+
+

महानगरको सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस

‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ हाम्रो अभियानः मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १४:४३

२७ असार, काठमाडौँ । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापले आज संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरे ।

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ ।

‘तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ,’ शुभारम्भपछि सम्वोधन गर्दै शाक्यले भने, ‘अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन्।’ मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको  उनले बताए  ।

काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप दिएको रु ३ करोड रुपैयाँ बाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महानगरपालिका र अस्पतालबीच वि.सं. २०७६ पुस २ गते उक्त सेवा सञ्चालन गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको थियो ।

सम्झौता अनुसार जडान गरिएका आठ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता  दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।  ‘तत्कालका लागि ४८ जना बिरामीलाई साताको दुई पटक सेवा प्रदान सकिन्छ,’ अस्पतालका प्रमुख सहायक रथि डाक्टर अरुण शर्माले भने, ‘सेवा काठमाडौं महानगरवासीहरूले आफू सम्बद्ध वडा कार्यालयवाट विपन्नको सेरोनेगेटिभ दिर्घ चरणको मृगौला रोगी (क्रोनिक किड्नी डिजिज स्टेज-५ पुगिसकेको) ले पाउनुहुनेछ ।’

यो सेवा प्रदान गर्नका लागि अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको पनि उनले जानकारी दिए। ‘यो सेवा सञ्चालनका लागि महानगरपालिकाले एक जना एमबीबीएस डाक्टर, तीन जना स्टाफ नर्स, एक जना हेमोडायलाइसिस प्राविधिक, एक जना अधिकारी र एक जना सफाई कर्मचारी गरी जम्मा सात जना जनशक्तिको लागि तलब खर्च व्यहोर्ने पनि सहमति भएको छ,’ उनले भने, ‘मिर्गौलाले काम नगरेको अवस्थामा शरीरमा जम्मा भएको दुषित पदार्थहरु शरीरबाट बाहिर निकाली स्वस्थ बनाउने विधिलाई डायलाइसिस भनिन्छ ।’

डाक्टर शर्माका अनुसार हाल देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेका छन् । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति बिरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?