Comments Add Comment

असारे भाका र झरीको गीत 

एकनासले दर्के झरी परिरहेको बखत । पानीको बूँद भुइँमा तप्किंदा आउने आवाज, भर्खरै गोडमेल गरेको बारीबाट आउने माटोको सुगन्ध, बलेसीमा उठ्दै-फुट्दै गर्ने पानीको फोका । यतिबेला सिकुवामा बसेर बाफ उठ्दै गरेको तात्तातो चियासँग भुटेको मकै चपाउँदा पृष्ठभूमिमा कस्तो गीत घन्किएको कल्पना गर्नुहुन्छ ?

‘असारे महिनैमा पानी पर्‍यो रुझाउने

एक्लो यो मेरो मन कसरी बुझाउने

भन्थिन् है मच्याङले रुँदै धरर

नौडाँडा पारि छ, कम्पनी शहर

यो प्रेम-विरहको भाका भयो । आफ्नो थातथलोबाट परदेशिएका युवाको प्रेमिल-वेदना । तर, झरीले  दुःख र विरहको भाव मात्र पैदा गर्दैन । सर्जकहरुले झरीलाई कहिले दुःखको, कहिले रोमान्सको बिम्व बनाएका छन् । दर्के झरीले रोमान्टिक मूड पनि बनाइदिन्छ ।

बेपत्तासँग झरी परिरहेको बखत । बार्दलीमा बसेर तात्तातो कफी घुट्काइरहेको बेला आसपासका दृश्यहरु अरु मादक लाग्छ । रंगीबिरंगी छातामा ओत लागेका मान्छेहरु, पानीमा निथ्रुक्क भिजेका नवयौवनाहरु, डाँडामाथि उड्दै गरेका सेता बादलका टुक्राहरु । हावाको झोंकासँगै बत्तिएर आएको पानीका छिटाले स्पर्श गरिरहँदा पृष्ठभूमिमा कस्तो गीत बजेको रुचाउनुहुन्छ ?

‘ए झरी

नझरिदेउ यसरी

एकान्त यो रातमा, मलाई पागल गरी

झरिदेउ तिमी सुस्तरी सुस्तरी

जब हुन्छिन् मेरी मायालु मेरै वरिपरि ….।’

झरीले मान्छेको मनमा अनेकन् भाव पैदा गर्छ । कहिले यो विरहको शोकधुन जस्तै सुनिन्छ, कहिले मस्त बैंसको प्रेमिल भाका । परिस्थिति र मनस्थितिबीच तालमेल मिलाइदिन्छ, झरीले । कवि-सर्जकका लागि झरी एक बिम्ब हो, पात्रको मनोभाव चित्रण गर्ने । झरीसँग जोडिएर आउने यस्तै भावहरुलाई गीतमा गाइएको छ । थुप्रै गीत छन्, झरीका ।

‘पानीको रिमझिम वर्षाको बेला

धित मारेर किन रुझेकी

मध्य बर्खाले छोपिसकेको छ । खेतीकिसानीका लागि सर्वोत्तम याम । बाली लगाउने, गोडमेल गर्ने, बोटबिरुवा रोप्ने चटारोले छोप्छ, किसानलाई । भनिन्छ, मानो खाएर मुरी उब्जाउने बेला हो यो ।

असारे महीना आफैमा रसिक पनि हुन्छ । मेलापातमा होस् वा पर्मामा, दौंतरीसँग छिल्लिंदै, गीत गाउँदै रमाइलो गर्ने मूड बन्छ । खासगरी खेतीकिसानीमा एकअर्कालाई हौसला दिने, रौस थप्ने कुरा त्यही गीत मार्फत गरिन्छ । बर्खा-झरी, हिलो-माटोसँग अभिन्न साइनो जोड्दै आफ्नो कर्मलाई उल्लासमय बनाउँछन् ।

खेतका गह्रा-गह्रामा हिलाम्मे भएर, हलगोरु जोत्दै, दलदल माटोमा छुपुछुपु धान रोप्दै, बाउसे र रोपाहारहरु आफ्ना दौंतरीसँग छिल्लिंदै गर्दा कस्तो भाका हाल्न मन पराउनुहुन्छ ?

‘रोप न रोप रोपाहारै नानी म पँज्याइदिउँला बिउ

हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घिउ ।’

झरीको एकोहोरो ध्वनिमा लय मिलाउँदै गाइने गीतमा पनि विविधता छ, भूगोल अनुसार । पूर्वी भेगमा गाइने असारे गीत र पश्चिममा गाइने गीतमा एकरुपता हुन्न । असारे गीतलाई पूर्वमा रसिया भनिन्छ, पश्चिममा काँठेभाका । यद्यपि लामो लेग्रो तानेर गाउने शैली भने सबैतिर उस्तै हुन्छ ।

‘न बाहिर बोक्रो न भित्र खोक्रो पाकेछ कसार

खेतका गरा डप्किन थाले लागेछ असार…।’

रोपाइँको रौनक हुन्छ यतिबेला । उहिले-उहिले रोपाइँमा बाजागाजाको समेत व्यवस्था हुन्थे । पञ्चेबाजा घन्काएर असारे भाका हाल्दै कोही हल गोरु जोत्ने, कोही आली ताछ्ने । बाउसे, ब्याडे, रोपाहारे । रोपाइँको रौनक सम्झनलायक हुने । तर, अहिले यस्तो प्रचलन हराउँदैछ ।

‘असारै खाउँला दुधिलो मकै, साउने खाउँला खीर

घरमा छैन शीतलु वचन, मनमा छैन स्थिर….।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment