Comments Add Comment

कैलालीमा बुधबारदेखि सार्वजनिक सवारी साधन चल्ने

कैलालीको धनगढीस्थित बसपार्कमा राखिएका बस । फाइल तस्वीर

१५ असार, धनगढी । कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ ।

मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर- बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् ।

जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउने पाइनेछ ।

अत्यावश्यक बाहेकका अन्य सवारीसाधनको हकमा जोर-बिजोर प्रणालीलाई निरन्तरता दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा बुधबारदेखि जिल्लामा होटल, रेष्टुरेन्ट र चिया पसलबाहेकका सबै पसल व्यवसाय बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

होटल, रेष्टुरेन्टले बिहान ६ देखि ८ बजेसम्म होम डेलीभरी भने गर्न सक्नेछन् । तर मानिसहरुको भीडभाड हुने सभा, सम्मेलन, गोष्ठी तथा कुनै पनि प्रकारका कार्यक्रम गर्न नपाइने जारी आदेशमा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले यसअघि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै अगामी असार २२ गतेसम्म निरन्तरता दिने आदेश गरेका छन् ।

कैलालीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

संक्रमण कम भए पनि जोखिम अझै कायमै रहेकाले संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न स्थानीय प्रशासनले सबैमा अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment