Comments Add Comment

म्युजिक भिडियोमा निर्देशकको पारिश्रमिक कति ?

म्युजिक भिडियोमा काम गर्ने कलाकारको जती चर्चा हुन्छ, त्यसको तुलनामा निर्देशकको हुँदैन । कलाकारलाई अभियन सिकाउनेदेखि उनीहरुको करिअर नै परिवर्तन गर्न सक्ने खुबी राख्ने निर्देशकहरु सधै पर्दा पछाडि नै रमाइरहेका हुन्छन् । भिडियोमा काम गर्ने कलाकारले लाखौं रकम लिएको खबर सार्वजनिक भैरहँदा एउटा भिडियोको क्याप्टेनले के भिडियो निर्देशन गरेर जीवन अगाडि बढाउन सक्छन् त ?

म्युजिक भिडियोमा निर्देशकहरुले पाउने पारिश्रमिक के सन्तुष्ट हुने खालको छ त ? आखिर, भिडियोमा चलेका निर्देशकले कति पारिश्रमिक लिन्छन् त ? निर्देशकहरुको पारिश्रमिक आधुनिक र लोकदोहोरीमा थोरै भिन्नता देखिन्छ । लोकदोहोरीको तुलनामा आधुनिक गीतको भिडियो निर्देशन गर्दै आएका निर्देशकहरुले केही बढी पारिश्रमिक लिने गरेका छन् ।

अन्य गीतको भिडियो निर्देशन गरेपनि लोकदोहोरी गीतको भिडियोमा निकै चलेका निर्देशक शिव बि.क. आफ्नो पारिश्रमिक निश्चित नहुने बताउँछन् । उनले अनलाइनखबरसँग भने,–‘कुनै भिडियोमा प्याकेजमा काम हुन्छ । पारिश्रमिक लिएर गरिएको भिडियोमा पनि ठ्याक्कै यति भन्ने हुँदैन् । पारिश्रमिकको कुरा गर्दा म ३० देखि ५० हजार रुपैयाँसम्म लिएर काम गरिरहेको हुन्छु ।’

उनी म्युजिक भिडियोमा गरिने लगानी अनुसार पारिश्रमिक तोकिने बताउँछन् । ‘सामान्य लगानीमा, सामान्य कलाकारहरुका साथ भिडियो निर्माण हुँदैछ भने कम पारिश्रमिकमा पनि काम गर्नुपर्ने हुन्छ । केही महंङ्गो बजेटमा भिडियो निर्माण हुँदैछ भने पारिश्रमिक पनि महंगो नै लिन्छु’ – उनले सुनाए ।

लोकदोहोरी भिडियोमा चलेका निर्देशक प्रकाश भट्ट भने आफूले सबैसँगै एउटै पारिश्रमिक लिने बताउँछन् । यद्यपी उनी पारिश्रमिक खुलाउन चाहँदैनन् । उनी भन्छन्–‘म सबैसँग एउटै पारिश्रमिकमा काम गरिरहेको हुन्छु । ठ्याक्कै तोकेर त नभनौं होला ।’

पछिल्लो समय लोकदोहोरी गीतमा चलेका निर्देशक काजिश श्रेष्ठ पनि निर्देशकको पारिश्रमिक निश्चित नहुने बताउँछन् । उनी आफूले २० देखि ४० हजार रुपैयाँसम्म पारिश्रमिक लिएर काम गरिरहेको बताउँछन् । पारिश्रमिकमा कलाकारहरुसँगको सम्बन्धले भने अर्थ राख्ने उनी बताउँछन् ।

लोकदोहोरी भिडियो निर्देशनमा उदाउँदै गरेका निर्देशकहरु भने कम पारिश्रमिकमा काम गरिरहेका हुन्छन् । उनीहरु १० देखि २० हजार रुपैयाँमा काम गरिरहेको लगानीकर्ताहरु बताउँछन् ।

लोकदोहोरी भिडियो निर्देशकहरुले आधुनिक गीतको भिडियोको समेत निर्देशन गरिरहेका हुन्छन् । उनीहरु लोकदोहोरी र आधुनिक गीत निर्देशनको पारिश्रमिकमा खासै भिन्नता नगर्ने बताउँछन् । यद्यपी, आधुनिक गीतको निर्देशन गर्दै आएका निर्देशकहरुको पारिश्रमिक भने केही बढी हुने गरेको छ । आधुनिक गीतका निर्देशकहरु ४० देखि ७० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । आधुनिक गीतका लागि चलेका निर्देशक विधान कार्की आफूले ४० हजारदेखि ७० हजारसम्म पारिश्रमिक लिएर काम गर्ने गरेको बताए ।

‘अरुले कति लिनुहुन्छ, जानकारी हुने कुरा भएन । म ४०–५० हजारभन्दा कम पारिश्रमिकमा काम गर्दिनँ’ उनले सुनाए ‘निर्देशक धेरै खटिनुपर्छ । एउटा भिडियोका लागि ४–५ दिन पुरा खटिनुपर्छ । त्यसैले यति पारिश्रमिक खासै महंगो होइन ।’ उनी अधिकांश भिडियो प्याकेजमा काम हुने बताउँछन् । ‘प्याकेजमा काम हुँदा कुनै भिडियोबाट ४०–५० हजार कमाई हुन्छ । कहिलेकाही कुनै भिडियोबाट १ लाखसम्म बचाएको छु’–विधानले भने ।

आधुनिक गीतमा व्यस्त अर्का निर्देशक सुव्रतराज आचार्य निर्देशकहरुको पारिश्रमिक कलाकारहरुको जस्तो तोकिएको नहुने बताउँछन् । उनी आफूले भिडियोमा दुई किसिमले काम गर्दै आएको बताउँछन् । उनी ‘प्याकेज डिल’सँगै पारिश्रमिक तोकेर काम गर्दै आएको बताए । ‘प्याकेजमा काम गर्दा ठ्याक्कै यति हुने भन्ने भएन’ उनले भने, ‘पारिश्रमिक तोकेर काम गर्दा पनि ठ्याक्कै यति भन्ने हुँदैन । भिडियोमा हुने लगानी र मिहिनेत अनुसार पारिश्रमिक माग गर्छु ।’ उनले न्यूनतम ३० हजारदेखि ५०–६० हजार रुपैयाँसम्म पारिश्रमिक तोक्ने गरेको बताए ।

भिडियो निर्देशकहरु आफूले लिने गरेको पारिश्रमिक जायज रहेको बताउँछन् । चलेका कलाकारहरु एक दिन काम गरेर एक–डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेको अवस्थामा खटाई अनुसार निर्देशकहरुका लागि सो पारिश्रमिक जायज रहेको उनीहरुको तर्क छ । सुव्रत भन्छन्–‘निर्देशकले भिडियो निर्माणदेखि रिलिज गरेर मात्र सुख पाउँदैन । भिडियोको भ्यूज नगएकोदेखि कलाकारले टिकटक नबनाएकोसम्मका गुनासो हामीले सुन्नुपर्छ ।’

पछिल्लो समय म्युजिक भिडियोको काम प्याकेजमा हुँदै आएको छ । निर्देशकहरुले भिडियोमा लाग्ने निश्चित खर्च तोकेर प्याकेजमा काम गरिरहेका हुन्छन् । यसरी काम गर्दा भिडियो निर्माणको क्रममा हुने विभिन्न खर्च कटाएर निर्देशकहरु आफूलाई धेरै रकम बचाउने धुनमा लाग्दा भिडियो स्तरिय नबनेको गुनासो पनि सुनिने गरेको छ ।

एक भिडियो निर्देशकले अनलाइनखबरसँग भने–‘प्याकेजमा काम गर्दा हाम्रो पारिश्रमिकसहित सम्पूर्ण खर्च यति भनेर तोकिएको हुन्छ । लगानीकर्तालाई महंगो लगानी हुने बताएर निर्देशकहरु हरेकमा खर्च कटौती गर्दै काम गरिरहेका हुन्छन् । त्यसरी काम गर्दा एउटै भिडियोबाट डेढ–दुई लाखसम्म बचत भईरहेको हुन्छ । जसका कारण कतिपय भिडियोहरु स्तरीय बन्न सकिरहेका हुँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment