Comments Add Comment

एमालेमा एकता प्रयास : कार्यदल ब्यूँतियो

२१ असार, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको  कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको छ ।

भोलि १ बजे फेरि बैठक बस्ने कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । ‘आजबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको छ’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले भने, ‘पार्टीभित्रका समस्याहरुबारे पार्टीभित्रै गम्भीरताका साथ छलफल गर्ने र निकास खोज्ने छलफल भएको छ ।’

उनका अनुसार अनौपचारिक छलफलहरुमा धेरै विषयमा सहमति भएको छ भने नमिलेका विषयहरुमा मंगलबार बैठक बसेर छलफल हुनेछ ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच ३० वैशाख र त्यसपछि भएका भेटवार्ताहरुमा पार्टीलाई २ जेठ, २०७५ मा फर्काउने सहमति जुटेपछि २ जेठमा कार्यदल गठन भएको थियो । तर प्रतिनिधिसभा विघटन भएसँगै वार्ता बिथोलियो भने माधवकुमार नेपाल समूहका २६ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरे ।

त्यसको जवाफमा अध्यक्ष ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल, कार्यदलका संयोजक रावलसहित ११ नेतालाई १२ जेठमा पार्टीबाट निष्कासन गरेका थिए । त्यसयता दुई पक्षबीच अनौपचारिक संवाद भए पनि सहमति जुटेको छैन ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले १८ वैशाखमा केन्द्रीय कमिटीको बैठक राखेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएका थिए । तर नेपाल पक्ष त्यसमा सहमत छैन ।

अल्टिमेटम सकिएकै दिन पार्टी एकताका लागि गठन भएको कार्यदललाई फेरि सक्रिय बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment