१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले स्विट्जरल्याण्ड्सँग प्रतिस्पर्धा गर्दैछ । फ्रान्सका प्रशिक्षक डिडियर डेसाम्सले खेल्नुअघि विपक्षीलाई कमजोर नआँक्ने बताएका छन् ।
डेसाम्पसले आफ्नो खेलाडीहरुलाई स्विट्जरल्याण्डलाई हल्का रुपमा नलिनसमेत सचेत गराएका छन् । ‘हामीले उनीहरुलाई कमजोर आँक्नु हुन्न । यो नकआउट खेल हो र हामीले खेलपछि हँसिलो अनुहार बनाउनका लागि सबैथोक दिनुपर्छ’ विश्वकप र युरोकप दुवै उपाधि खेलाडी र प्रशिक्षकको रुपमा जित्ने पहिलो व्यक्ति बन्ने लक्ष्यमा रहेका डेसाम्सले भने । ‘उनीहरु राम्रो टिम हुन् । सेफेरोभिक एम्बोलो र शाकिरी जस्ता राम्रो अट्याक उनीहरुसँग छ ।’
डेसाम्सले यो फरक परिस्थितिको खेल रहेको र फाइनल जस्तै भएको बताए । ‘यो फरक अवस्था हो । अब यो खेल फाइनल जस्तै हो,’उनले भने ।
चोटका कारण फ्रान्सका केही खेलाडीहरु स्विट्जरल्याण्डविरुद्ध खेल्नेमा शङ्का छ । चोटका कारण उसमान डेम्बेले युरोकपबाटै बाहिरिसकेका छन् ।
स्विट्जरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिचले फ्रान्सविरुद्ध खेल्दा १२० प्रतिशत दिनुपर्ने बताए । उनले फ्रान्सले शतप्रतिशत नखोलोस् भन्ने आशा राखेका छन् ।
समूह चरणमा फ्रान्स र स्विट्जरल्याण्ड फरक परिस्थितिबाट अघि बढेको थियो । ग्रुप अफ डेथमा रहेको फ्रान्स समूह एफको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।
आत्मघाती गोलको सहयोगमा जर्मनीलाई पहिलो खेलमा १-० ले हराएको फ्रान्स दोस्रो खेलमा हंगेरीसँग १-१ को बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा साविक विजेता पोर्चुगलसँग २-२ को बराबरी खेलेको फ्रान्स ५ अक जोड्दै समूह विजेता बनेको हो।
उता स्विट्जरल्याण्ड समूह ‘ए’ मा तेस्रो भए पनि उत्कृष्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो खेलमा वेल्ससँग १-१ को बराबरी खेलेको स्विट्जरल्याण्ड दोस्रो खेलमा इटलीसँग ३-० ले पराजित भएको थियो । तर अन्तिम खेलमा टर्कीलाई ३-१ ले हराएपछि स्वट्जरल्याण्ड भाग्यमानी बन्यो ।
यसअघि २०१६ मा घरेलु मैदानमै फाइनलमा पराजित भएको फ्रान्स यस पटक उपाधिको मुख्य दाबेदाको रुपमा छ । तर समूह चरणमा सोचेअनुसारको प्रदर्शन गर्न सकेन ।
स्विट्जरल्याण्डले अहिलेसम्म फ्रान्सलाई प्रतिस्पर्धात्मक खेलमा हराउन सकेको छैन । त्यसैले पनि विश्व विजेताविरुद्ध खेल्दा स्वीस टोली स्तब्धपूर्ण नतिजा निकाल्न चाहन्छ।
पछिल्लो तीन ठूला प्रतियोगितामा स्विट्जरल्याण्ड क्वाटरफाइनलबाट अघि बढ्न सकेको छैन । स्विट्जरल्याण्डले ६७ वर्षयता मुख्य प्रतियोगितामा नकआउट चरणको खेलसमेत जित्न सकेको छैन । त्यसैले स्वीस टोलीका कप्तान ग्रान्ट जाकाले फ्रान्सविरुद्धको खेललाई निकै महत्वपूर्ण मानेका छन् । ‘यो हाम्रो लागि ठूलो खेल हो र हामी इतिहास बनाउन तयार छौँ,’ उनले भने ।
युरोकप २०१६ मा फ्रान्स र स्विट्जरल्याण्डले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । २००४ को युरोमा फ्रान्सले स्विट्जरल्याण्डलाई पराजित गरेको थियो ।
समग्रमा यी दुई टोलीबीच ३८ खेल हुँदा फ्रान्सले १६ खेल जितेको छ भने स्विट्जरल्याण्डले १२ खेल जितेको छ । १० खेल बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया 4