Comments Add Comment

युरोकप क्वार्टरफाइनलमा चेक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्दै

१९ असार, काठमाडौं । युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ । चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ ।

यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन् । चेक रिपव्लिकले अन्तिम १६ मा नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने डेनर्माकले वेल्सलाई ४-० ले पराजित गरेको थियो ।

चेक र डेनमार्क दुवै युरोकपको पूर्वविजेता टोली हुन् । दुवैलाई यस पटक अन्डर डगको रुपमा हेरिएको छ । यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्याण्ड र युक्रेनबीचको विजेतासंग खेल्नेछ ।

चेकोस्लोभाकियासँग अलग नहुँनै चेकले १९७६ मा युरोकप उपाधि जितेको थियो । त्यसपछि चेक रिपब्लिकको नामबाट युरोप कप खेल्न थालेकामा १९९६ मा उपविजेता बनेको थियो भने २००४ मा सेमिफाइनल पुगेको थियो ।

डेनमार्कले भने १९९२ मा उपाधि जितेको थियो । त्यसयता २००४ मा क्वार्टरफाइनल खेलेको डेनमार्क १७ वर्षपछि पहिलो पटक क्वार्टरफाइनल खेल्दैछ । संयोगवश २००४ को क्वार्टरफाइनल डेनमार्क चेकसंग पराजित भएको थियो ।

यस पटक डेनमार्कलाई त्यस हारको बदला लिने अवसरसमेत छ ।

यी दुई टोलीबीचको इतिहास हेर्ने भने चेकको पक्षमा छ । अहिलेसम्म २६ खेल हुँदा चेक रिपव्लिकले १३ खेल जितेको छ । डेनमार्कले २ खेल मात्र जित्दा ११ खेल बराबरीमा सकिएको थियो ।

यस्तै अर्को खेलमा अर्को अन्डर डग टोली युक्रेनले इंग्ल्याण्डसंग खेल्नेछ । इंग्ल्याण्डले अन्तिम १६ मा ३ पटकको विजेता जर्मनीलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । युक्रेनले स्वीडेनलाई २-१ ले हराएको थियो ।

चालु युरोकपमा इंग्ल्याण्डले अहिलेसम्मको चार खेल घरेलु मैदान वेम्बलीमा खेलेको छ । क्वार्टरफाइनलको यो खेलमा इंग्ल्याण्ड पहिलो पटक घर बाहिर अर्थात रोममा खेल्दैछ । यस खेल जितेमा इंग्ल्याण्डले बाँकी खेल वेम्बलीमै खेल्नेछ ।

पूर्व खेलाडी आन्द्रे सेभचेन्कोको प्रशिक्षणमा गज्जबको प्रदर्शन गरिरहेको युक्रेन पहिलो पटक क्वार्टरफाइनल पुगेको हो । इंग्ल्याण्ड २०१२ यता पहिलो पटक क्वार्टरफाइनल खेल्दैछ र २५ वर्षपछि सेमिफाइनल पुग्ने लक्ष्यमा छ । सन् १९९६ मा जर्मनीसंग सेमिफाइनलमा पराजित हुँदा पेनाल्टी गुमाएका गारेथ साउथगेट अहिले इंग्लिस टोलीको प्रशिक्षक छन् ।

इंग्ल्याण्डको लागि यो पटक फाइनल पुग्ने राम्रो अवसर रहेको फुटबल पण्डितहरुले बताएका छन् ।

इंग्ल्याण्डले जर्मनीलाई पराजित गरेपछि सहजै फाइनल पुग्ने धेरैको अपेक्षा छ । तर युक्रेन पनि अप्रत्यासित नतिजा निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

इतिहास हेर्ने हो भने इंग्ल्याण्ड हावी छ । अहिलेसम्म ७ खेल हुँदा इंग्ल्याण्डले ४ खेल जितेको छ भने युक्रेनले १ खेल मात्र जितेको छ । २ खेल बराबरीमा सकिएको थियो । यसअघि सन् २०१२ को युरोकपमा यी दुई टोली भिड्दा इंग्ल्याण्ड १-० ले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment