Comments Add Comment

सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट पहिचानमा बेवास्ता

३० असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको दैनिक संक्रमण दर कम भए पनि संक्रमणको जोखिम कम भएको छैन । पछिल्लो एक हप्तामा प्रदेशमा दैनिक २५ देखि ६६ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ भने दुई जनाको मृत्यु भएको छ ।

असार २१ गते एक हजार ५५ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने २७ असारमा ७३० जनाको परीक्षण गर्दा २५ जना संक्रमित थपिएका थिए । प्रदेशमा सोमबार एक हजार ११४ जनाको परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि हुँदा मंगलबार ९७८ जनाको परीक्षण गर्दा ६६ जना संक्रमित थपिएका छन् । जुन कुल परीक्षणको ६.७४८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो समय प्रदेशमा दैनिक परीक्षणको ३ देखि साढे ७ प्रतिशत संक्रमित थपिरहेका छन् । तर उनीहरुमा कस्तो खालको संक्रमण भएको हो ? भन्ने विषयको पहिचान हुन सकेको छैन । मुलुकका अधिकांश स्थानमा ‘डेल्टा प्लस’ नाम दिइएको नयाँ भेरियन्टको संक्रमण पुष्टि भइसकेका बेला सुदूरपश्चिममा भने पहिचान गर्न ध्यान नदिएको पाइएको छ ।

चिकित्सकले प्रदेशमा कोरोनाको नयाँ भेरिन्टको संक्रमण फैलिए नफैलिएको पहिचान गर्न सकेमा संक्रमितको उपचारमा सहजता हुने उल्लेख गरेका छन् । सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख समेत रहेका फ्याम्ली फिजिसियन डा. जगदीश जोशीले नयाँ भेरियन्टको समयमै पहिचान भएमा थप फैलिनबाट रोक्दै संक्रमितको उपचार तथा व्यवस्थापनको काम गर्न सहज हुने बताए ।

‘नेपालकै कतिपय स्थानमा देखिएको नयाँ भेरियन्टले कोरोनाविरुद्धको खोप लगाइसकेका मानिसलाई समेत असर गरेको भन्ने कुरा आइरहेको छ,’ डा. जोशीले भने, ‘विगतका भेरियन्टको तुलनामा बढी जटिलता सिर्जना गर्ने खालको छ भनिन्छ । हाम्रोमा पनि फैलिए नफैलिएको बारेमा पहिचान हुन सकेको छैन । समयमै पहिचान भए नियन्त्रण गर्न सहज हुन्छ ।’

जोशीले प्रदेशमा अहिले दैनिक कम्तीमा पनि ४०–५० जनामा संक्रमण पुष्टि भइरहेकाले यसलाई व्यवस्थापन गर्न नसकेमा तेस्रो चरणको संक्रमण फैलाउन सघाउने भएकाले नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिए । चिकित्सकले नयाँ भेरियन्टको पहिचान गरेर सोहीअनुसारको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका बेला त्यसबारे सम्बन्धित निकायले भने चासो नदिएको पाइएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मागेपछि नमुना पठाइने

सुदूरपश्चिममा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टको पहिचान गर्न परीक्षणका लागि नमुना पठाउन ढिलाइ गरिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नमुना मागेपछि परीक्षणका लागि पठाउने जनाएको छ ।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले अहिले नयाँ भेरियन्टको पहिचानका लागि नमुना नपठाइएको तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट माग भएपछि संकलन गरेर पठाइने जानकारी दिए ।

‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले परीक्षणका लागि नमुना पठाउन भनेपछि हामीले संकलन गरेर पठाउने हो,’ ओझाले अनलाइनखबरसँग भने, ‘अब अर्को चरणमा हामी संक्रमितहरुको नमुना संकलनका लागि परीक्षणका लागि पठाउँछौं ।’ प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले नयाँ भेरियन्ट परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment