Comments Add Comment

पहिरोले घर भत्किंदा तनहुँमा दुईको मृत्‍यु, सातजना घाइते

१७ असार, तनहुँ ।अविरल वर्षासँगै आएको पहिराेले घर पुरिंदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा सात जना घाइते भएका छन् ।
बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पहिराेमा परी बन्दीपुर-३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको मृत्यु भएको छ ।

भिमाद नगरपालिका-५ मा पहिराेले घर भत्किंदा ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहरुको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ । घर भत्किंदा रु ५ लाख बराबरको क्षति भएको छ ।

शुक्लागण्डकी नगरपालिका-९ सिम्लेमा पहिराले घर पुरिँदा ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान घाइते भएका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

यसैगरी भिमाद –७ पट्नेरीमा माटाको ढिस्को खसेर पहिरो जाँदा मनिषा परियारकाे घरमा क्षति पुगेको छ । पहिराेबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिराेका कारण रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–१ चिसापानीमा पहिरोले राजु खड्गीको एक तल्लो गारो लगाएको घर भत्किंदा रु ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै शुक्लागण्डकी–९ सिम्लेमा टेकबहादुर महतको गोठ भत्किँदा गोठमा रहेका दश बाख्रा र एक भैंसी मरेका छन् । प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले पहिराेबाट थप क्षतिको विवरण नआइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment