Comments Add Comment

अझै २० प्रतिशत संक्रमणदरः यो खतराको सूचक हो

सन् २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारीले करीब डेढ वर्ष पार गरिसकेको छ । हालसम्म आइपुग्दा यसले धेरै उतारचढाव भोगाइसकेको छ ।
हालसम्म यसले करीब साढे १८ करोड मानिसलाई संक्रमित बनाइसकेको छ । करीब ४० लाख जनाको ज्यान लिइसकेकोछ । यसै वर्ष सन् २०२१ फेब्रुअरी अन्त्यतिर सुरु भएको विश्वको पछिल्लो प्यान्डेमिक लहर करीब दुई महिनापछि अर्थात् एप्रिलको अन्त्यतिर उच्च बिन्दुमा पुग्यो । जसमा दक्षिण एसिया सबैभन्दा बढी प्रभावित बन्यो ।

मे महिनाको दोस्रो सातातिर विश्वको कुल दैनिक नयाँ संक्रमणको करीब ५८ प्रतिशत र सोही महिनाको अन्तिम सातातिर कुल दैनिक मृत्युको करीब ४८ प्रतिशत हिस्सा दक्षिण एसियामा भेटिएको थियो । संक्रमण र मृत्यु संख्याको हिसाबले पछिल्लो लहरमा नेपालको निकै प्रभावित नभए पनि संक्रमण दरको हिसाबले पछिल्लो लहरमा दक्षिण एसियामा नेपाल अगाडि देखियो ।

दक्षिण एसियाको पछिल्लो महामारी सन् २०२१ मार्चको मध्यतिरबाट बढ्न सुरु भयो । यो मे महिनाको पहिलो सातासम्म निरन्तर उकालो लाग्यो । अहिले क्रमसः ओरालो लागिरहेको छ । चित्र नं. १ ले दक्षिण एसियाको कूल दैनिक संक्रमण र दैनिक मृत्युको बिगत तीन महिनाको (सन् २०२१ एप्रिल देखि जुनसम्म) प्रबृति देखाएको छ ।

यस क्षेत्रमा पछिल्लो लहर भारतबाट सुरु भएर अन्यत्र हुँदै एप्रिलको पहिलो सातातिर नेपाल प्रवेश गरेको देखिन्छ । तर दक्षिण एसियामा पछिल्लो लहर धेरै लामो समय टिक्न पाएन, करीब डेढ महिनामै यो ओरालो लग्न सुरु गर्यो । र पनि छोटो समयमै कोरोना संक्रमणले यस क्षेत्रमा ठूलो जनधनको क्षति गर्यो । चित्रमा देखाइए जस्तै संक्रमण छोटो समयमै तिब्र वृद्धि भई विस्तारै ओरालो लाग्यो भने मृत्यु चाहिँ संक्रमण कम भइसकेपछि पनि निकै समय उच्च संख्यामै कायम रह्यो ।

पछिल्लो लहरको यस तीन महिनाको दौरानमा दक्षिण एसियामा कूल करीब एक करोड, ९१ लाख ७५ हजार ७२६ जना कोरोना संक्रमित भए । करीब दुई लाख ५५ हजार ११० जनाको मृत्यु भयो । महामारी फैलिएको करीब १८ महिनाको पहिलो १५ महिनामा जम्मा करीब एक करोड, २९ लाख, ९१ हजार ७९३ जना संक्रमित भएका थिए भने करीब एक लाख ८६ हजार ८७२ जनाको यसैका कारण मृत्यु भएको थियो । अर्थात् सुरुको १५ महिनाको दाँजोमा पछिल्लो तीन महिनामा अझै धेरै, करीब डेढ गुणा संक्रमण र त्यतिकै गुणा बढी मानिसको मृत्यु भएको छ ।

पछिल्लो लहरको तीन महिनामा मात्रै दक्षिण एसियामा कोरोना संक्रमण भएको संख्या भारतमा १ करोड, ७९ लाख ८९ हजार ५०३ (९३.८१ प्रतिशत), नेपालमा ३ लाख ५६ हजार ४३७ (१.८६ प्रतिशत), पाकिस्तानमा २ लाख ८५ हजार ८८५ (१.८६ प्रतिशत), बंगलादेशमा २ लाख ७७ हजार १३८ (१.४५ प्रतिशत), श्रीलंकामा १ लाख ५८ हजार ८६२ (०.८३ प्रतिशत), अफगानिस्तानमा ५७ हजार ४८१ (०.३ प्रतिशत), माल्दिभ्समा ४९ हजार २४८ (०.२६ प्रतिशत) र भुटानमा १ हजार १७२ (०.०१ प्रतिशत) रह्यो ।

त्यस्तै कोरोनाबाट मृत्यु भएको संख्या भारतमा २ लाख ३२ हजार ६९४ (९१.२१ प्रतिशत), पाकिस्तानमा ७ हजार ७५४ (३.०४ प्रतिशत), नेपालमा ५ हजार ९७९ (२.३४ प्रतिशत),बंगलादेशमा ५ हजार १२६ (२.०१ प्रतिशत), श्रीलंकामा २ हजार ३४७ (०.९२ प्रतिशत), अफगानिस्तानमा २ हजार १५३ (०.८४ प्रतिशत), माल्दिभ्समा १३९ (०.०५ प्रतिशत) र भुटानमा शून्य रह्यो ।

माथिको तथ्यांक अनुसार पछिल्लो महामारीमा संख्याको आधारमा दक्षिण एसियामा नेपाल संक्रमणमा दोस्रो र मृत्युमा तेस्रो स्थानमा रह्यो । दक्षिण एसियामा पछिल्लो लहरमा दैनिक औसत मृत्यु दर करीब १.३३ प्रतिशत रह्यो । यस लहरको सुरुवातीमा दैनिक मृत्यु दर करीब ०.६ प्रतिशत रहेकोमा मृत्यु दर विस्तारै बढेर जुन महिनाको दोस्रो साता तिर ५–६ प्रतिशत सम्म पुगेको थियो ।

पछिल्लो समय दक्षिण एसियाको मृत्यु दर बढ्नुमा वर्तमान लहरको ठूलो भार र कोरोना भाइरसको नयाँ भेरिएन्ट नै प्रमुख कारण देखिन्छ । कोरोना नियन्त्रणका उपाय र भ्याक्सिनमा विश्वभरि ठूलो प्रगति भए पनि कोरोना मृत्यु दरमा खासै प्रगति नदेखिनु दुःखको कुरा हो ।

चित्र न २ ले पछिल्लो लहरमा नेपालको बिगत तीन महिनाको दैनिक संक्रमण, मृत्यु र संक्रमण दर (पोजिटिभिटी प्रतिशत) को प्रवृत्ति देखाएको छ । चित्रमा देखाइए जस्तै नेपालमा पछिल्लो लहर दक्षिण एसिया अर्थात् भारतभन्दा केही हप्ता ढिलो सुरु भएको देखिन्छ । भारतमा कोरोना संक्रमण कम हुँदै गएसंगै नेपालमा पनि कम हुँदै गएको छ ।

चित्रमा देखाइए जस्तै पछिल्लो लहर उच्च बिन्दुमा पुगेको बेला मे महिनाको ११ का दिन नेपालमा एकै दिन ९ हजार ३१७ जनामा नयाँ संक्रमण देखापरी हालसम्मकै सबैभन्दा उच्च दैनिक संक्रमणको रेकर्ड बन्यो भने मृत्युको हकमा मे १९ मा एकै दिन हालसम्मकै उच्च २४६ जनाको मृत्यु भयो । नेपालको दैनिक कोरोना मृत्यु दर एप्रिल महिनाको सुरुवातिमा करीब ०.५ प्रतिशत भन्दा कम भएकोमा मे महिनाको सुरुवातीमा करीब १ प्रतिशत पुगी, तुरुन्तै २ प्रतिशत नाघ्दै अधिकतम ३ प्रतिशत भन्दा माथि पुगेको थियो ।

अघिल्लो लहरमा नेपालको दैनिक मृत्यु दर १ प्रतिशत भन्दा कम थियो । यस दौरान दक्षिण एसियामा सबैभन्दा धेरै दैनिक मृत्यु दर भारत, अफगानिस्तान र पाकिस्तानमा देखियो । जहाँ मृत्यु दर ५–६ प्रतिशत सम्म पुगेको थियो ।

महामारीमा नयाँ संक्रमण र नयाँ मृत्यु कति देखियो भन्ने कुरा कति परीक्षण गरियो भन्ने कुरामा भर पर्दछ । जम्मा परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण देखियो त्यसलाई संक्रमण दर या पोजिटिभिटी भनिन्छ । डब्लूएचओका अनुसार पोजिटिभिटी ५ प्रतिशत भन्दा कम भएमा प्यान्डेमिक नियन्त्रित भएको मानिन्छ ।अप्रिल महिनाको सुरुवातीमा नेपाल देशभरि दैनिक करीब ३५ सयदेखि ४ हजार पीसीआर परीक्षण गर्ने गरिएको थियो, जसमध्ये ५–६ प्रतिशत पोजिटिभ अर्थात् संक्रमण देखिन्थ्यो ।

पोजिटिभिटी बढ्दै गए पछि दैनिक परीक्षण पनि बढाउँदै लगियो र अधिकतम् दैनिक करीब २० हजारसम्म परीक्षण गरियो । फलस्वरूप चित्रमा देखाइए जस्तै मे महिनाको दोस्रो र तेस्रो साता दैनिक पोजिटिभिटी ४० प्रतिशतभन्दा उच्च भई विश्वमै दोस्रो उच्च पोजिटिभिटी भएको देश बन्यो।

कोरोना महामारीको पछिल्लो लहरको बेला नेपालको संक्रमण दर दक्षिण एसियामै सबैभन्दा उच्च मात्रै रहेन, अन्यत्रको भन्दा करीब दुई गुणा धेरै रह्यो । विश्वमै दोस्रो स्थानमा पुग्यो । हालसम्म पनि अन्यत्र संक्रमण दर निकै कम भइसकेको अवास्थामा नेपालमा २० प्रतिशत भन्दा धेरै हुनु अझै पनि खतराको सूचक हो ।

मे १० का दिन संक्रमण दर ५०.३६ प्रतिशत पुगी नेपालको हालसम्मकै सबैभन्दा उच्च दरको रेकर्ड रह्यो । अघिल्लो लहरको बेला यो दर ४० प्रतिशत भन्दा निकै कम थियो । त्यसपछि दैनिक संक्रमण केही कम हुँदै गयो । परीक्षण पनि कम गरिँदै गयो र फलस्वरूप पोजिटिभिटीमा क्रमसः कमी आउँदै गयो । हाल नेपालमा लकडाउन लगभग पूर्णरुपमा हटाइएको अवस्था भए पनि पोजिटिभिटी २० प्रतिशत भन्दा उच्च नै देखिन्छ । भारतको दैनिक पोजिटिभिटी ३ प्रतिशत भन्दा कम छ ।

महामारीको पछिल्लो लहरको बेला अत्यधिक संक्रमण काठमाडौँ उपत्यकामै देखियो । त्यसबाहेक मोरंग, रुपन्देही, कास्की, सुनसरी, झापा आदि जिल्लाहरुमा पनि प्रसस्त संक्रमित देखिए । नेपालमा अघिल्लो प्यान्डेमिक लहरमा काठमाडौं उपत्यकामा देशभरिको दैनिक कुल संक्रमणमध्ये करीब ६०(६५ प्रतिशत देखिएको थियो भने पछिल्लो लहरको बेला यो अनुपातमा केही परिवर्तन आएको देखियो ।

यसपटक अप्रिल महिनाको सुरुवातीसम्म दैनिक कुल संक्रमणको आधा जति काठमाडौँ उपत्यकामा देखिएको थियो भने देशभरि संक्रमणमा वृद्धि हुँदै गएसंगै यो अनुपात क्रमसः घट्दै गई करीब ३०–३५ प्रतिशत मात्रै उपत्यका भित्र देखिन थाल्यो र अन्यत्र बढ्न थाल्यो ।

यसले नेपालमा देशभरि संक्रमण समुदायस्तरमा फैलिएको पुष्टि गर्दछ र डब्लूएचओले पनि नेपाललाई हाल यही समूह भित्र राख्यो । डब्लूएचओका अनुसार पछिल्लो समय दक्षिण एसियामा समुदायस्तरमा संक्रमण फैलिएको देशहरुमा पाकिस्तान, अफगानिस्तान, बंगलादेश र नेपाल छन् ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्ने बेला भैसकेको छैन । प्यान्डेमिकको पछिल्लो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एकपटक ब्यबहारिक रुपमा नेपाल सरकार र नेपाली जनताले लागू गर्नुपर्ने बेला आएको छ । नेपाल सरकारले प्रसस्त परीक्षण गरी लुकेर बसेको संक्रमण पत्ता लगाई प्यान्डेकिम नियन्त्रण गर्ने सम्पूर्ण उपाय अबलम्बन गर्नुपर्छ । जनताले पनि प्यान्डेमिकको पछिल्लो यथार्थ बुझी आफ्नोतर्फबाट अपनाउनसक्ने होसियारी तथा सतर्कता हरपल यथासक्य पालना गर्नु पर्दछ ।

प्यान्डेमिकको पछिल्लो लहरको बेला नेपालको संक्रमण दर दक्षिण एसियामै सबैभन्दा उच्च मात्रै रहेन अन्यत्रको भन्दा करीब दुई गुणा धेरै रह्यो । विश्वमै दोस्रो स्थानमा पुग्यो । हालसम्म पनि अन्यत्र संक्रमण दर निकै कम भइसकेको अवास्थामा नेपालमा २० प्रतिशत भन्दा धेरै हुनु अझै पनि खतराको सूचक हो । नेपालमा पछिल्लो लहरको बेला दैनिक संक्रमण, मृत्यु र संक्रमण दर अघिल्लो लहरको दाँजोमा निकै धेरै हुनु पनि दुःखद हो ।

महामारी नियन्त्रणका उपायहरुमध्ये लकडाउन एक बाध्यात्मक र अन्तिम उपाय हो । नेपाल जस्तो सामाजिक र आर्थिक स्तर अति कमजोर भएको देशमा लकडाउन सकेसम्म छोटो गर्नु राम्रो हुन्छ । तर आजको विज्ञान र प्रविधिको जमानामा लकडाउनलाई पनि वैज्ञानिक बनाउनु जरुरी छ ।

दैनिक जीवनमा अत्यधिक भिडभाड हुने ठाउँहरुमध्ये दैनिक जीवनयापनका सामग्री किनबेच हुने ठाउँ पर्दछन् । यस्ता ठाउँहरु बिहान सबेरै र रातीको समय ढिलोसम्म खोल्ने हो भने अत्यावस्यक मानिसहरु मात्रै आउने जाने भएको हुनाले यो एक राम्रो तरिका हुन सक्दछ ।

त्यस्तै ढुवानी लगायत लामो दुरीको यात्रा तथा निर्माण कार्य पनि रातको समय नियन्त्रित तरिकाले गर्दा राम्रो हुने देखिन्छ । बन्द कोठाको वातावरणभन्दा खुल्ला हावाको वातावरण संक्रमण सर्ने हिसाबले कम जोखिमपूर्ण हुन्छ । तसर्थ शारीरिक ब्यायाम र हिंड्डुलजस्ता काम खुल्ला हावामा बिहानै र ढिला राती गर्नु उपयुक्त देखिन्छ । त्यसो गरे शारीरिक र मानसिक तनावलाई पनि घटाउन सकिन्छ ।

एक दिनको २४ घन्टाको समयमा सबै कुराहरू दिनभरि खोलेर साँझ बन्द गर्नु भन्दा आवश्यकता र ब्यबहारिकताको हिसाबले साँझ र रातको समयलाई पनि प्रयोग गर्न सके दिनभरिको भिडभाडलाई २४ घण्टामा समान रुपले बिभाजन गर्न सकिन्छ । त्यसो गर्न सके एकै समयमा एकै ठाउँमा हुने भिडभाड नियन्त्रण गर्न सजिलो हुने मात्र होइन कोरोना संक्रमण प्रसारण न्यूनीकरण गर्न पनि सजिलो हुन्छ ।

जीवनयापनका हरेक क्रियाकलापमा हरेक व्यक्तिले सावधानी र निषेधका कुरा अपनाई अनुशासित जीवनशैली अपनाए कोरोना महामरीबाट निकट भविष्यमै छुटकारा पाउन सकिन्छ ।

(लेखकः बि एन्ड बि अस्पताल ललितपुरमा कन्सल्टेन्ट न्यूरो सर्जन हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment