Comments Add Comment

फरक कम्पनीको कोरोना खोपको नतिजा पनि सकारात्मक

१५ असार, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फरक फरक खोप लगाउँदा पनि सकारात्मक नतिजा पाइएको छ ।

द कम कोभ ट्रायलका अनुसार बेलायतमा गरिएको उक्त अध्ययनमा फाइजर र एस्ट्राजेनेकाको खोपको प्रयोग गरिएको थियो ।

उक्त प्रयोगमा सहभागी केही मानिसहरुलाई यी खोपको दुई/दुई डोज खोप दिएपछि त्यसको नतिजाको अध्ययन गरिएको थियो । केहीलाई भने पहिलो डोज खोप एउटा कम्पनीको र दोस्रो डोज अर्कै कम्पनीको खोप दिइएको थियो ।

अध्ययनको क्रममा यी दुवै तरिका प्रभावकारी देखिएको थियो । यसरी दुई फरक फरक कम्पनीको खोप दिँदा पनि कोरोना भाइरसविरुद्ध मानिसको प्रतिरोधी क्षमता बलियो देखिएको थियो । यो नतिजा आएसँगै आगामी दिनमा कोरोना खोपको समस्या केही कम हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।

बेलायतका सहायक प्रमुख मेडिकल अधिकारी जोनाथन वान टेमले खोपको समस्या भएका मुलुकमा यो तरिका उपयोगी हुने बताए । ‘जुन मुलुकमा कोरोना खोपको आपूर्तिमा समस्या देखिन्छ, त्यहाँ यो तरिका प्रयोग गर्न सकिन्छ’, उनले भने ।

युरोपकै केही मुलुकमा दुई फरक कम्पनीको कोरोना खोप दिइएको छ । स्पेन र जर्मनीले एस्ट्राजेनेकाको पहिलो डोज खोप लिएका मानिसहरुलाई दोस्रो डोज फाइजरको खोप दिइरहेका छन् ।

यी मुलुकले एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएसँगै दोस्रो डोजमा फाइजरको खोप प्रयोग गरेका थिए ।

केही समयअघि भारतको उत्तर प्रदेशस्थित एक जिल्लामा पनि २० जनालाई फरक फरक कम्पनीको खोप लगाइएको थियो । यद्यपि उनीहरुलाई भुलवश छुट्टाछुट्टै खोप दिइएको थियो । अहिले यो घटनाबारे अनुसन्धान भइरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment