Comments Add Comment

कास्कीमा पनि बुधबारदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

१४ असार, पोखरा । कास्की जिल्लाभर बुधबारदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ ।

असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए ।

स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले सार्वजनिक यातायात सुचारु गर्न पाउनेछन् । लामो दूरीका यातायातलाई भने तत्काल खुला नगरिएको सिडिओ गौतमले जानकारी दिए ।

यसअघि दिउँसो १२ बजेसम्ममात्रै खुला भएका दैनिक उपभोग्य तथा तरकारी पसलहरु साँझ ६ बजेसम्म खुल्न पाउने भएका छन् । त्यस्तै, भाँडा, कपडा, सुनचाँदी लगायतका व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछन् ।

बैशाख १५ देखि कास्कीमा निषेधाज्ञा जारी छ । कास्कीमा सोमबारसम्म ५३२ कोरोनाका सक्रिय संक्रमित छन् भने ४ सय ३ जनाको मृत्यु भइसकेको छ । कास्कीमा २२ हजार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment