
२१ असार, वीरगञ्ज । मानो रोपेर मुरी फलाउने दिन, असार १५ गते पर्साको जीराभवानी गाउँपालिका–१ पिप्राकी लालमतिदेवी थरुनी खाना खाएर सुतिन् । श्रीमान कामको सिलसिलामा चितवनको नारायणघाटमा बस्छन् । उनी हार्डवेयर पसलमा काम गर्छन् । घरमा १० र ६ वर्षका छोराहरु मात्रै छन् । असार १६ गते बिहान उनले कल्पना समेत नगरेको विपत्ति आइलाग्यो । रातभर भएको वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढीको पानी घरतिर आयो ।
‘आँखा खुल्दा त घरभित्र पानी पानी थियो । बाहिर पनि पानी नै रहेछ । राति कहाँ जाने ? भन्ने भयो, खाटमाथि जोगिएर बस्यौं,’ उनले भनिन्, ‘बिहान स्थानीय र सशस्त्र प्रहरी आएर उद्धार गरे, घरमा भएको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा धेरै त बगाएर लगिसकेको थियो ।’
जमिन अर्कैको भए पनि टायलको छानो, गाह्रो सिमेन्टको भएको ठिकैको घर थियो । वर्षा रोकिएपछि खोलाको पानी घटे पनि घर बस्न नमिल्ने गरी भत्किएको छ । लालमति र छोराहरु आफन्तको घरमा बसेका छन् ।
‘आफू त जस्तो ठाउँमा पनि बसिन्छ, बालबच्चाको पो विजोग भो,’ लालमतिले भनिन्, ‘घडेरी त छ तर भन्ने वित्तिकै घर बनाउन सकिँदैन । अब के गर्ने भन्ने चिन्ताले सताएको छ ।’
आफन्तले दिएको एउटा कोठामा खाने बस्ने गर्दै आएकी उनले घर बनाउन कतैबाट सहयोग पाए सजिलो हुने बताइन् । मजदुरी गर्दै आएका श्रीमान आउन पनि सकेका छैनन् ।
असार १५ मा रातभर परेको पानीले लाटेगाँडा खोलामा बाढी आउँदा जीराभवानी–१ पिपरामा १२ परिवार प्रभावित भए । चार परिवार त विस्थापित नै भएका छन् । बाढी गाउँमा पस्दा स्थानीय शंकर दास, किशुन महतो, जंगाली राय, खिचड़ी महतो, शिवशंकर दास लगायतको घर डुब्यो । राजकुमार दास, ब्रहमदेव, दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर बाढीले भत्काइदियो ।
बाढीबाट प्रभावित हरिकिशोर शर्मा गाउँमा कोठा खोज्दै हिँडिरहेका छन् । वर्षायाम नसकिएकाले बुवा, श्रीमती र तीन सन्तानलाई सुरक्षित स्थानमा राख्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ ।
‘फुसको घर थियो, लाटेगाँडा खोलामा आएको बाढीले भत्काइदियो,’ उनले भने, ‘अहिले राहतमा मिलेको त्रिपाल टाँगेर बसेका छौं, गाउँमा कतै कोठा पाइन्छ कि भनेर खोजी गर्दै हिँडेको छु ।’
बाढीले प्रभावितलाई वडा कार्यालय लगायत विभिन्न संघसंस्थाले राहत सामग्री त दिएका छन्, तर दुःख गरेर बनाएको घर नै बाढीले भत्काएपछि उनीहरु पीडामा छन् । घरमा पानी पसेका आठ परिवारको पनि विजोग नै रहेको स्थानीय बताउँछन् ।
लाटेगाँडा खोला भवानीपुर र पुरानो पिप्रा गाउँ हुँदै बग्ने गरेको थियो । २०५४ सालमा आएको बाढी गाउँमा पस्यो । गाउँका आधाभन्दा बढी मानिस विस्थापित भए । उनीहरु नयाँ पिप्रा, शान्तिटोल, काठमाण्डुटोलतिर सरे । खोलाको क्षेत्र थुनिदिएका कारण बाटो खोज्दै खोला पुनः बस्तीतिरै सोझिएको स्थानीय अगुवा जयचन्द्र दास चौधरी बताउँछन् ।
‘हिउँदमा त पानी हुँदैन, वर्षामा १५ किलोमिटर जंगल क्षेत्रको पानी लाटेगाँडा खोलामा आउँछ, खोलाको बाटो थुनिदिएका छन्,’ उनले भने ।
लाटेगाँडामा बाढी आएपछि बुधबार स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर तीन परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टीका सशस्त्र प्रहरी निरीक्षक केदार राईले बाढी आएको खबर राति नै पाएपछि १५ जनाको टोली पुगेर उद्धार गरिएको बताए ।
लाटेगाँडामा बाढी आएपछि त्यहाँका १२÷१५ घरपरिवारको विजोग हुने गरेको बताए । ‘पोखरीवाला मानिसले निकास दिने भनेकाले पोखरी खन्दा साँधका सीमानाका मानिसहरुले सरजिमिन गरिदिएका छन् । क्षतिको अनुमान स्थानीयले गर्न सकेनन्,’ उनले भने, ‘पानी पर्ने बित्तिकै १२/१५ घरको विजोग नै हुन्छ ।’
असार १५ मा बाढी आएपछि दुईवटा ट्याक्टरमा सामान ओसारेर तीन परिवारलाई सारेको उनी बताउँछन् । ‘स्कुलमा सार्ने कुरा थियो, तर उनीहरु त्यहाँ जान मानेनन् । एउटा परिवार त जानै मानेका थिएनन् । जाँदैनौं यहीं मर्छौं भन्दै थिए,’ उनले भने, ‘भंगालो तपाईंको घर छिरेको छ, सुरक्षाकर्मी आउँदा सामान सार्न मान्नुभएन भने आपत् पर्दा कोही हुँदैनन्, वल्लोघर पल्लो घर सबै गइसके, के छ कसो छ ? भनेर सोध्न आउने पनि कोही हुँदैनन् भनेर आधा घण्टा फकाएर सार्यौं ।’
प्रतिक्रिया 4