Comments Add Comment

फाइजरको कोरोना खोपको प्रभावकारिता घटेको इजरायलको दाबी

२२ असार, काठमाडौं । इजरायलले फाइजर–बायोएनटेकले संयुक्तरुपमा विकास गरेको कोरोना खोपको संक्रमणको नियन्त्रणका प्रभावकारिता घटेको बताएको छ । सोमबार इजरायलले सामान्य लक्षण र लक्षण विनाको संक्रामक रोक्न कम प्रभावकारी देखिएको बताएको छ । यद्यपि यो खोप गम्भीर लक्षण देखिनबाट रोक्न भने निकै प्रभावकारी देखिएको छ ।

इजरायलमा भौतिक दूरीको नियम हटाइनु र डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै फाइजरको खोपको प्रभावकारिता पनि घटेको पाइएको हो । गत जुन ६ यता कोरोना संक्रमण र सामान्य लक्षणसहितको संक्रमण रोक्न फाइजरको कोरोना खोप ६४ प्रतिशत प्रभावकारी पाइएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ । अस्पताल भर्ना हुनुपर्ने र गम्भीर लक्षण देखिनबाट रोक्न भने उक्त खोप अझै पनि ९३ प्रतिशत प्रभावकारी देखिएको छ ।

इजरायलको स्वास्थ्य मन्त्रालयले यो खोपको प्रभावकारिता जुन ६ अघि कति थियो भन्ने विषयमा कुनै जानकारी दिएको छैन । यद्यपि गत मे महिनामा इजरायलले सार्वजनिक गरेको एक रिपोर्टमा यो खोप कोरोना संक्रमित, अस्पताल भर्ना हुने र गम्भीर लक्षण देखिनबाट बचाउन ९५ प्रतिशत प्रभावकारी रहेको उल्लेख गरिएको थियो ।

फाइजरले इजरायलले सार्वजनिक गरेको यो रिपोर्टको विषयमा केही बताएको छैन । यद्यपि आफ्नो खोप अझै पनि कोरोनाका विभिन्न भेरियन्टहरुबाट बचाउन पर्याप्त रहेको बताएको छ ।

९३ लाख जनसंख्या रहेको इजरायलमा अहिलेसम्म करिब ६० प्रतिशत मानिसले कोरोनाको कम्तीमा एक डोज खोप लगाइसकेका छन् । गत जनवरीमा दैनिक १० हजारको हाराहारीमा देखिएका कोरोना संक्रमितको संख्या पनि गत महिना एक अंकमा झरेको थियो । यद्यपि डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै नयाँ संक्रमितको संख्यामा पनि वृद्धि हुन थालेको छ । आइतबार इजरायलमा ३४३ नयाँ संक्रमित थपिएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment