Comments Add Comment

फकाएर होटलमा काम, दुई दिनमै शारीरिक शोषण

२३ असार, काठमाडौं । आर्थिक स्थिति कमजोर भएका कारण १७ वर्षीय दीपा (नाम परिवर्तन) रोजगारको खोजीमा थिइन् । पोखरामा राम्रो ठाउँमा काम पाए दुखजिलो भए पनि केही सहज हुन्थ्यो कि भन्ने उनको चाहना थियो ।

जागीरको खोजीमै रहेको बेला उनको भेट पोखरा १० रामबजारकी आइती माया गुरुङसँग भयो । आइतीमायाले आफूले चिनेको एक होटल रहेको र त्यसैमा काम लगाइदिने वाचा गरिन् ।

कामको खोजीमा भौंतारिएकी दीपाले प्रस्ताव स्वीकारिन् र काममा लागिन् । रामबजारकै एक होटलमा काममा गएकी उनलाई पहिले होटल सञ्चालक गौमती गुरुङले पनि राम्रै व्यवहार देखाइन् । काम पाएकोमा उनी पनि खुशी भइन् ।

तर, काममा गएको दुई दिनमै होटल सञ्चालकसमेत रहेकी गौमतीको व्यवहार फेरिन थाल्यो । होटलमा खाजा खान आएका ग्राहकसँग बलजफ्ती नजिक हुन लगाइन् । साहुनीको १२ दिनमै व्यवहार फेरिएपछि दीपाले प्रतिवाद गर्न थालिन् । तर, साहुनी मान्नेवाला थिइनन् ।

काममा गएको दुई दिनमै ग्राहकसँग शारीरिक सम्पर्क राख्न दीपालाई बाध्य पारियो । आफूमाथि यौन शोषण भएपछि उनले वडा प्रहरी कार्यालयमा उजुरी दिइन् । उनको उजुरीका आधारमा प्रहरीले बुधबार दुई जनालाई प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुवास हमालले पोखरा १० रामबजारकै ५३ वर्षीया गौमती गुरुङ र कास्कीकै रुपा गाउँपालिका १०, हंसपुर घर भई हाल रामबजार बस्ने ४० वर्षीया आइतीमाया गुरुङलाई मानव बेचबिखन आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

‘सुरुमा राम्रै व्यवहार गरेर खाजा नास्ता वितरण गर्ने काममा लगाएका रहेछन् । तर, एक दुई दिनमै त्यहाँ आउने ग्राहकसँग पैसा लिएर यौनकर्म गर्न बाध्य पारेको खुलेको छ’ डीएसपी हमालले भने, ‘उनीहरुलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको हमालले जानकारी दिए । उनले बुधबार नै पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment