Comments Add Comment

प्रचण्डबारे ओलीको टिप्पणी : छेपारोले रंग फेर्छ त !

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका छन् ।

७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले अरु नेताहरुसँगै प्रचण्डको चर्को आलोचना गरेका हुन् । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, ‘किन छक्क मान्ने ? छेपारोले रंग छिनछिनमा फेर्छ त !’

उनले अघि भने, ‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउँछ । हरियोमा गयो भने हरियो, कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।’

‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छन् । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छन्,’ एमाले अध्यक्ष ओलीले भने, ‘कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छन्, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छन् । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छ ।’

प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले पैसा जम्मा गरेको बैंक लुटेको, बाँदरमुढे घटना घटाएको, मानिसहरुलाई महिनौंसम्म नियन्त्रणमा लिएर निर्मम हत्या जस्ता जघन्य अपराध गरेको र अहिले आफूलाई लोकतन्त्रको मसिहा झैं प्रस्तुत गरेको उनको आरोप छ ।

प्रचण्डको काम नै देशलाई बर्बाद बनाउने भएको भन्दै उनले भने, ‘त्यस्ता मान्छेलाई गुरु थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीहरु प्रचण्ड पथमा हिँड्नु अचम्म लाग्छ ।’ प्रचण्डले अहिले पनि राष्ट्रिय राजनीतिलाई बिथोल्ने काम गरेको भन्दै उनले सही अर्थमा लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment