Comments Add Comment

टी-२० वरीयतामा कुशल भुर्तेल वेष्ट इण्डिजका पोलार्डभन्दा अगाडि

कुशल भुर्तेल

३० असार, काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका कुशल भुर्तेल वेष्ट इन्डिजका कप्तान काएरन पोलार्डभन्दा अगाडि रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार अपडेट गरेको वरीयता अनुसार टी–२० को ब्याट्सम्यानतर्फ नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ५९औं स्थानमा उक्लेका छन् । पोलार्ड भने ६०औं स्थानमा झरेका छन् ।

गत वैशाखमा भएको नेपाल, नेदरल्याण्ड र मलेसियाबीचको त्रिकोणात्मक सिरिजबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशल उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो पटक वरीयतामा समावेश भएका थिए । त्यस यता कुशलको वरीयतामा सुधार हुँदै आएको छ ।  कुशलको ४४२ रेटिङ छ भने पोलार्डको ४४० छ । टी–२० वरीयतामा नेपालका कुशल नाम चलेका अन्य खेलाडीहरु भन्दा अघि छन् । बंगलादेशका शकिब अल हसन पोलार्डसँगै ६०औं स्थानमा छन् ।

यस्तै वेष्ट इन्डिजका शिमरोन हेतमायर ६२औं, भारतका सूर्यकुमार यादव ६६औं, ऋषव पन्त ७२औं र अष्ट्रेलियाका स्टिभ स्मिथ ७३औं स्थानमा छन् । नेपालका पूर्व कप्तान पारस खड्का ९१औं स्थानमा छन् भने वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९६औं स्थानमा झरेका छन् ।

टी–२० वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान शीर्ष स्थानमा छन् भने पाकिस्तानका कप्तान बाबर अजाम दोस्रो र अष्ट्रेलियाका कप्तान आरोन फिन्च तेस्रो स्थानमा छन् । यस्तै बलिङतर्फ नेपालका एक खेलाडी मात्र वरीयतामा समावेश छन् । नेपाली लेगस्पीनर सन्दीप लामिछाने ७८औं स्थानमा छन् । विश्व वरीयताको शीर्ष तीन स्थानमा पनि स्पीनर नै छन् । दक्षिण अप्रिकाका ताब्रेज शाम्सी, अफगानिस्तानका रासिद खान र इंग्ल्याण्डका एदिल रसिद शीर्ष तीनमा छन् ।

यस्तै टीमतर्फ नेपाल १३औं स्थानमै यथावत् छ । एशोसिएटतर्फ नेपाल नम्बर वान टिमको रुपमा रहेको छ । वरीयतामा इंग्ल्याण्ड पहिलो, भारत दोस्रो र न्युजिल्याण्ड तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment