Comments Add Comment

कोपा अमेरिकामा मेसीले बनाएको कीर्तिमान

२७ असार, काठमाडौं । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले आइतबार ४७औं संस्करणको कोपा अमेरिकाको उपाधि जित्यो । राष्ट्रिय टिमले २८ वर्ष यता पहिलो उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पनि राष्ट्रिय टिमको जर्सीमा पहिलो ट्रफी उचाले ।

विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामा ब्राजिललाई उसैको भूमिमा हराएर उपाधि जित्नु अर्जेन्टिनाको लागि गौरवकै विषय रह्यो । मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न थालेको १६ वर्षसम्म पनि केही जित्न नसकेको भनेर लाग्ने गरेको आरोप अब हटेको छ ।

यसपटक मेस्सी र उनको टिमको प्रदर्शन राम्रो रह्यो । प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता समेत बने ।

यस्तै २८ वर्षपछि उपाधि जितेको अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसँग समेत बराबरी गरेको छ । यस्तै मेस्सीले यसपटक कोपामा केही कीर्तिमान समेत बनाएका छन् ।

कोपामा सर्वाधिक ३४ खेल

मेस्सीले कोपा अमेरिकाको इतिहासमा सर्वाधिक खेल्ने कीर्तिमान बराबरी गरे । ब्राजिलविरुद्ध फाइनल खेलेपछि मेस्सीले कोपामा सर्वाधिक ३४ खेल खेल्ने चिलीका सर्जियो लिभिङस्टोनको कीर्तिमानसँग बराबरी गरेका छन् ।

सन् २००७ देखि कोपा खेल्न थालेका मेस्सीले ६ संस्करण खेल्दै कीर्तिमान बराबरी गरेका हुन् । उनले २००७, २०११, २०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल ३४ खेल खेले । जसमा २१ खेलमा जित हात पारे ।

यस्तै २०१५ र २०१६ को फाइनलको पेनाल्टी सुटआउट बाहेक जम्मा ३ खेलमा मात्र मेस्सी सम्मिलित अर्जेन्टिना पराजित भएको थियो ।

कोपाको एकै संस्करणमा सर्वाधिक पाँच असिस्ट

मेस्सी गोल गर्न मात्र नभई गोलका लागि सहयोग गर्न समेत माहिर छन् । जुन उनले यसपटकको कोपामा पनि गरेर देखाए । अर्जेन्टिनाले उपाधि जित्दा कुल १२ गोल गर्‍यो । त्यसमा मेस्सीले ४ गोल गरे भने ५ गोलका लागि सहयोग गरे । अर्जेन्टिनाले गरेको १२ गोलमध्ये ९ गोलमा मेस्सीको भूमिका रह्यो ।

यस संस्करणमा ५ असिस्ट गरेका मेस्सी एकै संस्करणमा सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै उनले कोपामा ३४ खेल खेल्दा अहिलेसम्म १५ असिस्ट गरेका छन् जुन अर्को कीर्तिमान हो । उनीपछि रहेका अर्जेन्टिनाकै कार्लोस टेभेजले ६ असिस्ट गरेका छन् ।

अर्जेन्टिनाका लागि सर्वाधिक १५१ खेल

मेस्सीले यसपटकको कोपामा अर्जेन्टिनाले खेलेका सबै ७ खेल खेले । त्यस क्रममा उनले राष्ट्रिय टिमका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि बनाए । कोपा अघि मेस्सीले राष्ट्रिय टिमबाट १४४ खेल खेलेका थिए ।

समूह चरणमा चिली, उरुग्वे र पाराग्वेसँग खेल्दै ज्याभिएर मास्केरानोको नाममा रहेका १४७ खेलको कीर्तिमान बराबरी गरेका मेस्सीले बोलिभियाविरुद्ध खेल्दै उक्त कीर्तिमान तोडे । त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक १५१ खेल खेलेका छन् ।

६ संस्करण कोपा खेल्ने खेलाडी

मेस्सी ६ पटक कोपा अमेरिका खेल्ने पहिलो खेलाडी समेत बने । यसका लागि पनि उनले मास्केरानोकै कीर्तिमान तोडे । मास्केरानोले ५ संस्करण कोपा खेलेका छन् । सन् २००७ मा कोपामा डेब्यु गरेका मेस्सीले त्यसयता लगातार ६ संस्करण खेलेका हुन् ।

सन् २०१५ र २०१६ मा मेस्सीकै नेतृत्वमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भएको थियो । यसपटक भने मेस्सीकै नेतृत्वमा अर्जेन्टिना च्याम्पियन बन्यो ।

र, यो पनि

मेस्सीले कोपा अमेरिकामा ६ संस्करण खेल्दा कुल १३ गोल गरेका छन् । फिफा विश्वकपमा ६ गोल गरेका मेस्सीको ठूला प्रतियोगितामा गोल संख्या १९ पुगेको छ ।

कोपा अमेरिकाको इतिहासमा सर्वाधिक गोल गर्नेमा भने मेस्सी संयुक्त रुपमा सातौं स्थानमा छन् । उनी अर्जेन्टिनाकै नोर्बेटो मेन्डेज र ब्राजिलका जिजिन्हो भन्दा ४ गोलले पछि छन् । दुवै खेलाडीले समान १७ गोल गरेका छन् ।

पेरुका लोलो फर्नान्डेज र उरुग्वेका साभेरिनो भारेलाले समान १५ गोल गरेका छन् भने पेरुका पाउलो गुरेएरो र चिलीका एडुवार्डो भर्गासले समान १४ गोल गरेका छन् ।

मेस्सीसँगै अर्जेन्टिनाका गाब्रिएल बाटिस्टुटा र जोस मानुएल मोवरेनो, ब्राजिलका एडेमिर जेइर अनि उरुग्वेका हेक्टर स्कारोनले पनि १३ गोल नै गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment