
२७ असार, गोरखा । करिव एक महिनादेखि वेपत्ता प्रहरी जवानको खोजीका लागि उद्धार कार्यका विज्ञ टोली गोरखा आएको छ । गण्डकी प्रदेशबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली खटिएको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए ।
कञ्चनपुर जिल्ला घर भई हाल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुवँर यही असार १ गतेदेखि सम्पर्कविहीन छन् ।
‘सम्पर्कविहीन भएका जवानको खोजीका लागि हामीले प्रदेश प्रहरी कार्यालयलाई अनुरोध गरेका थियौं,’ उनले भने, ‘प्रदेशले सात जनाको टोली खटाएको छ ।’ कुकुरसहित आएको उक्त टोली शनिबार गोरखा आएको र सोही दिन आरुघाट पुगेको उनले जानकारी दिए ।
‘हिजो आरुघाटमा बस्नुभयो, आज उहाँहरुसँगै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षकको कमाण्डमा थप सात जना टोली उत्तरी गोरखातर्फ लाग्नुभएको छ,’ एसपी खनालले भने ।
घर बिदाबाट कार्यक्षेत्र फर्कने क्रममा खोर्लावेशीबाट उनी सम्पर्कविहीन भएको एसपी खनालले बताए । ‘अघिल्लो दिन खोर्लावेशीमा वास बसेर असार १ गते बिहान त्यहाँबाट हिँडेको मान्छे त्यसपछि सम्पर्कविहीन छ,’ उनले भने ।
प्रतिक्रिया 4