बनाउन नसक्दा क्रियाशील सदस्यतालाई लिएर परेका उजुरीहरुबारे निर्णय गर्न सकेको छैन । आइतबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरुसहित पदाधिकारी बैठकमा छानबिन समितिले सदस्यता विवाद चाँडो सुल्झाउन सहजीकरण गरिदिन आग्रह गरेको हो ।

समिति संयोजक रमेश लेखकले क्रियाशील सदस्यता विवाद टुंग्याउनेबारे पदाधिकारी बैठकले समान धारणा बनाउनुपर्नेमा जोड दिए । ‘हामीसँग समय थोरै छ, तर उजुरीको चाङ ठूलो छ,’ बैठकमा संयोजक लेखकले भने, ‘पार्टीले नै सदस्यताबारे एउटा प्रष्ट धारणा बनाए हामीलाई काम गर्न सजिलो हुन्छ ।’

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशन आउन दुई महिना बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन । पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिले अन्य पार्टीबाट आएका र नयाँको हकमा विवाद देखिएको छ ।

कांग्रेसले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीलाई २५ हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो । उनीहरु सबैको सदस्यता स्वतः नवीकरण हुने कांग्रेस केन्द्रीय समितिको निर्णय भए पनि विभिन्न जिल्लामा विवाद देखिएको छ । राप्रपा परित्याग गरेर आएका सहमहामन्त्री सुनिल थापालाई १० हजार क्रियाशील सदस्यता दिएको थियो । तीन वर्षअघि सम्पन्न प्रदेश र संघको निर्वाचन अघि विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई व्यक्तिगत रुपमा पनि ठूलो संख्यामा क्रियाशील सदस्यता दिने कांग्रेसले निर्णय गरेको थियो ।

तर जिल्ला तहमा नवप्रवेशीका नाममा आफ्नो समूहलाई सहयोग पुग्ने गरी कांग्रेस नेता कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गर्न खोजिएको भन्दै छानबिन समितिमा उजुरी परेका छन् ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सदस्यता विवाद सुल्झाउन समितिले पार्टीको सहयोग मागेको बताए । ‘हामीलाई कतिपय जिल्लाको हकमा विवाद मिलाउन गाह्रो भयो । पार्टी पदाधिकारीले सहयोग गर्नुपर्‍यो भन्नुभएको छ,’ उनले भने ।

अहिलेसम्म आठ लाख बढी क्रियाशील सदस्यको विवरण पार्टीको डेटा सिस्टममा इन्ट्री भएको छ भने पाँच हजारभन्दा बढी उजुरी आएको एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment