Comments Add Comment
मेरियट वार्ता :

ओलीले हस्ताक्षर फिर्ता भनिरहे, माधव नेपालले मानेनन्

२३ असार, काठमाडौं । दोस्रो तहका नेताहरुबीच लगातार अनौपचारिक वार्ता र कार्यदल ब्यूँताएर तीन दिन छलफलपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

तर दुवै नेता आ-आफ्नो अडानमा रहेका कारण कुनै सहमति हुन नसकेको स्रोतले बताएको छ । मेरियट होटलमा भएको भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि नेता नेपाल सहमत नभएका हुन् ।

जबकि अनौपचारिक वार्ता र कार्यदलमा भएको छलफलहरुमा ओली पक्षका नेताहरुले दुई नेताबीच भेट भएपछि जे गरेर भए पनि सहमति गर्छौं भनेका थिए ।

१८ असारमा केन्द्रीय कमिटीको बैठक राखेर सोमबार साँझसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका ओलीले भोलिपल्ट अर्को घोषणा गरे, फैसला आउँदासम्म हस्ताक्षर कायमै राख्नेहरु एमाले रहन्नन् । तर भोलिपल्टै सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवासमा पुगे र संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव राखे ।

वरिष्ठ नेता नेपाल त्यसमा सहमत भए र कार्यदलमार्फत संयुक्त वक्तव्यको मस्यौदा ल्याउन आग्रह गरे । तर ओली पक्षका नेताहरुले कार्यदल निष्क्रिय रहेकाले त्यो ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए । त्यसमा सहमति नजुटेपछि एमाले अध्यक्ष ओली कार्यदल ब्यूँताउन सफल भए । सोमबार साँझ बैठक बस्यो ।

लगातार तेस्रो दिन बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सचिव गोकर्ण विष्टका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको थियो । पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा धेरै नजिक पुगेको छ ।

कार्यदलका अर्का एक सदस्यले बताएअनुसार ओली पक्षका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट भएपछि विवादित विषयहरु मिल्ने दाबी गरेका थिए । उनीहरुले पावर शेयरिङ लगायतका विषयमा सहमति जुट्नसक्ने सन्देश ओली पक्षका नेताहरुले नेता नेपालसम्म पुर्‍याएका थिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार टेलिफोन सम्वाद समेत भएपछि मेयरिटको भेट भयो । तर भेटका क्रममा अध्यक्ष ओलीले सहमतिका लागि न कुनै प्रस्ताव राखे, न कार्यदलमा नमिलेका विषयमा छलफल नै गर्न चाहे ।

उनले हस्ताक्षर फिर्ता लिन आग्रह मात्र गरेको नेता नेपाल निकट स्रोतले बतायो । ‘उहाँले निःशर्त सहयोग गनुपर्छ जस्तो कुरा गर्नुभयो । हामीले उठाउँदै आएका मुद्दाहरुमा सहमतिको कुरै गर्नु भएन । त्यसो भएपछि माधव नेपालले पनि मान्नु भएन’, नेपाल निकट स्रोतले अनलाइनखबरलाई भन्यो ।

कार्यदलका एक सदस्यले पनि ओली पक्षका नेताहरुले दुई नेता भेटेपछि सहमति हुन्छ भनेको तर, मेरियटको भेटमा त्यसरी छलफल नै नभएको बताए । ‘हामीले २ जेठ, सर्वोच्चको मुद्दामा केन्द्रित भएर कुरा उठाएका थियौं र सहमति नजिक पनि पुगेका थियौं’ ती सदस्य भन्छन्, ‘उहाँहरुले दुई नेता भेटौं, जे गरेर भए पनि सहमति हुन्छ भन्नुभएको थियो । भेट पनि भयो, तर सहमति जुटेन ।’

यद्यपि सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् । मेरियट होटलमा उपस्थित कार्यदल सदस्य सुरेन्द्र पाण्डेले भने, ‘उहाँहरु सकारात्मक ढंगले कुराकानी गरेर हिंड्नुभएको छ । भोलि कार्यदल बस्छौं र सबै टुंग्याउँछौं ।’

कार्यदलका अर्का सदस्य भीम रावलले पनि सहमतिको प्रयास जारी रहने बताएका छन् । दुई नेताको भेटवार्तापछि उनले सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै :

हामीले कार्यदलको तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहै छ । यही सन्दर्भमा आज दुई शीर्ष नेताहरुको बीचमा कुराकानी भयो । समग्रतामा पार्टीको एकतालाई कसरी अगाडि बढाउने र हामीले अहिलेसम्म जे कुरा गर्दै आएका छौं, त्यसलाई एउटा सकारात्मक परिणाममा कसरी लैजाने भन्ने सिलसिलामा हामीले आजको यो कुराकानी भएको पाएका छौं । अब फेरि यस सम्बन्धमा कुराकानी हुनेछ । लामो समयदेखि विभिन्न समस्यामा अलि गम्भीर रुपमा कुराकानी गर्नुपर्ने र समस्या समाधानका लागि अदनुकूल गहिराइमा लैजानुपर्ने आवश्यकता हामीले बोध गर्दै आएका छौं । त्यसै अनुरुप कार्यदलमा हाम्रो छलफल जारी छ, आज नेताहरुको बीचमा पनि वार्ता भएको छ । अब फेरि हामीले विषयमा प्रवेश गरेर कुराकानी गर्नेछौं, नेताहरुको बीचमा पनि कुराकानी हुनेछ । यसको उद्देश्य भनेको समस्या समाधान गर्न सहमतिमा पुग्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment