Comments Add Comment

पहिलो पटक फाइनल पुग्ने इंग्ल्याण्डको दाउ, अन्डरडग डेनमार्कको चुनौती

२३ असार काठमाडौं । इंग्ल्याण्डले अहिलेसम्म एक पटक विश्वकप जितेको छ । त्यो पनि ५० वर्षभन्दा अगाडि । मिनी विश्वकप मानिने युरोकपमा भने इंग्ल्याण्ड अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।

बुधबार राति युरोकप २०२० को दोस्रो सेमिफाइनलमा घरेलु मैदानमा खेल्दा इंग्ल्याण्डसामु पहिलो पटक फाइनल पुग्ने अवसर हुनेछ ।

इंग्ल्याण्डले डेनमार्कसँग लण्डनस्थित बेम्बली मैदानमा खेल्दा घरेलु दर्शकको समेत साथ पाउनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकप जितेपछि इंग्ल्याण्ड पहिलो उपाधिको खोजीमा छ ।

उता सन् १९९२ मा उपाधि जितिसकेको डेनमार्क २९ वर्षपछि युरोकपको फाइनल पुग्ने लक्ष्यमा छ । डेनमार्क इंग्ल्याण्डलाई घरेलु मैदानमै स्तब्ध पार्ने सोचमा छ । घरेलु मान र दर्शकको साथ पाएको इंग्ल्याण्डले यस पटक राम्रो खेलिरहेको छ । अर्को बलियो पक्ष भनेको इंग्ल्याण्डले जारी युरोकपमा खेलेको पाँचवटै खेलमा क्लिनसिट राखेको छ ।

इंग्लिस डिफेन्सलाई तोडेर गोल गर्नु डेनमार्कको लागि पनि सहज भने छैन । समूह बी अन्तर्गत पहिलो खेलमै क्रिस्टियन एरिक्सनलाई गुमाएको डेनमार्कले त्यसपछि भावनात्मक रुपमा एकजुट भएर खेल्दै आएको छ । फिनल्याण्ड विरुद्धको खेलमा एरिक्सन पहिलो हाफमा बेहोस भएर मैदानमै ढलेका थिए ।

क्वार्टरफाइनलमा युक्रेनलाई ४-० ले सहजै हराएको इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको थियो । समूह चरणमा क्रोएसिया र चेक रिपब्लिकलाई पराजित गरेको इंग्ल्याण्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

यस्तै अन्तिम १६ मा इंग्ल्याण्डले जर्मनीलाई २-० ले पराजित गर्दै उपाधि दाबेदारको रुपमा अघि आएको थियो ।

उता पहिलो खेलमै फिनल्याण्डसँग १-० ले पराजित भएको डेनमार्क त्यसपछि बेल्जियमसँग अग्रता लिएर पनि २-१ ले पराजित भयो । तर तेस्रो खेलमा रुसलाई ४-१ ले पराजित गरेपछि समूह उपविजेता बन्दै नकआउट चरण पुगेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई ४-० ले हरायो । त्यसपछि क्वाटरफाइनलमा चेकलाई २-१ ले पराजित गरेको डेनमार्क अर्को जितको प्रतीक्षामा छ ।

एक गोल पनि नखाई सेमिफाइनल पुगेको इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटले फाइनल पुग्न यो राम्रो अवसर भएको बताए । ‘हामीले राम्रो अवसर पाएका छौं । हामी अहिलेसम्म युरोपियन च्याम्पियनसिपको फाइनल पुगेका छैनौं, त्यसैले यो इतिहास बनाउने मौका हो,’ साउथगेटले भने ।

डेनमार्कलाई लिएर साउथगेट सजग पनि छन् । गत वर्ष खेलेको नेसन्स लिगको दुई खेलमा इंग्ल्याण्डले डेनमार्कलाई हराउन सकेको थिएन । ‘हामीले दुई खेल खेलेका थियौं । पहिले उनीहरु राम्रो टिम थिए मलाई थाहा छ र यस प्रतियोगितामा पनि उनीहरुले प्रमाणित गरेका छन् । यो खेलको हिस्सा बन्न पाउनु राम्रो हुनेछ,’ उनले भने ।

यस्तै कप्तान ह्यारी केनले पनि डेनमार्क राम्रो टिम रहेको बताए । उनले गत वर्ष डेनमार्कसँग एक हार र एक बराबरी भएको सम्झँदै यसपटक आफूमा केन्द्रित हुनुपर्ने बताए ।

डेनमार्कका प्रशिक्षक क्यास्पर हालमन्डले यस खेललाई अवे (घरेलु मैदानबाहिर)  खेल जस्तै मानेका छन् र खेल कठिन हुने बुझेका छन् । ‘यो खेल अवे खेल जस्तै हुनछ । तर हामी यसको आफ्नै विशेषता छ र हामी यसको लागि तयार छौं ।’ क्यास्परले भने, ‘हामी खुशी छौं कि स्टेडियममा दर्शक हुनेछन् । त्यसमा आधा डेनिस कलरमा भएको भए राम्रो हुने थियो । हाम्रो उद्देश्य दर्शकलाई शान्त बनाउने हो तर हामीलाई थाहा छ यो खेल कठिन हुनेछ ।’

डेनिस मिडफिल्डर थोमस डिलानेले प्रतियोगिताको शुरुमा बेम्बलीमा पुग्ने लक्ष्य राखेको र अहिले पुगिएको बताए ।

यदि इंग्ल्याण्डले खेल जितेमा युरो फाइनल पुग्ने १३ औं राष्ट्र बन्नेछ भने सन् २००४ पछि पहिलो नयाँ टिम बन्नेछ । २००४ मा पोर्चुगल र ग्रीस पहिलो पटक फाइनल पुगेका थिए ।

इंग्ल्याण्डले यसअघि दुई पटक युरो सेमिफाइनल खेल्दा दुवै पटक पराजित भएको थियो । डेनमार्कले ३ पटक सेमिफाइनल खेल्दा एक पटक जित हात पारेको थियो भने दुई पटक पराजित भएको थियो ।

इंग्ल्यान्ड र डेनमार्कबीच आधिकारिक खेलमा अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ खेल जित्दा डेनमार्कले ४ खेल मात्र जितेको छ । ५ खेल भने बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक गत वर्ष भएको नेसन्स लिगमा डेनमार्कले इंग्ल्याण्डलाई बेम्बलीमै १-० ले हराएको थियो । उक्त खेलमा एरिक्सनले पेनाल्टीमा गोल गरेका थिए । यस्तै कोपनहेगनमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । डेनमार्कले १९९२ मा उपाधि जित्दा यी दुई टोली समूह चरणमा खेलेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment