Comments Add Comment

ओली – नेपाल भेटवार्ता : सम्वाद भयो, सहमति भएन

२३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्वाद भएको छ । दोस्रो तहका नेताहरु रहेको कार्यदल सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो ।

तर कार्यदलले टुंग्याउन बाँकी मुद्दाहरुमा ठोस सहमति नभएको स्रोतले बताएको छ ।

बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सचिव गोकर्ण विष्टले बताएअनुसार सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको थियो । तर पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा के गर्ने भन्ने टुंगिएको थिएन । यद्यपि यसमा पनि कार्यदल सहमतिको नजिक पुगेको थियो  ।

तीन दिनदेखि लगातार छलफलमा रहेको कार्यदलका एक सदस्यका अनुसार ओली पक्षका नेताहरुले ओली र नेपालबीच भेट भएपछि विवादित विषयहरु मिल्ने दाबी गरेका थिए ।

त्यही कारण अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच टेलिफोन सम्वाद भयो, र मेरिटल होटलमा भेट तय भयो ।

तर वान अन वान वार्तामा सहमति जुट्न सकेन । ‘हामीले २ जेठ, सर्वोच्चको मुद्दामा केन्द्रीत भएर कुरा उठाएका थियौं र सहमति नजिक पनि पुगेका थियौं’ नेपाल पक्षका कार्यदलका एक सदस्य भन्छन्, ‘उहाँहरुले दुई नेता भेटौं, जे गरेर भएपनि सहमति हुन्छ भन्नुभएको थियो । उहाँहरूको भेट पनि भयो, तर सहमति जुटेन ।’

यद्यपि सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् । मेरियट होटलमा उपस्थित कार्यदल सदस्य सुरेन्द्र पाण्डेले भने, ‘उहाँहरु सकारात्मक ढंगले कुराकानी गरेर हिँड्नु भएको छ । भोलि कार्यदल बस्छौं र सबै टुंग्याउँछौं ।’

कार्यदलका अर्का सदस्य भीम रावलले पनि सहमतिको प्रयास जारी रहने बताएका छन् ।

दुई नेताको भेटवार्तापछि उनले सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै :

हामीले कार्यदलको तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहै छ । यही सन्दर्भमा आज दुई शीर्ष नेताहरुको बीचमा कुराकानी भयो । समग्रतामा पार्टीको एकतालाई कसरी अगाडि बढाउने र हामीले अहिलेसम्म जे कुरा गर्दै आएका छौं, त्यसलाई एउटा सकारात्मक परिणाममा कसरी लैजाने भन्ने सिलसिलामा हामीले आजको यो कुराकानी भएको पाएका छौं । अब फेरि यस सम्बन्धमा कुराकानी हुनेछ ।

लामो समयदेखि विभिन्न समस्यामा अलि गम्भीर रुपमा कुराकानी गर्नुपर्ने र समस्या समाधानका लागि अदनुकुल गहिराईमा लैजानुपर्ने आवश्यकता हामीले बोध गर्दै आएका छौं । त्यसै अनुरुप कार्यदलमा हाम्रो छलफल जारी छ, आज नेताहरुको बीचमा पनि वार्ता भएको छ । अब फेरि हामीले विषयमा प्रवेश गरेर कुरानी गर्ने छौं, नेताहरुको बीचमा पनि कुरानकानी हुनेछ । यसको उद्देश्य भनेको समस्या समाधान गर्न सहमतिमा पुग्ने हो ।

भेटवार्तापछि होटलबाट बाहिरिने क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली ।
भेटवार्तापछि होटलबाट बाहिरिने क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।
भेटवार्तापछि होटलबाट बाहिरिने क्रममा एमाले उपमहासचिव विष्णु पौडेल

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment