Comments Add Comment

अब कोरोना खोप अभियान कार्यक्रम नियमित !

२७ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अब नियमित सञ्चालन हुने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबारको नियमित प्रेस ब्रिफिङमा चीनबाट खोप आउने क्रम जारी रहेको भन्दै नागरिकलाई खोप लगाउने कार्यक्रम अब नियमित हुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै खोप अभावमा कोही पनि तड्पिन नपर्ने भन्दै सन् २०२१ भित्र सबैजसो नागरिकलाई खोप लगाइसक्ने बताएका थिए ।

सरकारले ४० लाख खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग ‘नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सोही सम्झौता अनुसार पहिलो लटमा ८ लाख खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याउने सरकारको योजना छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।

खोपको उपलब्धता बढेसँगै खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । राष्ट्रिय खोप सञ्चालन कार्य नीति अनुसार नै विभिन्न जोखिम समूहलाई प्राथमिकताका आधारमा खोप दिने काम भएको उनको भनाइ छ ।

‘६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई पनि खोप दिएर उमेर समूहमा हामी प्रवेश गरिसकेका छौं,’ डा. पौडेलले भने, ‘यो उमेर समूहका सबै नागरिकले पूर्ण रुपमा खोप पाइनसकेको अवस्था हो । यो उमेर समूहका नागरिकलाई खोप पूरा गरेपछि ५५ वर्षमाथिका उमेर समूहलाई लगाउँछौं ।’

६५ वर्षमाथिका ज्येष्ठ नागरिकले कोभिशिल्डको पहिलो डोज लगाएको भए पनि समयमै खोप आपूर्ति हुन नसक्दा दोस्रो डोज लगाउन नपाएको उनले बताए । दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकका लागि खोपको व्यवस्थापन गर्न सरकार प्रयत्नरत रहेको उनले बताए ।

नेपालले थप खोप प्राप्त गर्ने क्रममा रहेको भन्दै डा. पौडेलले राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव एवं राष्ट्रिय खोप सञ्चालन कार्य नीति अनुसार प्राथमिकतामा परेका उमेर समूहलाई खोप दिइने बताए ।

‘प्राथमिकतामा परेका उमेर समूह, विगतमा विविध कारणले छुटेका जोखिममा पर्ने समूह, विभिन्न अवस्थाका जस्तै अपाङ्गता भएका व्यक्तिहरु, जोखिममा रहेका विभिन्न पेशाकर्मीहरुका मनोभावनालाई समेट्ने गरी सरकारले छिट्टै खोप लगाउने निर्णय गर्नेछ,’ डा. पौडेलले भने ।

केन्द्र सरकारले खोप प्राप्त गरेपछि जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला खोप समन्वय समितिले सूक्ष्म योजना बनाई खोप कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

‘जिल्ला खोप समन्वय समितिले आलोपालो गरी सबै पालिकाहरुको वडाहरुमा खोप सञ्चालन गर्छ,’ डा. पौडेलले भने, ‘सरकारले तय गरेको नीति अनुसार आफ्नो पालोमा खोप लगाउन नछुटाउनुहोला । महामारीको समयमा यस्तो महत्वपूर्ण चिज आफ्नो पालोमा लगाउन छुटेमा फेरि अरुको पालोमा लगाउन सहज नहुन पनि सक्छ । केही कठिनाइ बाहेक आ–आफ्नो पालोमा मात्रै खोप लगाउन अपील गर्न चाहन्छु ।’

सरकारले खोपका लागि अनलाइन दर्ता गर्ने ऐच्छिक व्यवस्था पनि मिलाएको भन्दै डा. पौडेलले खोप लगाउन इच्छुक नागरिकलाई अनलाइन फारम भर्न अनुरोध समेत गरे । खोप लगाउन इच्छुक नागरिकले अनलाइन फारम भर्दा खोप कार्यक्रमलाई थप व्यवस्थित गर्न सहज हुने उनको भनाइ छ ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।

कहाँबाट कति खोप आए ?

नेपालमा अहिलेसम्म ५० लाख ४८ हजार डोज कोरोना खोप भित्रिएको छ । शुक्रबार चीनबाट खरिद सम्झौता अनुसार ८ लाख डोज भेरोसेल खोप भित्रिएको थियो । यसअघि चीनले अनुदानमा १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो ।

यसैगरी नेपालले भारतसँग खरिद सम्झौता गरेकामध्ये १० लाख र अनुदानमा ११ लाख कोभिशिल्ड खोपको मात्रा प्राप्त गरेको थियो । भारतसँग खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप आउन बाँकी नै छ । यस्तै कोभ्याक्स कार्यक्रममार्फत कोभिशिल्डको ३ लाख ४८ हजार डोज खोप प्राप्त आएको थियो ।

पूर्ण खोप लगाउने नागरिक कति पुगे ?

नेपालमा आइतबारसम्म १० लाखभन्दा बढी नागरिकले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार कोभिशिल्ड र भेरोसेल गरी १० लाख ४१ हजार ३६६ जना नागरिकले दुवै मात्रा खोप लगाएका छन् । पहिलो डोज मात्रै लगाउनेको संख्या १५ लाख ७० हजार ४४१ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment