Comments Add Comment

दाङमा ६० प्रतिशत रोपाइँ

१५ असार, दाङ । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि दाङमा असार महिनाभित्रै धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।

असारको दोस्रो हप्तासम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिनुभयो ।

उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो । अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका अधिकांश गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका सहित पश्चिम दाङमाभने रोपाइँ भैरहेका छन् ।

यसपटक लगातार पानी परेकाले आफूले पहिलो पटक ट्रयाक्टरको प्रयोगबाट खेत तयार गरी धान रोपाइँ गरीरहेको दङगीशरण गाउँपालिकाका किसान कृष्ण चौधरीले बताए ।

यसैबीच १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस जिल्लामा पनि सम्पन्न भएको छ । कोरोना महामारीको सङक्रमण तथा जोखिमलाई मध्य नजर गरी सुरक्षा मापदण्ड अपनाएर सांङकेतिक रुपमा जिल्लाको तुलसीपुर र लमहीमा कार्यक्रम गरीएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको धान रोपाइँ वडा नं ७ को खर्चवा गाउँमा सम्पन्न भएको छ ।धान रोपाइँमा नगरप्रमुख घनश्याम पाण्डेय, उपप्रमुख माया आचार्य, विभिन्न दलका प्रतिनिधि, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएकोमा यसवर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धान लगाएका छन् ।

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा-२,सुक्खा-३ जातका धान लगाउने गरेका छन् । जिल्लामा यसपटक धान रोपाइँको लागि आवश्यक पर्ने रसायनिक मलको अभाव भने रहेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment