Comments Add Comment

स्पेन र क्रोएसियाको नजर क्वाटरफाइनलमा

१४ असार, काठमाडौं । युरोकप २०२० मा स्पेन र क्रोएसिया दुवैको लागि राम्रो सुरुआत भएन । तर समूहको अन्तिम खेलमा दुवैले लय लिए र शानदार जितसहित नकआउट राउण्डमा स्थान बनाए ।

त्यही दुई टिम अन्तिम १६ मा आज भिड्दैछन् र दुवैको नजर क्वाटरफाइनलमा रहेको छ । स्पेनले यसअघि समूह चरणको तीनवटै खेल घरेलु मैदान खेलेको थियो ।

क्रोएसियाविरुद्ध खेल्दा स्पेन पहिलो पटक घर बाहिर खेल्दैछ । यी दुई टोलीबीचको खेल डेनमार्कको पार्केन एरिनामा नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ ।

स्पेन समूह ‘इ’ को उपविजेता र क्रोएसिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
समूह चरणको पहिलो खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पोल्याण्डसँग १-१ को बराबरीमा रोकिपछि स्पेनलाई अन्तिम खेल जित्नैपर्ने थियो । यस्तोमा स्लोभाकियालाई ५-० को पराकिलो अन्तरले पराजित गर्दै स्पेनले नकआउटको टिकट काटेको हो ।

उता समूह ‘डी’मा क्रोएसिया पहिलो खेलमे इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले हरायो ।

जर्मनीसँगै सर्वाधिक ३ पटकको युरो विजेता स्पेन पछिल्लो तीन ठूला प्रतियोगितामा अन्तिम १६ बाट अघि बढ्न सकेको छैन । सन् २००८ देखि २०१२ सम्म लगातार तीन ठूला प्रतियोगिता जितेको स्पेन २०१४ र २०१८ को विश्वकप अनि २०१६ को युरोकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । यस पटक त्यो खराब यात्रालाई तोड्ने लक्ष्यमा स्पेन छ ।

उता विश्वकप उपविजेता क्रोएसिया तेस्रो पटक क्वाटरफाइनल पुग्ने अभियानमा छ ।

सन् २०१६ मा फ्रान्समा भएको युरोकपमा दुवै टोली यही चरणबाट बाहिरिएका थिए । स्पेन इटलीसँग र क्रोएसिया पोर्चुगलसँग पराजित भएको थियो ।

अन्तिम १६ मा खेल्नुअघि दुवै टोली एकआर्काप्रति सजग छन् । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले स्पेनले स्लोभाकिया विरुद्धको खेलमा असली क्षमता देखाएको बताए ।

उता क्रोएसियाको क्लबमा ५ वर्ष खेलेका र त्यहाँका खेलाडीबारे जानकारी स्पेनका डानी ओल्मोले क्रोएसिया आफ्नो देशको लागि जस्तोसुकै परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन दिने टिम रहेको बताए ।

क्रोएसिया र स्पेन युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन् । नकआउट चरणमा भने यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् ।

सन् २०१२ को युरोमा स्पेनले क्रोएसियालाई समूह चरणमा पराजित गरेको थियो । चार वर्षपछि क्रोएसियाले स्पेनलाई हराएको थियो ।

यस्तै यूईएफए नेसन्स लिगअन्तर्गत सन् २०१८ मा भएको खेलमा दुवैले एक एक खेल जितेका थिए । स्पेनले क्रोएसियालाई घरेलु मैदान ६-० ले हराएको थियो भने क्रोएसिया आफ्नो मैदानमा ३-२ ले विजयी भएको थियो।

समग्रमा यी दुई टोलीबीच ८ खेल हुँदा स्पेनले ४ खेल जितेको थियो भने क्रोएसियाले ३ खेल जितेको थियो । १ खेल बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment