Comments Add Comment

माओवादी केन्द्र भूमिगत शैलीमा चलिरहेको पार्टी हो : टोपबहादुर रायमाझी

२५ असार, काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुगेका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको आरोप लगाए ।

२९ वर्षदेखि उक्त पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा नाम मात्रैको महाधिवेशन भएको र त्यसपछि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको उनको जिकिर छ ।

‘माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ,’ उनले भने, ‘२८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि ९ वर्षसम्म अर्को महाधिवेशन गरेको छैन ।’

माओवादी केन्द्रका पूर्व नेता समेत रायमाझीले अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरेको दाबी गरे । ‘संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’ उनले भने ।

नेता रायमाझीसँगै माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साह लगायत निर्वाचन आयोगमा पुगेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, रायमाझी, थापा, साह लगायत नेताहरु सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भएपछि एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment