Comments Add Comment

खास के छ विद्या बालनमा ?

अक्सर सिनेमामा हिरोइनको भूमिका यसकारण थपना गरिन्छ, जसले हिरोको चरित्रलाई सशक्त बनाउन सकियोस् । पुरुषको ‘हिरोइज्म’मा टेको लगाउन हिरोइन खडा गरिन्छ । हिरोइनलाई ग्ल्यामर छविमा पेस गरिन्छ, मानौं उनीहरु जतनसाथ राखिएका सजावटका सामग्री हुन् । उनीहरुलाई पहिर्‍याइदिने पहिरन, मेकअप र फ्रेममा देखाइने तरिकाबाट नै यो कुरा पुष्टि हुन्छ ।

यसै सन्दर्भमा बीबीसीले विद्या बालनको फिल्मी यात्रासँगै उनले निर्वाह गरेको केन्द्रीय भूमिकामाथि विवेचना गरेको छ । त्यसैको भावनुवाद यहाँ प्रस्तुत छ ।

शेरनी बन्नुअघि

साडीमा सजिएरै विद्या बालन फिल्मको ‘हिरो’ बनिन् । आफ्नो चरित्रलाई जतिसक्दो स्वभाविक र दर्बिलो बनाउने यत्न गरिन् । त्यही प्रयासको प्रतिफल हो, परिणिता, कहानी, द डर्टी पिक्चर, मिसन मंगल र सकुन्तला देवी ।

यी सम्पूर्ण फिल्मको केन्द्रीय भूमिकामा छिन्, विद्या । नारी प्रधान फिल्म हुन् सबै । हरेक फिल्ममा उनले आफूलाई बेग्लै प्रकृति र प्रवृत्तिमा रुपान्तरण गरिन् । शक्तिशाली अभिनयको तागतमा दर्शकमाझ गहिरो छाप छाड्न सफल भइन् । जतिपनि उनका फिल्म आए, सफलताको एउटा दस्तावेज बनाइदियो ।

लगभग दुई दशकदेखि फिल्ममा अलग-अलग भूमिका निर्वाह गर्ने विद्या बालन भन्छिन्, ‘म त्यस्तो कथा र पात्रको चरित्र निर्वाह गर्छु, जसले मलाई सम्मोहन गर्छ ।’ उनलाई महिला प्रधान फिल्मको हिस्सा बन्नुमा कतिपनि आपत्ति छैन । किनभने उनलाई फिल्मको ‘हिरो’ बन्नुछ ।

परिणिताबाट यात्रा

विद्या बालनले ९० को दशकमा चर्चित हास्य शृंखला ‘हम पाँच’मा राधिकाको भूमिकाबाट अभिनय सुरु गरिन् । आमाबुबाको इच्छा अनुसार उच्च शिक्षाका लागि उनले केही समयका लागि विश्राम लिइन् । पढाइ सकिएपछि विद्याको यात्रा फिल्मतर्फ बढ्यो ।

दक्षिण भारतीय र बंगाली सिनेमामा काम गरेपछि प्रदीप सरकारको फिल्म ‘परिणिता’मा काम गरिन् । यही बिन्दुबाट उनको बलिउड यात्रा शुरू हुन्छ ।

शरद चन्द्र चट्ोपाध्यायका परिणिता उपन्यासमा आधारित यस फिल्म सन् २००५ मा सार्वजनिक भयो । फिल्ममा विद्या बालनलाई सञ्जय दत्त र सैफ अली खानसँग देखियो । पहिलो फिल्मलाई नै दर्शक र समीक्षकले औधि रुचाइदिए । सोही फिल्मबाट विद्याले डेब्यु अवार्ड पनि हात पारिन् ।

‘डर्टी पिक्चर’बाट फड्को
परिणिता फिल्मको सफलतापछि विद्या बालनले केही ठूलो प्रोजेक्टमा काम गरिन् । जस्तो कि, ‘भुलभुलैया’मा प्रेतको चरित्र, अमिताभ बच्चनको बहुचर्चित फिल्म ‘पा’मा चिकित्सकको भूमिका, विशाल भारद्वाजको फिल्म ‘इश्किया’मा कृष्णाको भूमिका, ‘लगे रहो मुन्ना भाइ’ मा जान्ह्वीको भूमिका ।

 

२०११ मा विद्या बालनको दुई फिल्म आयो । ‘नो वन किल्ड जेसिका’, जसमा उनको अभिनयलाई एकदमै रुचाइयो । वर्षको अन्तमा सिल्क स्मिताको जीवनमा आधारित फिल्म ‘डर्टी पिक्चर’ आयो, जसले बक्स अफिसको रेकर्ड तोड्यो र विद्या बालनलाई फिल्म उद्योगमा नयाँ मुकाम दिलायो । ‘डर्टी पिक्चर’बाट उनलाई राष्ट्रिय पुरस्कार पनि मिल्यो ।

‘डर्टी पिक्चर’ फिल्मका निर्देशक मिलन लुथरियाले यो फिल्म बनाउनुको कारण खुलाउँदै भनेका छन्, ‘म भावनात्मक रुपमा यसको कथासँग जोडिएको थिए । म महिला प्रधान फिल्म बनाउन चाहन्थेँ । यसकारण कि, मान्छेहरुले मलाई किन पुरुष प्रधान फिल्म मात्र बनाउनुहुन्छ भनेर प्रश्न गरिरहन्थे ।’

उनी भन्छन्, ‘कसैले पनि यो कथामा फिल्म बनाउन चाहँदैन’थे । मान्छेहरु भन्थे कि फिल्मको टाइटल नै झुर छ । फिल्मको कास्टिङ झुर छ । यो अश्लील फिल्म हो । यस फिल्मका लागि कसैले पनि हामीलाई प्रोत्साहित गरेनन् । सबैले भने यस्तो फिल्म नबनाउनू । तर, हामीले फिल्म बनायौं, जसमा मलाई एकदमै गर्व छ र अन्त्यमा यस फिल्मलाई तीन वटा राष्ट्रिय पुरस्कार पनि मिल्यो ।’

मिलन लुथरिया खुसी छन् कि ‘डर्टी पिक्चर’ फिल्मकै कारण विद्या बालन उनको जीवनमा आइन् । उनलाई लाग्छ, विद्या बालन महान कलाकार हुन्, चाहे बायोपिक फिल्ममा होस् वा काल्पनिक फिल्ममा नै ।

‘डर्टी पिक्चर’मा विद्या बालनको चरित्रमाथि फिल्म इतिहासकार एसएमएम औसजा भन्छन्, ‘डर्टी पिक्चरमा उनको उत्कृष्ट अभिनय थियो । एकदमै गाह्रो भूमिका थियो । त्यति जटिल र निडर भूमिका निर्वाह गर्न मुस्किल छ । कुनैपनि शीर्ष अभिनेत्रीका लागि यो भूमिका निभाउन सजिलो छैन । विद्याले जे गरिन्, त्यो असामान्य भूमिका थियो ।’

‘कहानी’

‘डर्टी पिक्चर’ फिल्मको केही महिनापछि सन् २०१२ मा विद्या बालनले सुजाय घोष निर्देशित फिल्म ‘कहानी’ खेलिन् । फिल्म एकदमै सफल भयो । दुवै फिल्मले ७०देखि ८० करोड भारु कमाइ गरे, जो कुनैपनि महिला प्रधान फिल्मको लागि एकदमै ठूलो कमाइ थियो ।

फिल्म इतिहासकार एमएमएम औसजा भन्छन्, डर्टी पिक्चर र कहानीमा उनको भूमिका एकदमै भिन्न थियो । दुवै फिल्मको भार उनको काँधमा थमाइएको थियो । उनलाई लाग्छ, विद्या बालनको लागि यो कुनै जुवा भन्दा कम थिएन । उनी असफल पनि हुन सक्थिन् । तर भाग्यशाली भइन् । उनी एकदमै प्रतिभाशाली हुन्, यसकारण कि उनले यी सबै काम कुशलतापूर्वक गरिन् ।

तुम्हारी सुलु

डर्टी पिक्चर र कहानीको सफलतापछि विद्या बालनको केही अरू फिल्म आयो । तर, ती फिल्म त्यति कमालका थिएनन्, जति उनीबाट अपेक्षा गरिन्थ्यो । ‘नो वन किल्ड जेसिका’का निर्देशक राजकुमार गुप्ताले फेरि एकपटक विद्या बालनसँग ‘घनचक्कर’ बनाए । यो फिल्मप्रति धेरै नै अपेक्षा थियो तर कमाल गर्न सकेनन् ।

यसका साथै ‘बबी जासुस’, ‘हमारी अधुरी कहानी’, ‘कहानी २’, ‘बेगम जान’ जस्ता महिला प्रधान फिल्ममा पनि विद्या बालन देखिइन् । तर, दर्शक यसका कथामा बाँधिएनन् ।

सन् २०१७ मा विद्या बालनको फिल्म ‘तुम्हारी सुलु’ आयो, जसमा उनको भूमिका मध्यम वर्गीय विवाहित महिलाको थियो । उनलाई रेडियो जक्कीको काम मिल्छ । यो सरल कथाले विद्या बालनलाई फेरि एकपटक दर्शकको आँखाको तारा बनाइदियो ।

फिल्म समीक्षकले पनि यस फिल्मलाई रुचाए । आफ्नो अभिनयको लागि विद्याले फिल्म फेयर अवार्ड जितिन् । फिल्मले करिब ३०-३५ करोड भारु कमाइ गरे ।

मिशन मंगल र शकुन्तला देवी

सन् २०१९ मा विद्या बालन र अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सार्वजनिक भयो, जसमा विद्याको कामलाई सह्राना मिल्यो । सन् २०२० मा कोरोना महामारीकै क्रममा उनको फिल्म ‘शकुन्तला देवी’ ओटिटी प्लेटर्फममा रिलिज भयो । यसमा पनि उनको अभिनयको प्रशंसा भयो । उनलाई फिल्म अवार्ड मिल्यो ।

शेरनी

केही समयअघि विद्या बालनको फिल्म ‘शेरनी’ ओटीटी प्लेटर्फममा सार्वजनिक भयो । फिल्म ‘न्युटन’का लागि राष्ट्रिय पुरस्कार पाइसकेका निर्देशक अमित मासुरकरको फिल्म शेरनीमा विद्या बालन एक महिला बन अधिकारी विद्या विन्सेट बनेकी छिन् ।

फिल्म समीक्षक भन्छन्, विद्या बालनको यो भूमिका उनको पछिल्लो फिल्मभन्दा निकै भिन्न छ । यसमा उनी स्त्रीपरक भेदभाव र कार्यालयमा हुने पक्षपातको सामना गर्छिन् । विद्याले एक नयाँ झलक यस फिल्ममा देखाइन् ।

खास के छ विद्या बालनमा ?

करिब दुई दशकको फिल्मी करियरमा विद्या बालनले केही महिला प्रधान फिल्म गरिन् र फिल्म उद्योगमा आफ्नो स्थान बनाइन् ।

फिल्म व्यापार विश्लेषक अतुल मोहन भन्छन्, ‘फिल्म उद्योग सधैंजसो पुरुष प्रधान रह्यो । तर, केही यस्ता अभिनेत्री छन् जसले आफ्नो अलग पहिचान बनाए । यसमा रेखा, हेमा मालिनी, वैजयन्तीमाला, श्रीदेवी, माधुरी दीक्षित जस्ता नाम सामेल छ । यिनीहरुको फिल्म जब प्रदर्शनमा आउँथ्यो, फिल्म हलहरु पूरा बुक हुन्थ्यो । यस्तै, मुकाम विद्या बालनले पनि बनाउने प्रयास गरेकी छिन् ।’

उनी भन्छन्, ‘परिणिता पछि कदम कदममा उनले राम्रो भूमिका निर्वाह गरिरहेकी छिन् । लगे रहो मुन्ना भाइ राजकुमार हिरानी र सञ्जय दत्तको फिल्म थियो । तर, त्यसमा विद्याको ‘गुड मर्निङ मुम्बई’ बोल्ने ढाँचा आज पनि मान्छेले रुचाउँछन् । नो वन किल्ड जेसिकामा उनले अपरम्परागत रुप अपनाए । गम्भीर सिनेमा भएर पनि यो हिट भयो ।

अतुल मोहन भन्छन कि आजको परिवेशमा यस्तो धारणा छ कि अभिनेत्री पातलो हुनुपर्छ । आधुनिक हुनुपर्छ । अंग्रेजी बोलचाल गर्ने हुनुपर्छ । तर, नूतनदेखि काजोलसम्मको जमानामा त्यस अभिनेत्री हाबी भए जो भारतीय देखिन्थे । विद्या बालन पनि सोही श्रेणीमा छिन् । विद्या बालन जब राम्रो कथाको हिस्सा बन्छिन्, तब उनलाई हेर्न दर्शक थिएटरमा जरुर जान्छन् । तुम्हारी सुलु यसैको उदाहरण हो ।

फिल्म इतिहासकार एसएमएम ओसजा भन्छन् कि विद्या बालन सोचविचार गर्ने अभिनेत्री हुन् । उनी स्क्रिप्ट हेरेर, सोच विचार गरेर फिल्ममा काम गर्छिन् । त्यही कारण उनको अभिनयमा निखार पनि देखिन्छ ।

उनी भन्छन्, ‘उनले केही झुर फिल्म पनि गरिन् । तर, त्यसको कारण के भने त्यसबेला उनी यति लोकपि्रय भएकी थिइन् कि जस्तो फिल्म पाएपनि चल्छ भन्ने मानसिकता भयो । तर, पछि उनले यस्तो फिल्म मात्र छनोट गरिन्, जसमा उनले आफ्नो रचनात्मक क्षमता देखाउन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment