
२० असार, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पुनः बढ्न थालेको छ । रुसको सरकारले दिएको जानकारीअनुसार डेल्टा भेरियन्टको संक्रमणको कारण रुसमा कोरोनाको संक्रमण पुनः बढ्न थालेको हो । शनिबार रुसमा कोरोना संक्रमणको कारण ६९७ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार मृत्यु हुनेको संख्या ६७९ थियो ।
रुसको कोरोना भाइरस टास्क फोर्सले दिएको जानकारीअनुसार शनिबार २४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । दैनिक नयाँ संक्रमितको यो संख्या गत जनवरीयताकै सबैभन्दा धेरै हो । अघिल्लो दिनको तुलनामा भने नयाँ संक्रमितको संख्या १२ सयले धेरै हो ।
अधिकारीहरुले कोरोना संक्रमण बढिरहेको भन्दै खोप अभियानलाई तीव्रता दिन आग्रह गरेका छन् । उनीहरुले अहिले बढिरहेको संक्रमणको कारण आगामी दिनमा झन् खराब अवस्था आउन सक्ने चेतावनी दिएका छन् । उनीहरुले समयमा नै अस्पतालमा बेडको संख्या बढाउनुपर्ने बताएका छन् । यद्यपि रुसको सरकारले लकडाउनबाट बच्न सबै किसिमको प्रयास गर्ने बताएको छ । अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने भन्दै रुसले लकडाउन नगर्ने बताएको हो ।
स्थानीय सञ्चारमाध्यममा बताइएअनुसार रुसको खोप अभियान पनि निकै सुस्तगतिमा चलिरहेको छ । अहिले रुसमा कोरोना खोपको अभाव छैन तर मानिसहरु खोप लगाउन चाहँदैनन् । एक करोड २५ लाखको बसोबास रहेको मस्को सहरमा अहिलेसम्म केवल करीब २६ लाखले मात्र कोरोनाको कम्तीमा एक डोज लगाएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4