Comments Add Comment

जसपामा सहमतिको च्याप्टर क्लोज, आधिकारिकताको प्रक्रिया अघि बढाउने निर्णय

२१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ । अब निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिकता दिनुपर्नेछ ।

उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन निवेदन दिएपछि आयोगले दुवै पक्षलाई बोलाएको थियो । तर मंगलबारको बैठकमा कुनै सहमति जुटेन ।

निवेदक पक्षका तर्फबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने अर्को पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए ।

आयोगले सहमतिका लागि गराएको छलफलमा यादव र ठाकुर पक्षबीच सहमति हुन सकेन ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएको र सँगै बस्न सक्ने अवस्था नभएको बताए । अर्का अध्यक्ष ठाकुरले भने उपेन्द्र यादवको पार्टी फुटको अवस्थामा पुगेको बेला एकता गरेर आफूहरुले जोगाइदिएको, तर अहिले बिर्सिएको गुनासो गरे । मागमुद्दा छाडेको र अग्रगमन भन्दै प्रतिगमनतिर लागेको भन्दै उनले यादव पक्ष सच्चिएर आए सँगै हिंड्न सकिने बताए ।

जवाफमा यादव पक्षले सँगै बस्ने अवस्था नभएकाले आधिकारिकताबारे निर्णय गरिदिन निवेदन दिएको बताए । एक नेताका अनुसार दुवै पक्षबीच सहमति नभएकाले ऐनअनुसार पार्टीको आधिकारिकताबारे निर्णय गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment