Comments Add Comment

टोकियो ओलम्पिक: पौडी खेलाडी एलेक्स र प्रशिक्षक शंकर जापान प्रस्थान

२१ असार, काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी एलेक्जेन्डर शाह(एलेक्स)  र प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गरेका छन् ।

यही जुलाई २३ देखि सुरु हुने गृष्मकालीन ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अर्का खेलाडी गौरीका सिंह भने बेलायतबाट सिधै जापान जाने नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

एलेक्स र प्रशिक्षक शंकर भने आज जापान प्रस्थान गरेका हुन् ।

जापान पुगेपछि नेपाली पौडी टोलीले करीब दुई साता टोकुशिमा प्रिफेक्चरमा विशेष तयारी गर्ने छन् । त्यसका लागि ओलम्पिक कमिटीले यसअघि नै टोकुशिमा प्रान्तसँग सम्झौता गरिसकेको छ । सम्झौता अनुसार ओलम्पिक तयारीका लागि विभिन्‍न ‘प्रि-ट्रेनिङ क्याम्प’हरु सञ्चालन हुनेछ ।

त्यसपछि नेपाली पौडी टोली टोकियो २०२० ओलम्पिकमा सहभागी हुन जुलाई २०मा ओलम्पिक भिलेजमा सहभागी हुने ओलम्पिक कमिटीले जनाएको छ ।

एलेक्स र गौरीका दुवैजनाले टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक शंकर कार्कीले बताए । दुवै खेलाडीको नाममा अहिले राष्ट्रिय कीर्तिमान छ । दुवैको लक्ष्य व्यक्तिगत टाइमिङ र राष्ट्रिय कीर्तिमान सुधार गर्नु रहेको छ ।

यसअघि गौरीकाले १३औं सागमा १०० मिटर फ्रिस्टायलमा ५८:१३ सेकेण्डमा दूरी पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । यस्तै एलेक्स शाहले १३औ सागमै ५४:१३ सेकेण्डको कीर्तिमान बनाएका थिए । गौरीकाले २०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ४ स्वर्ण जितेकी थिइन् ।

पुरुष १०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धा जुलाई २७ र महिलातर्फको जुलाई २८ देखि सुरु हुनेछ ।

गौरीकाले २०१६ मा भएको रियो ओलम्पिकमा भने १०० मिटर ब्यास्ट्रोकमा प्रतिस्पर्धा गरेकी थिइन् । १३ वर्षमै ओलम्पिक खेलेकी गौरीका रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

विश्व खेलकुदकै सबैभन्दा ठूलो मेला टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ ।

टोकियो ओलम्पिकमा एलेक्स र गौरीकासँगै सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीले पनि नेपालको प्रतिनिधित्व गर्ने छन् ।
पौडी र एथ्लेटिक्सबाट अनिवार्य कोटा अन्तर्गत नेपाली खेलाडीले सहभागिता जनाउन लागेका हुन् भने सुटिङकी कल्पना र जुडोका सोनिया भट्ट वाइल्ड कार्ड मार्फत ओलम्पिका लागि छनोट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment