Comments Add Comment

‘२०५० सम्म पानीको मात्रा १२ प्रतिशतसम्म बढ्नसक्छ’

२२ असार, काठमाडौं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरुले औल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदर अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने विज्ञहरुले बताएका हुन् ।

जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्ममा पृथ्वीको तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डिग्री सेल्सियससम्म पुग्नसक्ने बताए ।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिवद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपदका घटना जलवायु परिवर्तनको प्रभावले भएको स्वच्छ उर्जा नेपालमा आवद्ध जलवायु परिवर्तन विज्ञ ढकालले बताए ।

उनका अनुसार नेपालमा भएका सुख्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन भएको हो । उनले नेपालमा ४५ वर्षको अवधिमा २ दशमलव ५ डिग्री सेल्सियस अधिकतम तापक्रम वृद्धि भएको बताए । न्यूनतम तापक्रम भने न्यूनमात्रामा वृद्धि भएको उनले बताए ।

‘हिमाली क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धि भन्दा उच्च दरमा बढिरहेको छ । यो तापक्रम वृद्धिको प्रभाव हिमनदीमा परेको विभिन्न अध्ययन तथा अनुसन्धानले प्रष्ट पारिसकेको छ,’ विज्ञ ढकालले भने ।

स्वच्छ उर्जा नेपालसंगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा सरकारले राम्रा कामहरु पनि गरिरहेको बताए ।

उनले पूर्वसूचना प्रणाली जडान हुनै मानवीय क्षति न्यून भएको औल्याए । नेपालजस्तो जटिल भौगोलिक बनावट भएको मुलुकले धेरै जोखिम व्यहोर्नुपरेको उनको बुझाइ छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् भने धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ जसमध्ये २० वटा हिमतालहरु जोखिममा रहेका छन् ।

बढ्दो तातोपनाको कारण विशेष गरेर झाडापखला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज ईन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि भएको वातावरण पत्रकार राजेश घिमिरेले बताए ।

‘नेपालका तराई क्षेत्रहरु यो समस्याबाट बढी पीडित हुन सक्नेछन् । बाढी पहिरोका घटनाहरुको बेला शुद्ध पिउने पानीको अभावले धेरै मानिसहरु पानी–जन्य रोगबाट पिडित हुन सक्नेछन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment