२८ असार, काठमाडौं । वेम्बली मैदान सोमबार बिहान सम्पन्न फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर इटलीले ५३ वर्षपछि युरोकपको उपाधि जित्यो । इंग्ल्याण्डका बुकायो साकाको अन्तिम पेनाल्टी प्रहार गोलकिपर जियानलुजी डोनारुम्बाले बचाएपछि इटली च्याम्पियन बनेको हो ।
युरोकपको ६० वर्षे इतिहासमा इटलीले दोस्रो पटक उपाधि जित्दा इंग्ल्याण्ड भने ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुग्दा उपविजेतामै सीमित भयो ।
इटलीले यसअघि सन् १९६८ मा युरो जितेको थियो । यस्तै इंग्ल्याण्डले १९६६ मा विश्वकप जितेको थियो भने युरोकपमा यही संस्करणमा पहिलो पटक फाइनल पुगेको थियो ।
इटली एकभन्दा धेरै युरोकप जित्ने चौथो टिम बनेको छ । इटलीले यसअघि सन् १९६८ मा युरो जितेको थियो ।
इटली बाहेक जर्मनी (पश्चिम जर्मनीहसित) र स्पेनले सर्वाधिक तीन/तीन पटक र फ्रान्सले दुई पटक युरो जितेका छन् । अन्य ६ टिमले १-१ पटक युरो उपाधि जितेका छन् । सोभियत युनियन, चेक रिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क, ग्रीस र पोर्चुगलले एक पटक युरो ट्रफी उचालेका छन् ।
इटलीले दोस्रो उपाधि जित्नका लागि ५३ वर्ष पर्खनुपर्यो । जुन युरोकप जित्ने टिमको सबैभन्दा लमो ग्याप हो ।
यस्तै इटली एकै युरोकपमा दुई पेनाल्टी सुटआउटमा विजयी हुने पहिलो टिम बन्यो । इटलीले सेमिफाइनलमा स्पेनलाई पनि पेनाल्टी सुटआउटमै पराजित गरेको थियो ।
इटलीका डिफेण्डर लियोनार्दो बोनुची युरोकपको फाइनलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने । उनले इंग्ल्याण्डविरुद्ध ६७ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
फाइनल खेल्दा बोनुची ३४ वर्ष ७१ दिनका थिए । युरो च्याम्पियन इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई समेत ३४ खेलसम्म पुर्याएको छ।
यी हुन् अहिलेसम्मको १५ संस्करणको विजेता
सन् १९६० : सोभियत संघ
सन् १९६४ : स्पेन
सन् १९६८ : इटली
सन् १९७२ : पश्चिम जर्मनी
सन् १९७६ : चेकोस्लोभाकिया
सन् १९८० : पश्चिम जर्मनी
सन् १९८४ : फ्रान्स
सन् १९८८ : नेदरल्याण्ड्स
सन् १९९२ : डेनमार्क
सन् १९९६ : जर्मनी
सन् २००० : फ्रान्स
सन् २००४ : ग्रीस
सन् २००८ : स्पेन
सन् २०१२ : स्पेन
सन् २०१६ : पोर्चुगल
सन् २०२० : इटली
प्रतिक्रिया 4