Comments Add Comment

कोरोना खोपबारे ओलीको दाबी कति सही ? कति गलत ?

२९ असार, काठमाडौं । मंगलबार सिंहदरबार छाड्नुअघि देशवासीको नाममा सम्बोधन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी केही महिनाभित्रै सबै नेपालीले कोरोना खोप पाउने सुनिश्चित भएको दाबी गरे ।

प्रतिकूल अवस्थामा पनि कोभिड महामारीविरुद्ध प्रभावकारी काम गरेको जिकिर गर्दै ओलीले हालसम्म खोप लगाउनेको विवरण सुनाए । उनका अनुसार ९ लाख ३२ हजार ८६८ ले दुवै डोज र १६ लाख ७८ हजार ९९३ जनाले पहिलो डोज लगाएका छन् । १ करोड ३१ लाख डोज खोप नेपाल आउने सुनिश्चित भएको दाबी गरेका उनले २ करोड डोजभन्दा बढी खरिदको प्रक्रिया अघि बढेको भन्दै खोपको अभाव नभएको बताए ।

सम्बोधनका क्रममा निवर्तमान प्रधानमन्त्री ओलीले कहाँबाट कति खोप आए भन्ने हिसाब मात्र सुनाएनन्, खरिद प्रक्रियामा रहेको खोपको हिसाब पनि सुनाए । तर ओलीले सुनाएको हिसाब नमिलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताए ।

उनीहरु भन्छन्, ‘आएको खोपको हिसाब सही छ, तर खरिद प्रक्रियामा रहेको भनिएको खोप आउने नआउने टुंगो छैन ।’

ओलीको दाबी र यथार्थ

ओलीको दाबी : भारतबाट ११ लाख डोज अनुदानमा आएको छ, १० लाख खरिद गरिएको छ ।

सम्बोधनका क्रममा निवर्तमान प्रधानमन्त्री ओलीले कहाँबाट कति खोप आए भन्ने हिसाब मात्र सुनाएनन्, खरिद प्रक्रियामा रहेको खोपको हिसाब पनि सुनाए । तर ओलीले सुनाएको हिसाब नमिलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताए ।

यथार्थ : भारत सरकारले शुरुमा १० लाख र भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज सेरम इन्स्टिच्युटको कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गरेको थियो । तर यसमध्ये १० लाख डोज मात्र नेपालले पाएको छ । बाँकी १० लाख डोज खोप अझै आएको छैन । यो खोप नआएका कारण कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले अझै दोस्रो डोज पाएका छैनन् ।

ओलीको दाबी : चीनबाट १८ लाख अनुदानमा आएको छ, थप १६ लाख अनुदान दिँदैछ ।

यथार्थ : शुरुमा ८ लाख डोज भेरोसेल खोप दिएको चीनले दुई देशका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएपछि थप १० लाख डोज खोप अनुदानमा दियो । तर त्यसपछि थप १६ लाख डोज अनुदान दिने घोषणा गरेको कुनै सूचना छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार अनुदानमा ल्याउन असम्भव भएपछि नै ‘नन डिस्क्लोजेबल एग्रिमेट’ गरेर ४० लाख डोज खरिद गरिएको हो ।

ओलीको दाबी : चीनसँग ४० लाख खरिद गर्‍यौं, थप ६० लाख खरिदको प्रक्रियामा छ

यथार्थ : निवर्तमान प्रधानमन्त्रीले भने जस्तै सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि ‘नन डिस्क्लोजेबल एग्रिमेट’ गरेको छ । पहिलो लटमा ८ लाख डोज भेरोसेल खोप आइसकेको छ भने ३२ लाख क्रमशः आउनेछ ।

तर थप ६० लाख डोज खरिदको प्रक्रिया अगाडि बढेको छैन । स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार ४० लाख डोज खोप आइसकेपछि मात्रै थप खरीदमा प्रकिया अघि बढाउने/नबढाउने निर्णय गर्ने सम्झौतामा उल्लेख छ ।

ओलीको दाबी : अमेरिकाले १५ लाख खोप दियो, जापानले १६ लाख दिने घोषणा गरेको छ ।

यथार्थ : अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत एक डोज मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप दिएको छ । यो खोप सोमबार मात्र नेपाल आइपुगेको छ । यस्तै जापानले आफ्नो मुलुकमा उत्पादित एस्ट्राजेनेकाका १६ लाख डोज खोप दिने नेपाललाई कोभ्याक्समार्फत घोषणा मंगलबार मात्र गरेको छ । तर कहिले आइपुग्छ भन्ने खुलेको छैन ।

ओलीको दाबी : कोभ्याक्स कार्यक्रममार्फत ३ लाख ४८ हजार डोज खोप आइसक्यो । ३ लाख ५० हजार डोज आउँदैछ । ६० लाख डोज क्रमशः प्राप्त हुनेछ  ।

यथार्थ : कोभ्याक्स कार्यक्रममार्फत ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप २३ फाुगन २०७७ मा नेपाल आइपुगेको थियो । ३ लाख ५० हजार डोज आउने भनिएको पनि हो । तर पटक–पटकको भाखा सर्दा पनि खोप आएको छैन ।

यस्तै क्रमशः आउने भनिएको ६० लाख डोजबारे अहिले नै केही भन्न सकिने अवस्था छैन । कोभ्याक्स कार्यक्रममार्फत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने अर्थात् १ करोड २० लाख डोजसम्म खोप पाउने अपेक्षा गरिएको छ । पछिल्लो समय अमेरिकाले दिएको र जापानले दिने घोषणा गरेको खोप पनि कोभ्याक्समार्फत नै आएको हो । यो खोप शुरुमा आउने भनिएको २० प्रतिशतभित्रै पर्छ वा थप हो भन्ने पनि प्रष्ट भइसकेको छैन ।

ओलीको दाबी : जोन्सन एण्ड जोन्सनले ५० लाख, मोडेर्ना र फाइजर ४०/४० लाख, कोभिशिल्ड/एस्ट्राजेनेकाको २० लाख डोज खोप खरिद प्रक्रियामा छ ।

यथार्थ : खोप खरिद प्रक्रिया शुरु नै भएको छैन । खोप खरिदका लागि नेपाल इच्छुक रहेको जानकारीसहित खोप उत्पादक कम्पनीहरुलाई पत्र पठाइएको हो । तर सम्बन्धित कम्पनीहरुले तत्काल खोप उपलब्ध गराउन नसक्ने बताएकाले खरिदको प्रक्रिया अगाडि नै नबढेको विभागका अधिकारीहरु बताउँछन् ।

उनीहरुका अनुसार जोन्सन एण्ड जोन्सनले सन् २०२१ सम्ममा खोप पठाउन नसक्ने बताएको छ । अन्य कम्पनीले तत्काल खोप दिने इच्छा देखाएका छैनन् ।

ओलीको दाबी : बालबालिकालाई दिन मिल्ने फाइजरको ६० लाख खरिद प्रक्रिया अगाडि बढेको छ ।

यथार्थ : स्वास्थ्य सेवा विभागका अधिकारीका अनुसार कुनै प्रक्रिया अघि बढेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment