Comments Add Comment

नेपाली मौलिक प्राविधिक ज्ञान  र सीप

मानव सभ्यताको विकाससँगै प्रयोग हुँदै, विश्वास गरिँदै आएको ज्ञान तथा सीपलाई मौलिक ज्ञान भनिन्छ । मौलिक ज्ञानले बौद्धिक ज्ञान, प्राविधिक ज्ञान, पर्यावरणीय ज्ञान र स्वास्थ्यसम्बन्धी ज्ञान आदि क्षेत्रलाई समट्ने गर्दछ । मौलिक प्राविधिक ज्ञानको इतिहास खोतल्दा ठ्याक्कै यो शताब्दीबाट आएको हो भन्ने अवस्था नभए पनि मानव सभ्यताको विकाससँगै आफ्ना आवश्यकता परिपूर्ति र काम सजिलो गराउन यस्ता प्राविधिक ज्ञान उत्पत्ति भएको विश्वास गर्न सकिन्छ । यस्ता ज्ञान र सीप एक पिंढीदेखि अर्को पिंढीमा हस्तान्तरण हुँदै हाम्रो पिंढीसम्म आएको हुनुपर्छ ।

कुनै पनि समुदायलाई दिगो जीवनयापन गर्ने प्राकृतिक स्रोत साधनको संरक्षण र सम्वर्द्धन गर्न यस्ता ज्ञानले निकै ठूलो महत्व राख्दछन् । यो मानिसको मस्तिष्क र क्रियाकलापमा संग्रहित भएर रहेको अमूल्य ज्ञान हो । कथा, गीत, दन्त्य कथा, कथन, नृत्य, किम्बदन्ती, सांस्कृतिक मूल्यमान्यता, संस्कार, प्रथा, सामुदायिक कानून, स्थानीय भाषा, कृषि प्रणाली र औजार, बिरुवाका प्रजातिहरू तथा जीवात्मा अनुवंशमार्फत् मौलिक ज्ञान व्यक्त भइरहेको हुन्छ । यो मौखिक रुपमा एक पुस्तादेखि अर्का पुस्तामा हस्तान्तरण हुँदै आइरहेको हुन्छ ।

नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । यहाँ थुप्रै जातजातिका मानिसहरू बसोबास गर्छन् । भौगोलिक विविधता र धेरै जातजातिका मानिस बसोबास गर्ने भएकाले नेपाल मौलिक प्राविधिक ज्ञान र सीपमा निकै धनी देश हो । मौलिक ज्ञान समुदायपिच्छे फरक–फरक हुनसक्छन् । सूचना र सञ्चारको संवाहक भएका कारण यो ज्ञानले नेपाली समाजको उन्नति र प्रगतिमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभाव पारेको पाइन्छ ।

यो ज्ञान एउटा यस्तो कला हो जहाँ प्राकृतिक स्रोत र साधनको उचित उपयोग र उपभोग गर्न सकिन्छ । यो ज्ञान सामाजिक, राजनैतिक एवं वातावरणीय दृष्टिले सम्भाव्य छ । मानव सभ्यतासँगै हुर्कंदै आएको यस ज्ञानले मानवलाई नै सहयोग पुर्‍याउँदै छ । कृषि उत्पादनमा वृद्धि, माटोको उर्वराशक्ति बढाउन, जलस्रोतको संरक्षण, बालीका रोग–कीरा नियन्त्रण र मानव स्वास्थ्यको सन्तुलन कायम गर्न पनि यो ज्ञानको भूमिका महत्त्वपूर्ण छ ।

कृषि क्षेत्रमा मौलिक ज्ञानको प्रयोग

मानिसको आधारभूत आवश्यकता के हो भनेर कसैले सोध्यो भने हामीले सजिलै जवाफ फर्काउँछौं गाँस, बाँस र कपास भनेर । हामी मानवलाई मात्र नभएर पशुपन्छी र अन्य सजीव प्राणीलाई पनि बाँच्नका लागि खाना चाहिन्छ । यदि तपाईं ग्रामीण क्षेत्रमा बस्नु हुन्छ भने हँसिया, खुर्पा, बन्चरो, बसुलो, आरी, कच्चेको प्रयोगले वरिपरिको झार–जंगल हटाई फरुवा, कुटो, कोदालो, झ्याम्पल, गैंती, बेल्चा, मुराको प्रयोगले जमिन सम्याउने र तयार गर्ने अनि मौसम अनुसारको स्थानीय बिउ लगाएको अझै पनि मजाले देख्न सक्नुहुन्छ । यस्ता स्थानीय बीउको जरा जमिनको गहिरो सतहसम्म पुग्ने र माटोलाई भू–क्षयबाट बचाउने काम गर्दछ ।

खेतका आलीमा गेडागुडी रोप्ने, मकैसँगै सिमी रोप्न, तोरीसँग केराउ र चना रोप्ने प्रचलन त अझै पनि छ जसको वैज्ञानिक कारण गेडागुडी बालीले वातावरणमा भएको नाइट्रोजनलाई ‘फिक्स’ गरी बिरुवालाई खाद्य तत्व प्रदान गर्नुका साथै माटोको उर्वराशक्तिको वृद्धि गर्छ ।

सिँचाइको राम्रो व्यवस्था नहुँदा खेतका चारैतिर आली लगाएर वर्षातको पानी जम्मा गर्ने र जुवालीमा गोरुहरू नारेर हलोले खेतबारी जोत्ने प्रचलन अझै पनि छ । त्यस्तै बाँझो जमिनलाई उर्वर बनाउने हलो, त्यसमा जुवा, जोतारो, हलुड, हरिस, सोइला, फाली, ठेंडी जस्ता आदिम प्रविधि अहिलेसम्म पनि उत्तिकै प्रभावकारी मानिन्छन् । कुटो, कोदालो, दाँते, खोक आदि त झनै कृषिप्रधान देशको मुख्य कृषि औजार नै बनेका छन् । यस्ता कृषि औजारको प्रयोगले माटोलाई धेरै क्षति हुँदैन । जमिनमा बस्ने जनावरको बासस्थान र मित्र जीवलाई जस्तै गड्यौलालाई पनि असर गर्दैन ।

राम्रा फसलका लागि उपयुक्त पानी, मलजल, गोडमेल गर्नु र फसल पाकेपछि सुरक्षित ठाउँमा भित्र्याउनु कुनै किताबका पानामा पुर्खाले रटेर गरेका होइनन् । आफ्नै स्वविवेक प्रयोग गरी स्थानीय स्रोत साधन र सीपको प्रयोग गरेर यस्ता वस्तुको आवश्यकताअनुसार आविष्कार भएका हो ।

यस्ता बहुमुल्यवान ज्ञान तथा सीपहरू हामीले हाम्रा पूर्वजबाट सिकेका मौलिक ज्ञानहरू हुन् । धान, गहुँ र कोदो भकारीमा, मकैलाई थाक्रा र आलुलाई हावासिलो कोठा वा परालको गुमोज बनाई बार्दलीमा झुन्ड्याउने । मूलाको सिन्की, सागको गुन्द्रुक, भटमासको मस्यौरा र किनामा र स्कुसको भुजुरी बनाउने ज्ञान, प्रविधि आज पनि कम महत्वको छैन ।

पशुचौपायाहरूका लागि ताल पोखरीहरूको निर्माण गर्ने र वर्षातको समयमा यिनै ताल पोखरीमा पानी जम्मा गर्ने । ताल पोखरीमा संकलन भएको पानी लुगा धुन, भाँडा माझ्न, नुहाउन, तरकारीका लागि सिचाईं गर्ने । लुगा धुन रिठाको प्रयोग गर्ने, भाँडा माझ्न तातो खरानीको प्रयोग गर्ने । त्यसबाट निस्केको पानी बिरुवालाई दिने गरिन्थ्यो । यसले बिरुवामा चाहिने खाद्य तत्व परिपूर्ति गर्दथ्यो ।

जैविक कृषि जो आजभोलि हामी अर्गानिक खेती भनिरहेका छौं, हाम्रै पुर्खाले गर्दै आएको कृषि प्रणाली हो । अहिले चर्चामा रहेका विषयजस्तै झोलमल, गोठेमल, मिश्रित खेती प्रणाली, शून्य जोताई, वातावरणअनुकूल खेती, विषादिरहित खेती प्रणाली त हाम्रा पुर्खाले पहिले नै अबलम्बन गरेको खेती प्रणाली हो ।

तलाउमा माछा पाल्ने काम पनि हुन्थ्यो र माछा मार्न प्रयोग हुने प्रविधिहरू जस्तै ढडिया, जाल, बल्छी, थकौली, फन्दा, दुवाली स्थानीय ज्ञान सीपहरूकै प्रयोगबाट सम्भव भएको हो । माछा पाउने कुरको पहिचान, मौसमअनुसारको माछा मार्ने प्रविधिको निर्माण डुङ्गाको निर्माण, डुङ्गा खियाउने ज्ञान सीपहरू पनि मैलिक ज्ञान नै हुन् । प्राचीन समयमा पानी बोक्न र सञ्चय गर्न बाँसको ढुङ्ग्रो, चिण्डो, माटोको भाडा, काठको सामग्री, अहलकोप्रयोग हुन्थ्यो जो मौलिक ज्ञानकै प्रतिरुप हो ।

रोग कीरा र शत्रुजीवको नियन्त्रणमा

मौलिक प्राविधिक ज्ञान रोग, कीरा र शत्रुजीवको नियन्त्रण गर्न समेत प्रयोग भएको पाइन्छ । अन्नबालीमा लाग्ने चराचुरुङ्गी तथा जीवजन्तुबाट जोगाउन विभिन्न आकारको पुत्ला, बुकुचा बनाएर त्रास देखाउने विम्बहरूको प्रयोग गर्ने गरिन्थ्यो ।

दुम्सी, स्याल, बाघ, भालुजस्ता जनावरहरूको आक्रमणबाट बच्न विभिन्न किसिमको पासोको प्रयोग गरिन्थ्यो । चरा समात्न लिसो तथा पासोको प्रयोग हुन्थ्यो । धानमा मुसा लाग्दा बिरालो पाल्ने, बत्तीमा लाग्ने कीराहरू नियन्त्रण गर्न माउसुली नमार्ने चलन थियो ।

मकै,धान, गहुँ कोदो र तरकारी कीराले सखाप पार्दा तितेपाती, निम, बोझो, तुलसी, सयपत्री, असुरो, गोदावरी, टिमुर, जामुनुबाट बनेको झोल छिट्ने चलन थियो । खरानी, गाईभैंसीको दूधबाट निस्केको मोही, गाईको दूध,गाईवस्तुको मलमुत्र खेतबारीमा प्रयोग हुन्थ्यो जलेहानिकारक कीराहरू त्यस ठाउँलाई छोडेर जाने र बाली उत्पादन पनि राम्रो हुन्थ्यो । मुसालाई मार्न मुसरीको प्रयोग गर्ने, पात हल्लाएर कीराहरू मार्ने, कीरा लागेका हाँगाहरू हटाउने र जलाउने त्यति बेलाका प्रमुख विधिहरू हुन् ।

घर, गोठ तथा बालीनाली सुरक्षार्थ काँडेबार, लकडीका बारबन्देजहरू निर्माण गरिएको हुन्थ्यो । अल्लो र सनपातबाट कपडा उत्पादन, रुखका बोक्राबाट रेशा उत्पादन, फूलबाट भुवा निकाल्ने, डाँठबाट लोक्ता निकाल्ने, निकालिएको लोक्ता प्रशोधन गर्ने, प्रशोधित लोक्ताबाट धागो कात्ने,धागोबाट विभिन्न सामग्रीहरू बनाउने, तान बनाउने, बुन्ने, धागो मिलाउने अनिआवश्यकता अनुसारका कपडाहरू तयार पार्ने मौलिक प्राविधिक ज्ञान सीपहरू अहिले पनि उत्तिकै महत्वपूर्ण छन् ।

विभिन्न प्रजातिका बाँस तथा मालिङ्गोबाट चोया काड्ने, चोयाबाट महुला, डोको, दाम्लो, डोरी, थुन्छे, भकारी, घुम, खकन बुन्ने, लोक्ताबाट हाते कागज बनाउने,तोरी तथा अन्य वनस्पति पेलेर तेल निकाल्ने र धान, मकै, गहुँ, कोदो कुट्न पानी घट्टको प्रयोग गर्ने चलन आज भोलि कताकता मात्रै देख्न पाइन्छ ।

कडा काठको घोचा, दलिन, डाँडाभाटा, थाँक्रो, लिस्नो, ढिकी, ओख्ली, मुस्ली, हलो, जुवा, हरिस, तोक्मा, मदानी आदि बनाउने । कमसल, नफुट्ने काठहरूको ठेकी, हर्पे, कठुवा आदि बनाउने,रातो माटो घर लिप्नमा प्रयोग गर्ने, कमेरे र कालो माटो घर रङ्गाउन, पाङ्गो लस्सादार माटोको हाँडी, भाँडा साथै विभिन्न प्रकारका सामग्रीहरू बनाउनप्रयोग हुने ज्ञान(सीप तथा प्रविधिहरू महत्वपूर्ण मौलिक ज्ञान, सीप र प्रविधिहरू हुन् ।

स्वास्थ्य क्षेत्रमा रैथाने प्रविधि

नेपालमा विभिन्न जातजातिका मानिसहरू बसोबास गर्ने गर्छन् र तिनीहरूको आ(आफ्नो तरकारले चाडपर्व मनाउने गर्दछन् । आदिवासी किराँती समुदायमा कुसेऔंसीभन्दा अगाडि पिँडालु खान मिल्दैन, खायो भने मस्तिष्कले राम्ररी काम नगर्ने विश्वास गरिन्छ । यो विश्वास पद्धतिसँग दुई वैज्ञानिक कारण लुकेको सहजै देखिन्छ । एउटा कारण कुसेऔंसीभन्दा अगाडि पिँडालु परिपक्क भएको हुँदैन, अपरिपक्क पिँडालु खाँदा छिट्टै सकिने सम्भावना हुन्छ । दोस्रो कारण अपरिपक्व पिँडालुमा शरीरलाई आवश्यक सबै भिटामिनहरू विकास भइसकेको हुँदैन । जसको सेवनले मस्तिष्कमा असर पार्न सक्छ ।

पाका बुढाबाहरूले सुतेर पानी र खाना खानु हुँदैन, सर्पको जुनी पाइन्छ भन्ने चलन छ । यसको वैज्ञानिक कारण सुतेर खाँदा कहिलेकाहीं श्वासनलीमा अन्नपानी जाने र सर्को परेर मानिसको मृत्यु पनि हुन सक्ने हुन्छ ।

वैशाखे पूर्णिमापछि भटमास खान नहुने, खायो भने छालामा घाउ आउने विश्वास गरिन्छ । यसको वैज्ञानिक कारण भटमास छर्ने मौसम वैशाखे पूर्णिमापछि सुरु हुन्छ । भटमास खाई नै रह्यो भने सञ्चित बीउसमेत रित्तिने सम्भावना हुन्छ र त्यसपछिको मौसममा भटमास खाँदा वातावरण प्रतिकूल भई छालामा घाउ आउने गर्दछ ।

बंगुरको मासु पोलेर खाए शरीरभरि घाउ आउने विश्वास छ । बंगुरको मासुमा बोसोको बढी मात्रा हुन्छ, पोल्दा बोसो पग्लिएर फोहोर टाँसिन गई खान अयोग्य हुन्छ । मासुसँगै ती फोहोरसमेत खान पुग्दा शरीरलाई असर पार्न सक्छ।

मध्यदिनमा केटाकेटी वा अन्य व्यक्तिले अन्न भण्डारमा पस्न र निकाल्न नहुने, नभए कुलदेवता लाग्ने विश्वास गरिन्छ । यो विश्वास पद्धतिको पनि व्यावहारिक महत्व देखिन्छ । अन्न भण्डारण गर्ने ठाउँमा जो कोही प्रवेश गर्दा रोगका किटाणुहरू उनीहरूबाटै जान सक्ने र उत्पादन राम्रो नहुने प्रष्ट नै छ । त्यसैले घरमुलीको हातबाट मात्र आवश्यक अन्न निकाल्दा त्यसको किफायती र सुरक्षामा ढुक्क हुन सकिन्छ ।

पानीमा दिसा पिसाब गर्नु हुँदैन । गर्‍यो भने अङ्ग कुहिन्छ, पाप लाग्छ भन्ने विश्वास थियो । पानीका स्रोतहरू सफा राख्न कुवा, धारा वा पानीको स्रोतलाई पूजा गर्ने गरिन्छ । जसले सफा, स्वच्छ र स्वस्थकर पानीको आपूर्ति भई स्वाथ्य जीवनयापन गर्नमा टेवा पुग्ने स्पष्ट देखिन्छ।

बाटोमा पिसाब फेर्नु हुन्न नत्र अँगेनामा बस्दा धुँवा आफूतिर आउँछ भन्ने चलन अझै छ । यसको कारण जताततै पिसाब गर्दा वातावरण प्रदूषण हुने र विभिन्न रोगहरू फैलने हुँदा मानिसहरू बिरामी पर्ने सम्भावना हुन्छ। तसर्थ बाटोमा पिसाब फेर्नु हुँदैन भन्ने प्रचलन थियो।

वनजङ्गलमा पाइने चिराईतो ज्वरो आउँदा, घोटाप्रे टाइफाइड हुँदा, बाको गानोगोला हुँदा, पाचऔंले, जटामसी, बोझो रोघाखोकी,  जीउ दुख्दा,  अभिजालो सर्पले टोकेको बेला, पखाला लाग्दा ऐंसेलु, जामुन खाने गरिन्थ्यो भने शरीरमा दर्द हुँदा मछिनोबाट बनेको झोलले मालिस गरिन्थ्यो । त्यस्तै शरीरको छालासम्बन्धी रोग र चिलाउने समस्या आइपरे निम, तितेपाती, अँगेरी मजिटोको जरा प्रयोग गरिन्थ्यो ।

निष्कर्ष

नेपालमा यस्तै धेरै मौलिक ज्ञान अभ्यासमा रहेको पाइन्छ । जैविक कृषि जो आजभोलि हामी अर्गानिक खेती भनिरहेका छौं, हाम्रै पुर्खाले गर्दै आएको कृषि प्रणाली हो । अहिले चर्चामा रहेका विषयजस्तै झोलमल, गोठेमल, मिश्रित खेती प्रणाली, शून्य जोताई, वातावरणअनुकूल खेती, विषादिरहित खेती प्रणाली त हाम्रा पुर्खाले पहिले नै अबलम्बन गरेको खेती प्रणाली हो । इतिहास हेर्दा सन् १९८० को दशकतिर अर्गानिक धान अन्य देशहरूमा निर्यात भएको पाइन्छ ।

पहिले विदेशीहरू नेपाल आएर यहाँ खाद्यान्नहरू खुब मन पराएर खाने र आफ्नो देशमा पनि लैजाने गर्दथे । अहिले उचित व्याख्या र विश्लेषणको कमीले गर्दा धेरै ज्ञानहरू लोप भइसकेका छन् र हुने अवस्थामा पुगिसकेका छन् । बढ्दो आधुनिकता र नयाँ-नयाँ प्रविधिका कारण युवाहरू मौलिक ज्ञानलाई अन्धविश्वासको रुपमा मात्र लिने र सरकारी पक्षबाट यस्ता मौलिक ज्ञानको बारेमा खोज अनुसन्धानको पहलकदमी नहुनुले पनि आज मौलिक ज्ञानहरू मृत्युशय्यामा छटपटाइरहेका छन् । रुढिवादी परम्परालाई त्याग्दै व्यवहारमा लागू हुने मौलिक ज्ञान र सीपहरूलाई सही व्याख्या विश्लेषण तथा खोज अनुसन्धान गरी आधुनिक सभ्यताको विकासमा प्रयोग गर्नसके मात्र हामी समस्त मानव पशुपन्छी, वातावरण र प्रकृतिको भलाइ हुनेछ ।

(बस्नेत कृषि ज्ञान केन्द्र, सोलुखुम्बुमा कार्यरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment