Comments Add Comment

जमलसँग जोडिएको मच्छिन्द्र बहालको साइनो

जहाँ सुनको बत्ती बाल्दा विपत्ति नष्ट हुन्छ भन्ने जनविश्वास छ

१७ असार, काठमाडौं । काठमाडौंको मूल शहर हनुमान ढोका दरबार क्षेत्र र आसपासमा अझै पनि २०० वर्ष पुराना संरचनाहरु भेटिन्छन् । यो क्षेत्र करीब १५०० वर्ष पहिलेको लिच्छविकालमा पनि उस्तै महत्वपूर्ण बस्ती थियो भन्ने कुरा पुरातात्विक प्रमाणले पुष्टि गरेको छ ।

मध्यकालसम्म हनुमानढोका दरबार क्षेत्र बाहिर पर्ने जनबहाललाई कनक चैत्य महाविहारको रुपमा चिनिन्थ्यो । हालको केलटोल, असनलगायतका क्षेत्रमा छुट्टै बस्ती थिए ।काठमाडौंको मूल बस्तीलाई लिच्छविकालमा कोलीयग्राम नाम दिइएको थियो । जुन उपत्यकाका तत्कालीन ९ द्रंगमध्येको एक थियो । द्रंग भनेको व्यवस्थित बस्ती बसालिएको शहर हो । ग्रामबाट स्तरोन्नति भएको बस्तीलाई तल भनिन्थ्यो । तलबाट स्तरोन्नति भएपछि द्रंग बन्ने गरेको धनबज्र बज्राचार्यले आफ्नो पुस्तक ‘लिच्छविकालका अभिलेखहरु’मा उल्लेख गरेका छन् ।

हालको मच्छिन्द्र बहाल क्षेत्र तत्कालीन दक्षिण कोलीय ग्राम द्रंगभित्र पर्ने एउटा बस्ती हो भन्नेमा धेरै इतिहासकारहरु एकमत छन् । तर मच्छिन्द्र बहाल र जनबहालको नामाकरण भने मध्यकालपछि मात्रै गरिएको सेतो मत्स्येन्द्रनाथका पुजारी नीलरत्न शाक्य बताउँछन् ।

मच्छिन्द्र बहालमा रहेको सेतो मत्स्येन्द्रनाथको मन्दिर परिसरमा कनक चैत्य महाविहार छ । किंवदन्तीले जन बाहा द्योःलाई इसापूर्व चौथो शताब्दीको मानेको छ । तर सो क्षेत्रमा रहेको मन्दिर भने वि.सं. १५०२ मा यक्ष मल्लले निर्माण गरेको काठमाडौं इन्जिनियरिङ कलेजले तयार पारेको जनबहाल क्षेत्रको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अहिले यो क्षेत्रलाई कसैले जनबहाल र कसैले मच्छिन्द्र बहाल भन्छन् । कतै जन बहा र जमाल बह जस्ता नामले पनि चिनिन्छ । यी सबै नामहरु जमलमा मूर्ति भेटिएको किंवदन्तीसँग जोड्ने गरिन्छ । जमल क्षेत्रका रैथानेले सेतो मत्स्येन्द्रनाथलाई जन बहा द्यः, जनम द्याः, लोकेश्वर वा करुणामय भन्छन् । आफ्नो क्षेत्रबाट जनबहा द्यः लगेको ठाउँ भएकोले त्यसैको अपभ्रंश भएर जनबहाल भएको शाक्य बताउँछन् । जमल र आसपासका रैथानेबाहेक अरुले त्यो क्षेत्रलाई मच्छिन्द्रबहाल भन्छन् ।

बहाल र बहिल बौद्ध महाविहारमा चल्ने प्रचलित नामहरु हुन् । इतिहासकारका अनुसार बहाल मूल रूपमा बौद्ध धार्मिक गतिविधिहरूको लागि तयार पारिएको ठाउँ हो । काठमाडौं इन्जिनियरिङ कलेजले तयार पारेको प्रतिवेदनमा वास्तुकार सुदर्शनराज तिवारीलाई उद्धृत गर्दै भनिएको छ ‘बहालहरू बौद्ध धर्मावलम्बीहरूका लागि धार्मिक शिक्षाका स्थानहरू थिए र त्यहाँका बौद्ध भिक्षुहरू र पुजारीहरूको निवासस्थान पनि हुन्थ्यो ।’ बहालमा संघ हुन्छन् भने बहिलमा प्रायः विविवत् त्यस्तो संघ हुँदैन । बहालभन्दा बहिल प्राचीन हो भन्ने अनुमान गरिन्छ ।

नेपालको इतिहास वर्णन गर्ने विभिन्न स्रोतहरु छन् । जसमध्ये गोपाल वंशावलीलाई अरू वंशावलीको तुलनामा बढी विश्वासिलो मानिन्छ । उक्त वंशावलीमा सेतो मत्स्येन्द्रनाथको स्थापना र यसको रथयात्राको विवरण समेटिएको छैन

१५ औं शताब्दीको सुरुका राजा जयस्थिति मल्लले लेखाएको मानिनेे गोपाल वंशावलीमा मच्छिन्द्रबहाल, जनबहाल र कनक चैत्य महाविहारको विषय उल्लेख नहुनुले यसको महत्व सो समयपछि मात्रै बढ्दै गएको अनुमान गरिएको छ ।

इतिहासकार धनबज्र बज्राचार्यले राजा यक्ष मल्लको पालामा लेखिएको एउटा हस्तलिखित ग्रन्थको आधारमा यो विहार कोलीयग्रामको जगग्रन्थी विहार हुनुपर्ने मान्यता राखेका छन् । जगग्रन्थी विहारबाटै आजभोलि जनबाहाः भन्ने गरिएको हुन सक्ने अनुमान पनि स्थानीय बुद्धिजीवीहरुको छ ।

कतिपय वंशावलीले चैत्य लिच्छवि राजा शंंकरदेव वा गुणकामदेवमध्ये एकले बनाएको दाबी गरेका छन् । कुनै वंशावलीहरुले चैत्यको स्थापना हरिदत्त बर्माको समयमा भएको समेत उल्लेख गरेका छन् ।

भाषा वंशावलीले लिच्छवि राजा शंकरदेवले हालको इन्द्रचोक क्षेत्रमा पूर्णवती बस्ती बसालेको उल्लेख गरेका छन् । बौद्ध आचार्यहरुसँग सल्लाह लिएर उनले पूणर्ावती शहरमा श्वेत लोकेश्वरको मूर्ति स्थापना गरेको कुरा वंशावलीमा उल्लेख छ । तर यी विवरणको पुरातात्विक प्रमाण भने पाइएको छैन ।

जमलसँग जोडिएको मच्छिन्द्र बहालको साइनो

सेतो मत्स्येन्द्रनाथका पुजारी शाक्य मच्छिन्द्रबहालको सम्बन्ध हालको जमल क्षेत्रसँग रहेको बताउँछन् । जहाँबाट सेतो मत्स्येन्द्रनाथलाई जनबहालमा ल्याएर प्रतिस्थापन गरिएको थियो ।

इन्द्रचोकबाट असनतर्फको आधाबाटो पार गरेपछि पुगिन्छ, कनक चैत्य महाविहार । यो उपत्यकाका १८ महत्वपूर्ण महाविहार र बहालमध्येको एक हो । जुन शाक्य र बज्राचार्यहरुको पूजासँग सम्बन्धित छ ।

कनक चैत्य महाविहारको स्थापना कनकमुनि बुद्धले गरेको भन्ने स्थानीयको विश्वास छ । तिनै बुद्धको नामबाट चैत्यको नामाकरण गरिएको विश्वास रहेको शाक्य बताउँछन् ।
तर यो बहालको स्थापना सम्बन्धमा किंवदन्तीहरु भने आ-आफ्नै किसिमका छन् । यो महाविहार शंकराचार्यको नेपाल आगमनको समयभन्दा अघिको भन्ने किंवदन्ती रहेको शाक्य बताउँछन् । शंकराचार्य नेपाल आएको विषयमा पनि प्रामाणिक इतिहास नभेटेपनि आठौंदेखि ११ औं शताब्दीको बीचमा कुनै समय उनी नेपाल आएको भन्ने मान्यता राखिन्छ ।

सेतो मत्स्येन्द्रनाथ तानिँदै । तस्वीर : अनलाइनखबर फाइल ।

एउटा किंवदन्ती अनुसार कुनै समय नेपाल अशान्ति र समस्याले व्याप्त थियो । विभिन्न महामारीले राजामा बेचैनी बढाइरहेको थियो । कसैले राजालाई सपनामा जमलबाट सेतो मत्स्येन्द्रनाथलाई कनकचैत्य महाविहार रहेको ठाउँमा लगेर प्रतिस्थापन गर्न सके समस्या समाधान हुने सुझाव दिए । त्यतिबेलासम्म मत्स्येन्द्रनाथको मूर्ति भेटिएको थिएन ।

जमल क्षेत्र त्यतिबेला घना जंगल थियो । बिस्तारै आवादीको लागि खन्ने क्रममा एउटा किसानले मूर्ति भेटे । माटोमुनि पुरिएको उक्त मूर्ति कहाँ प्रतिस्थापन गर्ने ? भनेर राजाकहाँ जाहेर गर्दा राजाले त्यो मूर्तिलाई सपनामा निर्देश भए बमोजिम कनक चैत्य महाविहारमा लगेर स्थापना गरे । सबैका दुःखहर्ता अवलोकितेश्वर सेतो मत्स्येन्द्रनाथलाई स्थापना गरेसँगै यो क्षेत्रलाई मच्छिन्द्र बहाल नामले चिन्न थालेको विश्वास गर्छन् सेतो मत्स्येन्द्रनाथका पुजारी शाक्य । त्यही समयदेखि नै वाषिर्क रथयात्राको उद्घाटन समेत भएको जानकारहरु बताउँछन् ।

अर्काे किंवदन्ती अनुसार परापूर्व कालमा सेतो मत्स्येन्द्रनाथलाई काठमाडौंबाट पश्चिमतर्फका एक राजाले आफ्नो राज्यमा लगे । तर राज्यसम्म पुर्‍याउन नसकेपछि गण्डकी किनारमा मूर्ति बेवारिसे छाडेर उनी दरबारमा पुगे । मूर्ति बेवारिसे छाडेर गएपछि ती राजाले राज्यमा अनेक समस्या देख्न थाले । पछि राजाले मत्स्येन्द्रनाथको मूर्तिलाई पुनः काठमाडौंमा ल्याएर एउटा खाडलमा पुरेेर फर्किए । सोही मूर्ति वर्षौँपछि यहाँका एक किसानले भेट्टाए भन्ने किंवदन्ती पनि पाइन्छ ।

हराएको मूर्ति फेरि स्थापना भएपछि स्थानीयवासीले हर्षोल्लासका साथ रथयात्रा सुरु गरे भन्ने विश्वास छ ।

मूर्ति सारेकै दिन रथयात्रा सुरु हुने विश्वास

सेतो मत्स्येन्द्रनाथको रथयात्रा चैत्र शुक्ल अष्टमीको दिनदेखि सुरु हुन्छ । सोही दिन जमल क्षेत्रका किसानले करुणामयको मूर्ति भेटर जनबहाल पठाएको सम्झनामा रथयात्रा सुरु गरेको स्थानीयको विश्वास छ ।

नेवारी चन्द्रमासको चौलाथ्व महिनामा पर्ने यो जात्रामा जनबहालबाट खटमा राखेर लगिएको करुणामयको मूर्तिलाई जनबहालबाट तीनधारा संस्कृत छात्रावास बाहिर निर्माण गरिने रथमा राखिन्छ ।

तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रा रत्नपार्क, भोटाहिटी, असन, जनबहाल, हनुमान ढोका, मरुटोल, जैशिदेवल हुँदै लगन टोलसम्म पुर्‍याउने गरिन्छ । जसमध्ये पहिलोदिन तीनधाराबाट असनसम्म, दोस्रोदिन असनबाट हनुमानढोकासम्म, तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म र चौथो दिन लगनबाट जनबहालसम्म पुर्‍याउने चलन छ ।

पहिले काठमाडौं क्षेत्रलाई थाने (माथिल्लो काठमाडौं) र कोने (तल्लो काठमाडौं)को रुपमा दुई भेगमा विभाजन गरिन्थ्यो । पहिलो दिन असन ल्याइपुर्‍याएर याः न्यात गरेपछि थानेका स्थानीयहरु दर्शन गर्न आउँछन् ।

दोस्रो दिन असनबाट केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका दरबार क्षेत्रको अघि रहेको कालभैरवको सम्मुखमा उभ्याइन्छ । मल्लकालमा हनुमानढोका दरबार क्षेत्रमा पुर्‍याएपछि राजाले रथको अवलोकन गर्ने चलन थियो ।

तेस्रो दिन रथ कोने क्षेत्रतिर लगिन्छ । लगनमा पुगेपछि त्यहाँ एक रात राखेर जनबहालको लागि रथ फिर्ता गर्ने गरिन्छ । लगनमा रहेको करुणामयको मन्दिरबाट लोकेश्वरको मूर्ति फिर्ता लगिन्छ ।

सुनको बत्ती चढाउँदा विपत्ति हट्छ भन्ने विश्वास

कोरोना महामारीका कारण काठमाडौं उपत्यकाका अधिकांश मन्दिरहरु बन्द भए । तर सेतो मच्छिन्द्रनाथ मन्दिरमा भने फाट्टफुट्ट भक्तजन आउने क्रम चलिरहृयो ।

विपत्तिका देवता सेतो मत्स्येन्द्रनाथलाई सुनको बत्ती चढाउँदा विपत्ति नास हुने विश्वासका कारण कोरोना महामारीमा समेत बत्ती चढाउन भक्तजनहरु आएको पुजारी शाक्य बताउँछन् ।

विपत्ति नष्ट हुने विश्वास रहेको सुनको बत्ती के हो त ? मन्दिरका अर्का पुजारी अशोक मुनि बज्राचार्य भन्छन् ‘मन्दिरभित्र २ वटा सुनका दियोहरु छन् । त्यसमा जसको नामबाट बत्ती चढायो उसलाई कुनै विपत्तिले समात्न सक्दैन भन्ने विश्वास छ ।’ कतिपय चिनियाँहरुले त त्यो बत्ती हेर्नमात्रै पाए पनि आफूलाई धन्य सम्झने गरेको बज्राचार्य बताउँछन् ।

१०० वर्षपछि पुरानै आकार पाएको आगम छेँ

कनक चैत्य महाविहारको सम्मुखमा गोप्य तान्त्रिक विधिबाट पूजा गर्ने आगम घर छ । कनक चैत्य महाविहार जत्तिकै पुरानो इतिहास रहेको मानिने आगमघरको संरचना भने २०७२ सालको भूकम्पपछि बनाइएको हो ।

तीन तल्लाको आगमघरको दोस्रो तल्लामा विमान झ्याल छ, दायाँबायाँ टिकी झ्याल । झट्ट हेर्दा यो घर मध्यकालीन समयको नेपाली घरको आकारसँग मिल्दोजुल्दो छ ।

आगम घर वि.सं. १९७४ सालमा भएको आगलागीबाट ध्वस्त हुन पुग्यो । तीन तलाको आगमघर पुरानो शैलीमा पुनर्निर्माण हुन सकेन ।

१९९० सालको भूकम्पमा पूर्ण क्षति भएपछि राणा प्रधानमन्त्री जुद्ध शमशेरको निर्देशनमा आगम घरको पुनर्निर्माण गरियो । तर पुरानो शैली बिर्सिएर यसलाई बि्रटिस शैली पुनर्निर्माण गरियो।

तर पुजारी शाक्यकै पहलमा पुरानो तस्वीरको आधारमा आगमघरलाई १०० वर्ष पुरानो वास्तुशैलीमा पुनर्निर्माण गरिएको पुजारी अशोक मुनि बज्राचार्य बताउँछन् ।

यहाँ शाक्य र बज्राचार्यहरुको गोप्य पूजा हुने भए पनि दीक्षा नपाएका सोही सम्प्रदायका व्यक्तिहरुले समेत त्यहाँ प्रवेश पाउँदैनन् ।

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुदर्शन अर्याल

ट्रेन्डिङ

Advertisment