Comments Add Comment

खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झाैता

२५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच खेलाडीहरुको स्वास्थ्य उपचारका सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।

नेपाल खेलकुद महासंघ (नेकोस) को पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधि उपचार गर्ने-गराउने सम्बन्धमा सम्झौता भएको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार ट्रमा सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी, रक्तसंचार, फार्मेसी, रेडियोलोजी-इमेजिङ(सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), प्याथोलोजी ल्याब, शल्यक्रिया सेवा (विभिन्न विषयका), अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण, स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरी) सेवा उपलब्ध गराउने छ ।

यसैगरी न्युरो सर्जरी (बहिरङ-अन्तरङ सेवा), इएनटी (बहिरङ-अन्तरङ सेवा), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ सेवा), सघन उपचार सेवा र फिजियोथेरापी लगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा सामाजिक सेवा एकाई मार्फत औचित्य हेरि सहुलियतपूर्ण तवरले उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधिजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्नु-गराउनु पर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीहरुको भुक्तानी सेन्टरको सिफारिसका आधारमा बिरामीले राखेपसँग सोधभर्नाका लागि पेश गर्न सक्ने छ । खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नु पर्नेछ ।

सेन्टरले प्रवाह गर्ने तीन किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सरका बिरामीहरुको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ ।

सदस्य–सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए ।

डा. पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनु पर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताए ।

सो अवसरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान सेन्टरले गरेको कार्यको प्रशंसा गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै सम्झौता गर्न सहयोगी भूमिका निर्वाह गर्ने चन्द्रागिरि ब्याडमिन्टन क्लबका प्रतिनिधि अरुण श्रेष्ठलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment