Comments Add Comment

‘वुहान लिक थ्योरी’लाई राजनीतिक हतियार बनाउँदैछन् ट्रम्प

१५ असार, काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त भएका बेला अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहान शहरको प्रयोगशालाबाट कोभिड–१९ फैलिएको दाबी गरेका थिए । त्यतिबेला ट्रम्पको दाबीलाई एउटा भ्रमको रुपमा हेरिएको थियो ।

तर अहिले यस विषयमा फेरि चर्चा शुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले पनि चीनमाथि आशंका गरेको छ । वैज्ञानिकहरुको सोचमा देखिएको यो परिवर्तनलाई पूर्वराष्ट्रपति ट्रम्पले भने राजनीतिक हतियारको रुपमा प्रयोग गरेका छन् ।

शनिबार साँझ ओहायोमा एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले आफू सही साबित भएको दाबी गरे ।

र्‍यालीमा सहभागीहरुले रातो रङको पोशाक लगाएका थिए । धेरैले ‘मेक अमेरिका ग्रेट अगेन’ लेखिएको ह्याट पनि लगाएका थिए । ट्रम्पले आफूले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट आएको सम्भावना धेरै रहेको बताउँदा मानिसहरुले फरक किसिमले हेरेको भन्दै उनले भने, ‘मैले भनेको थिएँ कि यो वुहानबाट आएको हो, प्रयोगशालाबाट आएको हो ।’

सन् २०२० को अप्रिलमा ट्रम्पले वुहानको प्रयोगशालाबाट भाइरस उत्पत्ति भएको विषयमा नजिकबाट नियालिरहेको बताएका थिए । तर उनको अभिव्यक्तिलाई मानिसहरुले ठट्टाको विषय बनाए । वाशिङटन पोस्ट, न्युयोर्क टाइम्स र अन्य मिडिया संगठनका पत्रकारले ट्रम्पले राखेको वुहान प्रयोगशालाको तथ्यलाई अस्वीकार गर्दै आएका थिए ।

अमेरिकी वैज्ञानिकहरुले पनि यस्तै बताएका थिए । तर अहिले अवस्था फेरिएको छ ।

ल्याब लिक थ्योरी

कोरोना भाइरस कहाँबाट उत्पत्ति भयो भन्ने अहिलेसम्म खुलेको छैन । ट्रम्पले दाबी गरे जस्तै वुहानको प्रयोगशालाबाट नै कोरोना भाइरस बनाएको पनि पुष्टि भएको छैन । यद्यपि पश्चिमा मुलुकहरुले कोरोना भाइरस प्रयोगशालाबाट आएको हुनसक्ने बताएका छन् ।

वुहानमा कोरोना भाइरस फैलिनुभन्दा केही समयअघि सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका तीन शोधकर्ताको स्थानीय एक अस्पतालमा उपचार भएको गुप्तचरको रिपोर्ट मे महिनामा अमेरिकी मिडियामा छापियो । सन् २०२१ को शुरुमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को एक टोलीले वुहानको भ्रमण गरेको थियो । त्यसपछि वैज्ञानिकहरुले प्रयोगशालाबाट यो भाइरस आएको हुनसक्ने बताउन थालेका थिए ।

एन्थोनी फाउची, कोरोनाविरुद्ध लड्न अमेरिकी राष्ट्रपतिले बनाएको टोलीका संयोजकले बीबीसी अमेरिकालाई दिएको एक अन्तर्वार्तामा यो भाइरसको उत्पत्ति प्राकृतिक रुपमा भएको हुनसक्ने सम्भावना धेरै रहेको बताएका छन् । यद्यपि यसको सम्बन्ध पत्ता नलाग्दासम्म आफ्नो दिमाग खुला राख्नुपर्ने उनको भनाइ थियो ।

गत मेमा राष्ट्रपति बाइडनले कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न गुप्तचर संस्थालाई आदेश दिएका छन् ।

चीनको वुहान प्रयोगशालामा काम गर्ने मानिसहरु भने यो भाइरस प्रयोगशालाबाट आएको हो भन्ने आरोपको खण्डन गर्छन् । चिनियाँ अधिकारीहरुले यो आरोपमा आक्रोश व्यक्त गर्दै आएका छन् । साथै उनीहरुले अहिलेसम्म यो भाइरस कहाँबाट आयो भन्ने अहिलेसम्म पत्ता नलागेको बताउँछन् । यद्यपि शुरुमा चीनमाथि कोरोनाको उत्पत्तिबारेको अध्ययनमा अवरोध सिर्जना गरिरहेको आरोप लागेको थियो ।

ट्रम्पको आलोचना

अमेरिकामा कोरोना महामारी नियन्त्रण गर्न नसकेको जिम्मेवारीबाट बच्न राष्ट्रपति ट्रम्पले चीनमाथि दोष थोपरेको उनका आलोचकहरु बताउँछन् । अमेरिकाका अधिकांश वैज्ञानिकले यो भाइरस कुनै जनावर र त्यसमा पनि चमेराबाट आएको हुनसक्ने बताएका थिए ।

वुहान कोरोना भाइरसको संक्रमण पहिलो पटक पुष्टि भएको शहर हो । र, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा वैज्ञानिकहरुले एक प्रयोगशालामा चमेराहरुमा अनुसन्धान गरेका थिए ।

तर, अहिलेसम्म कोरोनाको उत्पतिबारे कुनै वैज्ञानिक प्रमाण नभेटिँदा मानिसहरुले प्रयोगशालाबाट भाइरस आएको हुनसक्ने ट्रम्पको विचारलाई समर्थन गर्न थालेका छन् । यही बेला ट्रम्प पनि राजनीतिक फाइदा उठाउन चाहन्छन् । एक्रोन युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक डेभिड कोहेन बताउँछन्, ‘उनी मानिसहरुलाई सन्देश दिन चाहन्छन् कि, हेर्नुहोस् यस विषयमा म सही थिएँ, मानिसहरुले यस विषयमा मलाई बेवास्ता गरे, तर अहिले यो सही साबित भइरहेको छ ।’

यद्यपि डेमोक्रेट्स समर्थकको मत जित्न ट्रम्पका लागि सहज छैन । किनकि कोरोना भाइरसबारे उनले झुटो दाबी गर्नुका साथै भ्रम पनि फैलाएका थिए । त्यही कारण उनी बद्नाम छन् ।

ट्रम्पका समर्थक सहमत

ओहायोका एक इन्जिनियर पाल रिकीले ट्रम्प र उनको प्रयोगशालाबाट  कोरोना आएको विषयलाई लिएर उत्साह व्यक्त गरेका छन् । उनले भने, ‘मलाई लाग्छ कि ट्रम्प सही साबित भइरहेका छन् र यहाँ उपस्थित भएका मानिसहरुलाई पनि यस्तै लागिरहेको छ ।’

र्‍यालीमा सहभागी भएका धेरै मानिसले पनि ट्रम्पको दाबीलाई वैज्ञानिकहरुले समयमै गम्भीरतापूर्वक लिएको भए अवस्था फरक हुने बताएका छन् । वेलिङटनमा एक कारखानामा काम गर्ने जेम्स क्रोप कोरोना भाइरस प्रयोगशालाबाटै आएको बताउँछन् । र्‍यालीमा सहभागी अन्य व्यक्तिले पनि कोरोनाको उत्पत्तिको विषयमा चर्चा गरिरहेका थिए । कुनै पनि राजनीतिक र्‍यालीमा यस किसिमको वैज्ञानिक विषयमा खासै चर्चा हुँदैन । यद्यपि ओहायोको उक्त र्‍यालीमा सहभागी सबै मानिसले ट्रम्प सही थिए र मिडियाले उनलाई बेवास्ता गरेका हुन् भन्ने धारणा राखेको पाइएको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment