Comments Add Comment

मनाङ छाडेर च्यासलमा अनुबन्ध भए कमल श्रेष्ठ, मासिक १ लाख २५ हजार पारिश्रमिक

फाइल तस्वीर : फुटबल खेलाडी कमल श्रेष्ठ

२० असार, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठ नयाँ सिजनको ए डिभिजन लिगका लागि महँगो रकममा च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् ।

गत सिजन मनाङका अधिकांश खेलाडी मछिन्द्र क्लबमा लाग्दा कमलले मनाङको कप्तानी गरेका थिए । तर आगामी असोजमा शुरु हुने तयारीमा रहेको ए डिभिजन लिगका लागि भने कमलले च्यासल रोजे । उनी मासिक १ लाख २५ हजारमा च्यासलमा अनुबन्ध भएका हुन् ।

कमलले च्यासलको योजना राम्रो लागेको र पहिलादेखि कुरा भइरहेकाले यसपटक च्यासलमा गएको अनलाइनखबरलाई बताए ।

‘च्यासलसँग २–३ वर्षदेखि कुरा भइरहेको थियो । यो पटक उहाँहरुको योजना पनि राम्रो लाग्यो । म मनाङको कप्तानी गरिसकेको भएर मैले प्रस्ताव गरे अनुसार नै उहाँहरुले मान्नुभयो त्यसैले च्यासलमा गएको हुँ,’ कमलले भने ।

जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीबाट खेलेका कमलले त्यो भन्दा केही बढाएर पारिश्रमिक माग्दा च्यासल तयार भएकाले आफूले पनि सम्झौता गरेको बताए । ‘मैले भने अनुसार नै रकममा सम्झौता भयो,’ उनले भने ।

घरेलु फुटबलमा खेलाडीहरुको सम्झौता रकम खासै खुलाइँदैन । तर कमलले भने आफ्नो सम्झौताको रकम खुलाएका छन् । किन त ? उनी भन्छन्, ‘कति मान्छेहरुलाई मैले खेल्छु भन्ने थाहा छैन अनि खेलेर पनि के हुन्छ र भन्ने खालका छन् । त्यही भएर यो रकम खुलाउँदा खेलेर पनि केही हुने रहेछ भन्ने सन्देश जाओस् भनेर खुलाएको हुँ ।’

कमलले च्यासलमा ए डिभिजन लिगभरका लागि सम्झौता गरेको बताए । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगसँगै राष्ट्रिय लिग र मोफसलका प्रतियोगिता पनि गर्ने तयारी गरिरहेको छ । तर च्यासलले राष्ट्रिय लिग भने खेल्ने छैन । ‘अहिले लिगभरका लागि सम्झौता भएको छ ।’

ब्वाइज युनियन क्लबबाट ए डिभिजन लिग खेल्न थालेका कमलले मनाङका लागि ५ वर्ष खेले ।

नयाँ सिजनका लागि अहिले क्लबहरुले आन्तरिक रुपमा तयारी गरिरहेका छन् । च्यासलले पनि कमललाई भित्र्याउँदै लिगका लागि तयारी थालेको संकेत दिएको छ ।

यो पनि पढ्नुहोस कमालका कमल : नयाँ लुक्सको मनाङ हाँक्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment