Comments Add Comment

वाग्मतीमा विपक्षीले भने : बजेट असन्तुलित र विभेदकारी

२७ असार, हेटौंडा । वागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेटमाथिको छलफलमा विपक्षी दलले सरकारको चर्को आलोचना गरेको छ ।

छलफलका क्रममा कतिपय सांसदले बजेट खारेजीको माग गरे भने केहीले सरकारलाई नालायक र ढोंगी कम्युनिस्टको संज्ञा दिएका छन् । सत्तारुढ नेकपा एमालेकै माधवकुमार नेपाल पक्षका सांसदले समेत बजेटमा समर्थन नरहेको भन्दै विरोध गरेका थिए ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बजेटलाई विभेदकारी संज्ञा दिए । उनले भूगोल विशेष र आवश्यकताको आधारमा भन्दा मन्त्रीमुखी र गुटलाई प्रश्रय दिने खालको बजेट आएको टिप्पणी गरे । सांसद जम्मकट्टेलले विगतको बजेटमा निरन्तर रुपमा राखिएको द्वन्द्वपीडितलाई सहयोग गर्ने कार्यक्रम यो वर्ष किन कटौती गरेको भनी प्रश्न गरे ।

नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बजेटले गरिबलाई सम्बोधन नगरेको भन्दै सरकारले तल्ला वर्गहरुलाई हेँला गरेको आरोप लगाए । ‘बजेटको प्राथमिकतामा भोक र खोप पर्नुपर्नेमा सरकार गम्भीर भएन, कोरोनाका कारण रोजगारी गुमाएर गरिब, विपन्न मानिसहरु खान नपाएर बसिरहेको छन्, उनीहरुको हितमा बजेट किन ल्याउन नसकेको ?’ उनले प्रश्न गरे ।

माओवादी केन्द्रका सांसद प्रदेश सभा सदस्य विशाल खड्काले सरकारले बजेट समाजवाद उन्मुख भन्न लाज मान्नुपर्ने बताए । उनले ढाेंगी कम्युनिष्ट सरकार भन्दै बजेट खारेजीको माग गरे । पूर्वमन्त्रीसमेत रहेको युवराज दुलालले बजेटमा असन्तुलन रहेको भन्दै मन्त्रीको खल्तीको योजना छनोट गरिएको आरोप लगाए ।

कांग्रेस सांसद न्हुच्छेनारायण श्रेष्ठ बजेट मन्त्रीमुखी र व्यक्ति केन्द्रित भएको बताए । उनले योजना बैंक किन स्थापना गरेको भन्दै काम नगर्ने भएर खारेज गरे हुने तर्क गरे ।

विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौडेल खर्च कटौतीको प्रस्ताव गरेका छन् । उनले सञ्चार गृह स्थापना गर्ने खारेज गर्नुपर्ने माग गरेका थिए । यस्तै विभिन्न नाममा हुने सांसद विकास कोष खारेज हुने माग गरे ।

नेकपा एमालेका सांसद हिरानाथ खतिवडाले सरकार सही ढंगले नहिँडेको बताएका छन् । बजेट बढाएर अब्बल देखाउन खोजेता पनि बेकामको बजेट भन्दै ‘गुटलाई पोस्न बजेट’ को आरोप लगाए । उनले समाजवादको नाममा अब राजनीति नगर्न भन्दै पढ्दा नबुझिने, हेर्दा नदेखिने, सुन्दा अस्पष्ट बजेटले समाजवाद नआउने बताए ।

राप्रपाकी सांसद रिना गुरुङले चितवनको सुजिता भण्डारी हत्याकाण्डबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले सरकारले आम सर्वसाधारण जनतालाई केही काम नै नगरेको आरोप लगाए ।

नेपाली कांग्रेसकी सांसद गीता वाग्लेले बजेटमाथिको छलफलमा सरकारलाई नालायकको संज्ञा दिइन् । उनले जनमुखी बजेट ल्याउन नसक्ने सरकारलाई लाज नलागेको भन्दै रोष प्रकट गरिन् ।

मिडिया होइन, छापाखाना सञ्चालन गर्ने हो : मुख्यमन्त्री

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आमसञ्चार गृह सञ्चालन गर्न नखोजेको स्पष्टीकरण दिए । उनले प्रदेश सरकारले छापाखाना सञ्चालन गर्न लागेको भन्दै त्यसमा पुस्तक र राजपत्रहरु छाप्ने जानकारी दिए ।प्रदेशसभामा विपक्षी दलका सांसदहरुले सरकारले आमसञ्चार गृह सञ्चालन गर्न नहुने भन्दै उक्त कार्यक्रम फिर्ता लिन माग गर्दै आएका थिए ।

मुख्यमन्त्री पौडेलले विद्युतीय बस चलाउन विभिन्न स्थानमा चार्जिङ स्टेसन राख्ने कुरा तयारी भइसकेको बताए । उनले बसका लागि चार्जिङ स्टेशन स्थापना गर्न टेन्डर प्रक्रिया अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment