Comments Add Comment

सुनसान फिल्म बजारमा कलाकारको महंगो पारिश्रमिक

डेढ बर्षदेखि शुन्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ अझै भन्न सकिने अवस्था छैन । चलचित्रबाट नै करिअरलाई अगाडि बढाइरहेका धेरै चलचित्रकर्मीको भविष्य अन्यौलमा छ । केही कलाकार र प्राविधिकहरुले म्यूजिक भिडियोबाट राम्रै रकम कमाएपनि सबैको अवस्था भने यस्तो छैन ।

कतिपय कलाकारले भिडियोमा काम गरेका छैनन् । कतिपयले भने भिडियोबाट नै आफूलाई आर्थिक रुपमा बलियो बनाएका छन् । चलचित्रमा चलेपछि भिडियोमा पनि महंगो पारिश्रमिक लिने कलाकारहरु चलचित्रको काम सुरु गर्न नपाउँदा छटपटीमा भने छन् ।

कोरोनाका कारण चलचित्रमा लगानी गरेर के हुने हो भन्ने अवस्थामा कैयौं लगानीकर्ता छन् । तर, पनि चलचित्रमा लगानी गर्न हौसिने निर्माताको पनि कमी छैन ।

पछिल्लो केही बर्षदेखि कलाकारको पारिश्रमिकमा नै लाखौं रकम खर्च गर्नुपर्ने भएका कारणले गर्दा चलचित्रको निर्माण बजेट बढेको छ । यसैले, कोरोनाको महामारीपछि कलाकारले पारिश्रमिकमा संझौता नगर्ने हो भने चलचित्र नै बनाउन सक्ने अवस्था नरहेको तर्क पनि कतिपय निर्माताको छ ।

तर, चलचित्रमा काम गरेर नाम कमाएका कलाकारहरु भने पारिश्रमिक घटाउने मुडमा देखिएका छैनन् । केही महिना अगाडि मात्र नायक अनमोल केसीका लागि निर्देशक मुकुन्द भट्टले ‘९ एक्स’ चलचित्रका लागि ५० लाख भन्दा बढी पारिश्रमिक अफर गरेको चर्चा भएको थियो । निकै कम चलचित्रमा काम गर्ने अनमोल आफ्नो महंगो पारिश्रमिक घटाउने मुडमा नरहेको यसबाट पनि प्रष्ट हुन्छ ।

पारिश्रमिककै हकमा नायक प्रदिप खड्कादेखि पुष्प खड्का, नाजिर हुसेन पनि कम छैनन् । नाजिरले पहिलो चरणको लकडाउनपछि निर्माण घोषणा गरिएको चलचित्र ‘चिल गाडी’का लागि ७ लाख पारिश्रमिकमा साइन गरेका थिए । साथमा, उनलाई यसको निर्माण टिमले एउटा देशको अधिकार दिने संझौता पनि गरेको छ । श्रोतका अनुसार, नाजिर चलचित्रका लागि १० लाख माथिको पारिश्रमिक डिमाण्ड गर्छन् ।

नायक पुष्प खड्का पनि लगातार चलचित्रको अफर आउन थालेपछि पारिश्रमिकको बिषयमा महंगीएका छन् । पुष्पलाई चलचित्रको अफर गर्दा निर्माताले १० लाख माथिकै बजेट छुट्याउनु पर्ने अवस्था आएको छ ।

नेपाली चलचित्रमा रोजाइको नायक बनेपछि पुष्पले १२ लाख हारहारीमा पारिश्रमिक माग्न थालेका छन् । हालै मात्र उनले एक चलचित्रका लागि १२ लाख हारहारीको पारिश्रमिक मागेको वुझिएको छ । चलचित्र ‘मंगलम’ चलेपछि उदाएका पुष्पलाई एक बर्षमा आधा दर्जन बढी चलचित्रका अफर आउन थालेका छन् । यसैले, पारिश्रमिकको मामालामा पनि उनी महंगो भएका हुन् ।

नायक प्रदिप खड्काले चलचित्र ‘प्रकाश’का लागि पनि महंगो पारिश्रमिक वुझेका छन् । अधिकांश चलचित्रमा २० लाख हारहारीको पारिश्रमिक वुझ्दै आएका प्रदिपले यो चलचित्रका लागि भने आफ्नो समय पनि प्रशस्त दिएका थिए । प्रदिपको करिअरलाई नै नयाँ ढंगले अगाडि बढाउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।

नायिका स्वस्तिमा खड्काले लकडाउन पछि निर्माण भएको चलचित्र ‘चिसो मान्छे’का लागि १८ लाख पारिश्रमिक वुझ्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘तिम्रो मेरो साथ’का लागि १२ देखि १५ लाखको विचमा पारिश्रमिक वुझेकी थिइन् ।

कोरोना महामारी सकिएपछि नेपाली चलचित्रको निर्माण, गती र व्यापार कस्तो हुने हो अहिले नै विश्लेषण गर्न सकिने अवस्था छैन । तर, कलाकारहरुको पारिश्रमिकको ग्राफ भने उकालो लागेको छ, घटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ती ओली, यी देउवा

Advertisment