Comments Add Comment
अन्तरवार्ता :

‘देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ’

शशांक कोइरालाको प्रस्ताव : शेखर दाइ यसपटक बस्नुस्, प्रकाशमानजी प्रधानमन्त्री हुनुस्

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला ।

सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिइसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् ।

तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले हराउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ ।’ रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनको दाबी छ ।

प्रस्तुत छ, कांग्रेसको आसन्न महाधिवेशन, नेतृत्व चयन र पार्टी एकतावद्ध गर्ने महामन्त्री कोइरालाको योजनाबारे अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

महामन्त्रीको झण्डै साढे पाँच वर्षको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

आजको मितिसम्म मैले पार्टी सभापति शेरबहादुर देउवाको कहिल्यै विरोध गरेको छैन । चुनावमा नेपाली कांग्रेस हारेपछि उहाँको धेरै आलोचना भयो, मैले महामन्त्रीका रुपमा उहाँको बचाउ नै गरेँ । त्यसपछि उहाँको विरोध गरिनँ ।

किनकि कांग्रेस पराजय हुनुका धेरै कारणमध्ये गुट–उपगुट पनि एउटा थियो । र, पार्टीलाई एक ढिक्का बनाउनुपर्दछ भन्ने मेरो प्रयास थियो । तर अब मैले सत्य बोल्नैपर्छ, उहाँले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । मेरो मान्छे, तेरो मान्छे गर्नुभयो, टिकट वितरणमा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिनुभयो । मेरो चाहना विकेन्द्रीकरणको सिद्धान्त अनुसार तलबाटै सल्लाह लिनुपर्छ भन्ने थियो । तर केन्द्रबाट टिकट दिइयो । त्यसले पनि असन्तुष्टि बढ्यो ।

महाधिवेशन भएको ६ महीनाभित्र गठन गर्नुपर्ने विभागहरु चार वर्षपछि मात्रै गठन गर्नुभयो । त्यो पनि महाधिवेशनलाई लक्षित गरेर बनाएको देखिन्छ । यसरी हेर्दा महामन्त्रीका कार्यकालमा मैले पार्टी एकता बनाउने प्रयास गरेँ, तर सकिनँ ।

तर, सबैको प्रिय बन्ने नाममा जसरी मौन बस्नुभयो, यसले असफल भएँ भन्ने लाग्दैन ?

यसमा केही हदसम्म सत्यता छ । म कसैका बारेमा छुचो बोल्दिनँ । १३औं महाधिवेशनमा शेरबहादुर देउवाजीको टीमबाट अर्जुननरसिंह केसी महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । तर देउवाजीकै मान्छेहरुले मलाई भोट हाले । त्यसले के जनाउँछ भने ममाथि कांग्रेसलाई एकतावद्ध बनाउन सक्छ भन्ने विश्वास थियो । त्यसकारण मैले शेरबहादुर देउवाको बचाउ गरेँ, कसैलाई काखापाखा गरिनँ ।

तर तपाईंले महामन्त्रीका रुपमा निभाउनुपर्ने भूमिकामा चुक्नुभयो । उदाहरणका लागि, समयमा विभाग नबन्दा सभापतिलाई घचघच्याउनु भएन, महाधिवेशन गर्ने बेलामा विभाग बनाउँदा पनि रोक्न सक्नु भएन भन्नेहरु पनि छन् नि ?

यो केही हदसम्म सही हो, तर (एग्रेसिभ हुन) मेरो नेचरले पनि दिंदैन । र, पार्टीभित्र मेरो मुख्य ध्येय पार्टीलाई एक बनाउने हो । म नै सभापतिविरुद्ध उभिएको भए कांग्रेसमा थप संकट आउन सक्थ्यो । कांग्रेसलाई थप चिरा हुन नदिन पनि मैले सभापतिकै बचाउ गरेँ ।

चुनावमा पार्टीको पराजय भयो, अरुले सभापतिमाथि आरोप लगाउँदा मैले नै टिकट वितरण हामीले पनि गरेका हौं, हामी पनि दोषी हौं भनेर बोलें। तर तपाईंले भनेको जस्तो अहिले आएर शायद त्यसबेला म अलि ‘एग्रेसिभ’ हुनुपथ्र्याे कि भन्ने लागेको छ । मैले ‘एग्रेसिभ’ भूमिका नखेलेका कारण पार्टी यो अवस्थामा पुग्यो भन्ने लाग्छ ।

हिजोको ‘रियलाइजेसन’ले आगामी दिनमा शशांक कोइरालाको भूमिका फरक हुन्छ भन्न खोज्नुभएको हो ?

हामी महाधिवेशनतर्फ अगाडि बढेका छौं र यो महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

महाधिवेशनसम्म गुटहरु हुन्छन्, तर सभापति भइसकेपछि सबैलाई एक गर्नुपर्छ । सबैलाई समान व्यवहार गर्नुपर्छ, यो शेरबहादुरजीले गर्नुभएन । मेरो तेरो भन्नुभयो । शायद उहाँले त्यसो नगर्नु भएको भए पार्टीको आज यो दुर्दशा हुने थिएन ।

सबैका कुरा सुन्दा सभापतिमा देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ जस्तो लाग्छ । शेखर दाइ केन्द्रीय सदस्य मात्रै हुनुहुन्छ । त्यसैले उहाँलाई यसपटक बस्नुस् भन्छु । एक व्यक्ति एक पदको अवधारणा अगाडि बढाउँछु र प्रकाशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्छु

अघिल्लो महाधिवेशनमा सभापतिमा तीन उम्मेदवार थिए, पार्टीमा पनि तीन वटा गुट रहे । यो पटक त कम्तीमा सातजना दावेदार छन्, सात वटा नै गुट बन्ला । जो सभापति भए पनि कसरी एक होला र कांग्रेस ?

महाधिवेशनमा ‘ग्रुपिज्म’ स्वाभाविक हो । तर सभापति भइसकेपछि यो मेरो मान्छे, त्यो मेरो मान्छे भन्नुभएन । सबैलाई समान व्यवहार गर्नुपर्छ, त्यसले नै कांग्रेस एकढिक्का हुन्छ ।

तपाईं आफैं पनि सभापतिको आकांक्षी हो, भोलि निर्वाचित हुनुभयो भने वर्षौंदेखि गुटगत राजनीतिमा जेलिएको कांग्रेसलाई कसरी एक बनाउनुहुन्छ ?

सर्वप्रथम म पार्टीमा अस्तित्वमा रहेका सबै गुटका मान्छेलाई समान अवसर दिन्छु । हुन त यसपटक पदाधिकारीमा सबै पद निर्वाचित हुने व्यवस्था गरिएको छ । यो वीपी कोइरालाको नीति विपरीत छ । कांग्रेसमा ‘प्रेसिडेन्सियल सिस्टम’ हो । सभापतिलाई काम गर्न सजिलो हुने गरी विधान बनाउनु जरुरी छ । त्यसकारण महाधिवेशनपछि पदाधिकारीमा निश्चित पद मनोनित गर्ने व्यवस्था संशोधन गर्न जरुरी छ । यसका लागि काम गर्छु ।

सभापति बन्ने, पार्टी एकढिक्का बनाउने भोलिको कुरा भयो, त्यसअघि आफ्नो समूहमा सर्वसम्मत उम्मेदवार बन्नु चुनौतीपूर्ण छ । तपाईं आवद्ध रहेको संस्थापन इतर समूहमै सभापतिका आकांक्षी धेरै छन् । अझ कोइराला परिवारभित्रै तीन जना हुनुहुन्छ । कसरी मिलाउनुहुन्छ सबैलाई ?

हाम्रो (शेखर कोइराला र म) बीचमा छलफल नभएको लामो समय भइसकेको छ । हामी केहीदिनमै छलफल गर्दैछौं । रामचन्द दाइसँग पनि छलफल गर्नुपर्छ । विमलेन्द्र (निधि) र प्रकाशमान (सिंह) सँग कुराकानी भइरहेको छ ।

अहिले सभापतिमा जति पनि आकांक्षी हुनुहुन्छ, उहाँहरुले के बुझ्नुपर्दछ भने जित्ने उम्मेदवार को हो ? आजका मितिसँग जति जनासँग मेरो संवाद भएको छ, उहाँहरुको धारणा सबभन्दा पहिला परिवारलाई एकतावद्ध राख्नुस् र अनि अरुसँग पनि छलफल गर्नुस् भन्ने छ । तर जित्ने उम्मेदवार शशांक नै हो भन्ने देशभरका नेता कार्यकर्ताको भावना पाएको छु ।

तर शेखर कोइरालाले अघिल्लो महाधिवेशन लगतै तयारी थाल्नुभएको र धेरै अगाडि बढिसक्नुभएको छ । भोलि तपाईंले चाहँदैमा रोकिने अवस्था होला र ?

उहाँलाई यसपटक बस्नुस् भन्छु । तर कुरा गर्न बाँकी छ । संवादबाटै हामी कन्भिन्स हुन्छौं भन्ने सबैले दिमागमा राख्नुपर्दछ ।

प्रकाशमान सिंह पनि हुनुहुन्छ । हिजो पिता गणेशमान सिंहलाई पनि कांग्रेसको सभापति बन्न दिइएन, अहिले म पनि नहुने ? भन्ने उहाँको पनि तर्क सुनिन्छ ।

प्रकाशमानलाई मेरो प्रस्ताव छ, पाँच वर्ष पार्टी चलाएपछि फेरि सभापतिमा दोहोरिने मेरो कुनै इच्छा छैन । अहिले मलाई सहयोग गर्नुस्, अर्काे पटक तपाईंलाई म सहयोग गर्छु ।


पछिल्लो समय त तपाईं, विमलेन्द्र निधि र प्रकाशमान सिंहको भेट पनि बाक्लिएको छ । केही सहमति जुट्ने सम्भावना छ ?

हामीबीच शेरबहादुरजीको विकल्पमा एउटा मात्रै उम्मेदवार बनाउनुपर्दछ भन्नेमा सहमति छ । किनकि शेरबहादुरजीलाई हराउन त निकै मुश्किल छ नि । उहाँ सभापति हुँदै हुनुहुन्छ, भोलिका दिनमा प्रधानमन्त्री बन्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामी एक हुने हो भने देउवाजीलाई पराजित गर्न सक्छौं जस्तो लाग्छ ।

सबैका कुरा सुन्दा सभापतिमा देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ जस्तो लाग्छ । बरु मलाई ‘शेखर दाइलाई त छोड्नुहुन्न नि ?’ भनेर प्रश्न गर्छन् । मैले किन छोड्नु ? म महामन्त्री भइसकें । शेखर दाइ केन्द्रीय सदस्य मात्रै हुनुहुन्छ । त्यसैले उहाँलाई यसपटक बस्नुस् भन्छु । एक व्यक्ति एक पदको अवधारणा अगाडि बढाउँछु र प्रकाशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्छु ।

प्रधानमन्त्री पद जम्मा एउटा छ, रामचन्द्र पौडेल, प्रकाशमान सिंह अरु क–कसलाई बाँड्नुहुन्छ ?

पार्टीभित्र ‘गिभ एण्ड टेक’ त हुनुपर्यो नि । नेताहरुलाई उहाँहरुको चाहना र हैसियत अनुसार पदीय भागबण्डा गर्नैपर्छ । कोही पार्टीभित्र पदाधिकारीमा अटाउनुहोला, कोही केन्द्रीय समितिमा । तर एक जना त प्रधानमन्त्रीको उम्मेदवार बन्छ नि ।

म पार्टी सभापति भएँ भने प्रधानमन्त्रीमा दावी गर्दिनँ भन्ने चाहिँ तपाईंको भनाइ हो ?

हो, म सभापति भएपछि प्रधानमन्त्री बन्दिनँ ।

तपाईं प्रधानमन्त्री भएर अरुलाई सभापति बनाए हुँदैन ?

वीपीको छोरा भएर पार्टीको यो दुर्दशा हेरेर बस्न सक्दिनँ । त्यसैले अहिले मेरो महत्वपूर्ण जिम्मेवारी पार्टीलाई एकतावद्ध बनाउने हो । म बाहेक यो पार्टीलाई अरुले एकढिक्का बनाउन सक्दैन । त्यसैले म सभापति बन्न जरुरी छ । प्रधानमन्त्री अरु बने पनि सभापतिका रुपमा मैले सुझाव दिने काम त भइहाल्छ ।

त्यसो भए तपाईंको टिम कस्तो हुन्छ त ?

महाधिवेशनमा जाँदा टीम त हुन्छ नै । अहिले म साथीहरुसँग संवादमै छु । सबैसँग राय सल्लाह सुझाव लिएर अगाडि बढ्छु ।

मेरो प्यानलको उपसभापतिमा यो–यो, महामन्त्रीमा यो–यो हुनसक्छ भन्ने त होला नि ?

अहिलेसम्म कुनै नेतालाई छानिसकेको छैन, छलफलमै छौं ।

शेखर कोइरालाले टीम बनाउन थालिसक्नुभयो, हिजो तपाईंसँग निकट भनिएका नेताहरु पनि अहिले शेखरतिर नजिक छन् भनिन्छ, भोलि टिम बनाउन मुश्किल होला नि ?

(हाँस्दै….) त्यस्तो त कहाँ हुन्छ र ? म शेखर दाइसँग संवाद गर्छु र एकाध हप्ताभित्रै टीम बनाउँछु ।

टीम तयार भएको छैन, संस्थापन इतरको गुट छाड्नुस्, कोइराला परिवार मिलाउनुभएको छैन । तैपनि सभापति उठ्छु, जित्छु भन्नुहुन्छ, यो आत्मविश्वासको आधार के ?

मैले भनिसके नि, जिल्ला–जिल्लामा जाँदा जति पनि नेता कार्यकर्ताहरु भेट्छु, उहाँहरुले मप्रति देखाएको आशा, विश्वास नै मेरा लागि आत्मविश्वास हो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment