
२७ असार, काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्याको घटनामा पहिलोपटक उनकी पत्नीले बयान दिएकी छिन् ।
मंगलबार राति भएको आक्रमणको क्रममा मार्टिन मोइसेलाई पनि गोली लागेको थियो । उनी अहिले अमेरिकामा उपचाररत छिन् ।
उनले मंगलबार राति आक्रमणकारीहरुले सबैभन्दा पहिला आफ्नो घरमा विष्फोट गराएको र त्यसपछि गोली प्रहार गर्न थालेको बताएकी छिन् । उनका अनुसार राष्ट्रपति मोइसेको शरीरभरि उनीहरुले गोली प्रहार गरेका थिए ।
मार्टिनका अनुसार यो आक्रमण यति छिटै गरिएको थियो कि राष्ट्रपतिले एक शब्द पनि बोल्न पाएनन् । जोभेनेल मोइसेको हत्यामा २८ जना मानिसहरु संलग्न रहेको हाइटीको प्रहरीले बताएको छ ।
शनिबार सामाजिक सञ्जाल ट्वीटरमा एक भ्वाइस म्यासेज पोस्ट गर्दै मार्टिनले आफ्ना पतिको कामलाई आफूले निरन्तरता दिने बताएकी छिन् । ‘आँखा झिम्क्याउनेभन्दा छोटो समयमा आतंकवादीहरु मेरो घरमा छिरे र मेरा पतिको शरीरभरि गोली हाने’, उनले भनेकी छिन् ।
उनले यस किसिमको आक्रमण असीमित अपराध भएको उल्लेख गरेकी छिन् । उनले राजनीतिक कारणले आफ्ना पतिलाई निशाना बनाइएको उल्लेख गरेकी छिन् ।
मोइसे सन् २०१७ देखि हाइटीको राष्ट्रपतिको रुपमा रहँदै आएका थिए । पदमा रहँदा उनले भ्रष्टाचारलगायतका धेरै आरोपको सामना गरेका थिए । जसको कारण यस वर्षको सुरुमा उनीविरुद्ध ठूलो आन्दोलन पनि भएको थियो ।
हाइटीमा सन् २०१९ मा संसदीय निर्वाचन हुनुपर्ने थियो तर विवादको कारण उक्त निर्वाचन रोकिएको थियो । मोइसेले यसअघि विवादको कारण पुरा कार्यकाल काम गर्न नपाएको भन्दै सन् २०२२ सम्म आफू पदमा रहन पाउनुपर्ने बताउँदै आएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4