Comments Add Comment

एप प्रयोगकर्ताले ६ महिनामै गरे ६५ अर्ब डलर खर्च, यी हुन् सर्वाधिक कमाउने एप

चालू वर्ष सन् २०२१ को पहिलो ६ महिनामै विश्वका मोबाइल फोन प्रयोगकर्ताले मोबाइल एपमा झण्डै ६५ अर्ब डलर खर्च गरेका छन् ।

सेन्सर टावरले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु वर्षको पहिलो अर्धवार्षिकमा एप्पलको एप स्टोर र गुगल प्लेस्टोरमा प्रयोगकर्ताले गरेको खर्च ६४ अर्ब ९० करोड डलर पुगेको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा २४.८ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२० को पहिलो अर्धवार्षिकमा गुगल र एप्पलको एप स्टोरमा गरी प्रयोगकर्ताले ५२ अर्ब डलर खर्च गरेका थिए । त्यस्तै सन् २०१९ को पहिलो अर्धवार्षिकमा त्यस्तो खर्च साढे ४० अर्ब थियो ।

यस्तो छ विश्वव्यापी मोबाइल एपको आम्दानी र डाउनलोडको तथ्यांक

विश्वमा सर्वाधिक धेरै प्रयोगकर्ता भएको मोबाइल अपरेटिङ सिस्टम गुगलको एन्ड्रोइड हो । दोश्रो नम्बरमा आउने एप्पलको आईओएसभन्दा एन्ड्रोइड प्रयोगकर्ताको संख्या अत्यधिक छ । तर जब प्रयोगकर्ताले एप्पल र गुगलको एप स्टोरहरुमा गर्ने खर्चको सन्दर्भ आउँदछ, तब त्यस मामिलामा एप्पल निकै अगाडि देखिएको छ ।

सेन्सर टावरले पछिल्लोपटक सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२१ को जनवरीदेखि जुन सम्मको अवधिमा एप्पलको एप स्टोरमा प्रयोगकर्ताले साढे ४१ अर्ब डलर खर्च गरेका छन् । उक्त रकम इन एप पर्चेज, सब्सक्रिप्सन तथा प्रिमियम एप र गेम्सबाट एप्पलले प्राप्त गरेको आम्दानी हो ।

यस अवधिमा एप्पलको एप स्टोरमा प्रयोगकर्ताले गरेको खर्च गुगल प्ले स्टोरको भन्दा १.८ प्रतिशतले बढी छ । चालु वर्षको पहिलो अर्धवार्षिकमा गुगल प्ले स्टोरमा प्रयोगकर्ताले २३ अर्ब ४० करोड डलर खर्च गरे ।

तथापि एपबाट भएको आम्दानीको वृद्धिदरमा भने एप्पलभन्दा गुगल अगाडि छ । सन् २०२१ को पहिलो अर्धवार्षिकमा एप स्टोरबाट एप्पलले गरेको आम्दानी सन् २०२० को पहिलो अर्धवार्षिकमा भन्दा २२.१ प्रतिशतले बढी छ ।

सन् २०२० को पहिलो अर्धवार्षिकमा एप स्टोरमा प्रयोगकर्ताले ३४ अर्ब डलर मात्र खर्च गरेका थिए । जबकि सन् २०१९ को पहिलो अर्धवार्षिकको तुलनामा सन् २०२० को पहिलो त्रैमासिकमा एप स्टोरमा भएको खर्च २९.३ प्रतिशतले बढी थियो ।

उता सन् २०२१ को पहिलो अर्धवार्षिकमा गुग प्ले स्टोरले गरेको आम्दानी सन् २०२० को पहिलो अर्धवार्षिकको भन्दा ३० प्रतिशतले बढी हो ।
सन् २०२० को पहिलो अर्धवार्षिकमा गुगल प्ले स्टोरको आम्दानी १८ अर्ब डलर थियो । त्यस्तै सन् २०१९ को तुलनामा सन् २०२० को पहिलो अर्धवार्षिकमा गुगल प्ले स्टोरको आम्दानी २६.८ प्रतिशत बढी थियो ।

चालु वर्ष २०२१ को पहिलो अर्धवार्षिकमा एप्पल तथा गुगलका एप स्टोरहरुमा सर्वाधिक धेरै आम्दानी गर्न सफल नन गेमिङ एप टिकटक बनेको छ । टिकटक गत वर्ष पनि सबैभन्दा धेरै कमाउने एपको रुपमा रहेको थियो ।

प्रयोगकर्ताहरुले यो वर्षको पहिलो त्रैमासिकमा टिकटकमा मात्रै ९२ करोड डलरभन्दा धेरै खर्च गरेका छन् जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढि हो ।

नन गेमिङ एपमा सर्वाधिक आम्दानी गर्ने एपको सूचीमा दोश्रो स्थानमा युट्युब रहेको छ । प्रयोगकर्ताले पछिल्लो ६ महिनामा युट्युब एपमा ५६ करोड ४७ लाख डलर खर्च गरेका छन् ।

त्यस्तै तेश्रो स्थानमा ५२ करोड ३ लाख डलर आम्दानीसहित टिन्डर तेश्रो स्थानमा छ भने जापानी कमिक रिडर एप पिक्कोमा र डिज्नीको स्ट्रिमिङ प्लाटर्फम डिज्नी प्लस क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

रिपोर्ट अनुसार सन् २०२१ को पहिलो अर्धवार्षिकमा एप स्टोरहरुबाट एपको डाउनलोडमा पनि वृद्धि भएको छ । यस अवधिमा एप स्टोर र गुगल प्ले स्टोरबाट कूल ७२ अर्ब ५० करोड पटक एप डाउनलोड भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले बढी हो । जबकि गत वर्ष सन् २०२० को पहिलो अर्धवार्षिकमा त्यसको अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशत बढी पटक एप डाउनलोड भएको थियो ।

यस वर्षको पहिलो ६ महिनामा एप्पलको एप स्टोरबाट डाउनलोड हुने एपको संख्यामा भने गतवर्ष भन्दा गिरावट आएको छ । गत वर्षको पहिलो अर्धवार्षिकमा एप स्टोरबाट १८ अर्ब ३० करोड पटक एप डाउनलोड भएकोमा यो अर्धवार्षिकमा १६ अर्ब ३० करोड पटक मात्र डाउनलोड भयो । यस अवधिमा गुगल प्ले स्टोरबाट हुने एपको डाउनलोडमा भने ६ प्रतिशतले वृद्धि भएर ५६ अर्ब २० करोड पटक पुगेको छ ।

यी हुन् एप स्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सबैभन्दा डाउनलोड हुने एपहरु

· टिकटक
· फेसबुक
· इन्स्टाग्राम
· ह्वाट्सएप
· टेलिग्राम
· मेसेन्जर
· जूम
· स्न्यापच्याट
· क्यापकट
· गुगल मिट

एप्पलको एप स्टोरबाट सर्वाधिक डाउनलोड भएका एपहरु

· टिकटक
· युट्युब
· इन्स्टाग्राम
· ह्वाट्सएप
· जूम
· फेसबुक
· मेसेन्जर
· क्यापकट
· गुगल म्याप्स
· जिमेल

गुगल प्ले स्टोरबाट सर्वाधिक डाउनलोड भएका एप

· फेसबुक
· टिकटक
· इन्स्टाग्राम
· ह्वाट्सएप
· टेलिग्राम
· मेसेन्जर
· स्न्यापच्याट
· जूम
· गुगल मिट
· एम एक्स टाकाटक

सबैभन्दा धेरै कमाउने एपको सूची

एपस्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सर्वाधिक कमाउने एपहरु यी हुन्ः

· टिकटक
· युट्युब
· टिन्डर
· पिक्कोमा
· डिज्नी प्लस
· टेन्सेन्ट भिडियो
· गुगल वन
· आइक्विइ
· लाइन म्यांगा
· टि्वच

एप स्टोरमा सर्वाधिक आम्दानी गर्ने एपहरुः

· टिकटक
· युट्युब
· टिन्डर
· टेन्सेन्ट भिडियो
· आइक्विइ
· डिज्नी प्लस
· पिक्कोमा
· युकु
· नेटफि्लक्स
· क्यू क्यू म्युजिक

गुगल प्ले स्टोरमा सर्वाधिक कमाउने एपहरु यी हुन्

· गुगल वन
· पिक्कोमा
· डिज्नी प्लस
· टि्वच
· लाइन म्यांगा
· एचबिओ म्याक्स
· टिन्डर
· लाइन
· बिंगो लाइभ
· टिकटक

(सेन्सर टावर डटकमबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment