Comments Add Comment

मेस्सीको फाइनल रेकर्ड : बार्सिलोनामा लोभलाग्दो, अर्जेन्टिनाका लागि अत्यासलाग्दो

२५ असार, काठमाडौं । सुपरस्टार लिओनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय ट्रफी जित्ने लक्ष्यमा छन् । कोपा अमेरिका २०२१ को ग्राण्ड फाइनलमा ब्राजिलको सामना गर्दा अर्जेन्टिनी समर्थकहरुको आँखा मेस्सीमाथि हुनेछ ।

ब्राजिलमा भइरहेको ४७औं कोपा अमेरिकामा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरिसकेका छन् । उनले पाँच असिस्ट समेत गरेका छन् । फाइनलमा स्थान बनाउँदासम्म अर्जेन्टिनाले गरेको ११ मध्ये ९ गोलमा मेस्सीको भूमिका रह्यो ।

तर फाइनल खेल्दा उनीसामु अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेको दबाबमा हुनेछन् । बार्सिलोनाका म्याजिसियन जस्तै देखिने मेस्सीले अन्तर्राष्ट्रिय पुटबलमा भने त्यो जादु देखाउन सकेका छैनन् । अहिलेसम्म उनले अर्जेन्टिनाका लागि विश्वकप र कोपा अमोरिकामा गरी चार वटा फाइनल खेलेका छन्, तर सबैमा उपविजेता नै रहे ।

क्लब लेभलमा भने उनले चार च्याम्पियन्स लिग फाइनल खेल्दा सबैमा विजेता रहे ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल रेकर्ड

पछिल्लो दशकमा तीन पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि नजिक पुगे पनि उनले ट्रफी उचाल्न पाएका छैनन् । तीन पटक कोपा अमेरिका र एक पटक विश्वकपको फाइनल पुगेका मेस्सी र उनको टिम उपविजेतामै सीमित रह्यो । उनले चारवटै फाइनलमा गोल पनि गर्न सकेनन् ।

सन् २००७ को कोपा फाइनलमा अर्जेन्टिना ब्राजिलसँग ३–० ले पराजित भएको थियो । २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग अतरिक्त समयमा १–० ले पराजित भयो । २०१५ र २०१६ मा लगातार कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

क्लब प्रतियोगिताको फाइनलमा रेकर्ड

जब क्लब फुटबलको कुरा आउँछ, मेस्सीको कीर्तिमान गज्जबको छ । स्पेनिस क्लब बार्सिलोनाका पूर्वकप्तान मेस्सीले मुख्य प्रतियोगितामा १७ फाइनल खेलेका छन्, जसमा ३ वटा मात्र हारेका छन् । १२ फाइनलमा कुल १५ गोल गरेका छन् ।

उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितेका छन् । यस्तै क्लब विश्वकपको फाइनलमा तीन पटक पुग्दा तीन पटक नै उपाधि जितेका छन् । १० पटक स्पेनिस कोपा डेल रे फाइनल खेल्दा ७ पटक उपाधि जितेका छन् भने तीन पटक मात्र पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment