+
+
अग्रपथ :

लोकतन्त्रको क्षयीकरण, तेस्रो पुस्ताको बकवास र सामूहिक असफलताको पीडा

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ साउन ३ गते १६:१८

वर्ग, वर्ण, लिङ्ग, क्षेत्र, नश्ल, समुदाय, सभ्यता र शैक्षिक/प्राविधिक प्रारुप जस्तै ‘पुस्ता’ एक बलियो सामाजिक प्रवर्ग वा राजनीतिक अवधारणा हो । पुस्ताको मुख्य आधार उमेर वा समयावधि नै हो । औसत १० वर्ष अर्थात् १–२० वर्ष अवधिमा अभिव्यक्त हुने सोच र शैलीको भिन्नपन वा प्रवृत्तिगत मौलिकतालाई ‘पुस्ता’ मान्न सकिन्छ ।

तर पुस्ता जैविक उमेर मात्र भने हैन । पुस्ता मान्छेले बाँच्ने औसत समय मात्र पनि हैन । पुस्ता एक विचार, एक प्रवृत्ति हो । पुस्ता एक कर्तव्य र दायित्व, एक विद्रोह र क्रान्ति हो । पुुस्ता एक विध्वंस र विनिर्माण, एक रचना र सृजना हो । यी कुनै चिज देखिएन भने उमेर वा समयाअधि बितेर त्यो पुस्ता हुँदैन, मानिंदैन । पुस्ता कुनै खास समयमा जन्मिएका त्यस्ता मान्छेहरूको समूह हो, जसले इतिहासलाई पुन: आकारित गर्दछन् । कुनै नयाँ सोच, शैली र प्रवृत्ति दिन्छन् ।

सन्तान दरसन्तानको जैविक प्रक्रियाले पुस्तालाई जन्म र उमेरको निरन्तरतामा हेर्दछ । आर्थिक, सामाजिक, राजनीतिक तथा वैचारिक दृष्टिविन्दुले भने पुस्तालाई औचित्यमा हेर्दछ । हरेक पुस्ताका लागि इतिहासले केही न केही दायित्व, केही न केही कर्तव्य दिएको हुन्छ । जसले त्यो कर्तव्य पूरा गर्दछ, त्यो पुस्ता बन्दछ । अन्यथा उमेर समूहमा सीमित हुन्छ । केवल उमेरले नयाँ पुस्ता प्रमाणित हुँदैन, त्यसलाई विचार र कर्मको मौलिकताले सिद्ध गर्नुपर्दछ । कार्ल मेन्हेमका शब्दमा ‘उमेर र समय पुस्ताको मात्रात्मक पक्ष हो, गुणात्मक पक्ष त्यसले इतिहासमा छोड्ने मौलिक छाप हो ।’

करीब एक शताब्दी पुग्न लाग्यो, हाम्रो लोकतान्त्रिक आन्दोलन । नेपालको लोकतान्त्रिक आन्दोलन २००७ सालबाट गणना गर्ने प्रचलन सही र उपयुक्त हैन । यो अवधारणाले त्यसअघिका करीब दुई दशकलाई अवमूल्यन गर्दछ । २००७ सालअघिका करीब दुई दशक, राणा शासनको उत्तरार्धतिरका लोकतान्त्रिक योद्धाहरूको संघर्षको भीषणता, पराक्रम र योगदान कुनै अर्थमा त्यसपछिको पुस्ताको भन्दा कम आँक्न मिल्दैन ।

नेपालको लोकतान्त्रिक आन्दोलनको महायज्ञ यथार्थमा वि।सं। १९९० को दशक बाटै शुरुवात भइसेको थियो । प्रजा परिषदको गठन, त्यसले समाजमा ल्याएको जागरण र राणा शासन विरोधी भावनाको विकास, १९९७ सालका चार शहीदको महान बलिदानलाई बाहिर राखेर नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास गणना हुनै सक्दैन ।

नेपाली कांग्रेसको गठन प्रजा परिषद्ले निर्माण गरेको चेतना र वातावरणकै विरासत थियो । त्यसैको जगमा २००७ सालको क्रान्तिको मुख्य संवाहक शक्ति नेपाली कांग्रेस बन्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ चार शहीदमध्ये एक गंगालाल श्रेष्ठका भाइ थिए । पुष्पलालले प्रारम्भिक राजनीति प्रजा परिषद्बाटै शुरुवात गरेका थिए । पछि नेपाली कांग्रेस हुँदै कम्युनिष्ट भए ।

१९९०–२०१० मा सक्रिय भएको पुस्ता नै हाम्रो लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ता हो । यो पुस्ताको मुख्य योगदान राणशासन ढाल्नु र समाजमा आधुनिक लोकतान्त्रिक चेतनाको प्रकाश छर्नु थियो । नेपाली समाजको ‘लोकतन्त्रीकरण’ र ‘आधुनिकीकरण’ का भिन्नाभिन्नै कालखण्ड र अध्याय छैनन् । यहाँ लोकतन्त्रीकरण भन्नु नै आधुनिकीकरण हो, आधुनिकीकरण भन्नु नै लोकतन्त्रीकरण हो । अन्य देश र समाजमा करीब दुई शताब्दी अघि देखापरेको लोकतान्त्रिक आधुनिकीकरणको सामाजिक जागरण हाम्रोमा त्यो समयावधिका जागृत भएको थियो ।

२००७–२०१७ सालको बीचमा वा त्यसपछि कोको बिके, कोको दरबार छिरे, कोको पञ्चायत प्रवेश गरे, कोको कसरी–कसरी कुनकुन लाभको पदमा पुगे, केकति कमाए, केकति सुख, सयल र मोजमस्तीको जिन्दगी बिताए, पार्टी, आन्दोलन र क्रान्तिलाई के कति धोका र गद्दारी गरे, लोकतान्त्रिक आन्दोलनको मर्म, मान्यता र गौरवबाट के कति पलायन वा स्खलित भए, त्यो एक क्षणलाई बिर्सिदिऊँ । त्यो एउटा पाटो हो । तथापि त्यस्ता पात्रहरूले पनि केही न केही संघर्ष र योगदान त गरेका थिए ।

सम्भवत् टंकप्रसाद आचार्य, बीपी कोइराला, डा. डिल्लीरमण रेग्मी, मातृका कोइराला, डा. केआई सिंह, पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, डा. केशरजंग रायमाझी आदि हाम्रो लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ता थियो । यही पुस्ताका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान आदि पछिसम्म बाँचे । २०३६–२०४६ को अवधिमा मात्र हैन, जनआन्दोलन २०६२–६३ सम्म यो पुस्ताको प्रभाव र नेतृत्व रह्यो । २०४६ सालको पहिलो जनान्दोलनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सहाना प्रधानको भूमिका आफैंमा स्तुत्य र अतुलनीय छँदै थियो । २०६२–६३ दोस्रो जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाको योगदान र उँचाइ झनै माथि थियो ।

यो पुस्तामा गणना गर्न मिल्ने जीवित व्यक्तित्व अब शायद मोहनविक्रम सिंह मात्र हुन् । सधैं जिम्लिएको कहिल्यै नफस्टाउने नेकपा (मसाल) नामको सानो समूह चलाइरहेका सिंहप्रति कसैको कुनै अपेक्षा बाँकी छैन ।

यहीनेर एक ‘कट अफ’ निर्माण हुन्छ र जबरजस्त दोस्रो पुस्ता देखा पर्दछ । दोस्रो पुस्तामा गन्न सकिने कतिपय बिते, कतिपय जीवितै छन्, कतिपय सक्रिय छन्, कतिपय निष्क्रिय भइसके । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल छँदैछन्, शैलजा आचार्य बितेर गइन् । झापाली धारका मैनाली दाजुभाइ सीपी मैनाली र आरके मैनालीको राजनीतिक नियति जेजस्तो होस्, यो पुस्तामा उनीहरूको भूमिका जोडदार थियो । मोहनचन्द्र अधिकारी यो श्रृङ्खलामा छुटाउन मिल्ने नाम हैन । एमाले धारका मदन भण्डारी बिते । माधव नेपाल, झलनाथ खनाल, केपी ओली, वामदेव गौतम छँदैछन् । माओवादी धारबाट प्रचण्ड, डा. बाबुराम भट्टराई र मोहन वैद्यको भूमिका यो पुस्तामा अद्वितीय रह्यो । मधेशमा रामराजा प्रसाद सिंह र गजेन्द्रनारायण सिंहको झण्डा यही अवधिमा हराएको थियो ।

पहिलो र दोस्रो पुस्ता त्यति निरर्थक थिएन, जति तेस्रो पुस्ता सावित भएको छ । दोस्रो पुस्ताले पहिलो पुस्तासँग विद्रोह गरेकै हो । मोहनविक्रम सिंहको माया नगरिकन प्रचण्ड–बाबुराम जनयुद्ध गर्न निस्किएकै हुन् ।

२०१०–२०३० को बीचमा जन्मिएको तथा सक्रिय हुन थालेको पुस्ता दोस्रो पुस्ता थियो । इतिहासमा यसले छोडेको छाप लोकतान्त्रिक आन्दोलनलाई पूर्णता दिने प्रयास गर्नु हो । २०३६, २०४६ र २०६२-६३ का घटनाक्रम यो पुस्ताको योगदान विना सम्भव थिएन । जसरी पहिलो पुस्ताको नेतृत्व २०४६ र २०६२-६३ सम्म तानिएर आयो, त्यसैगरी अहिले जताततै यही दोस्रो पुस्ताको ढलीमली छ । यो पुस्ता जति असान्दर्भिक हुँदैछ– तर आफूलाई विकल्पहीन ठानेको छ । ‘जेजस्तो भए पनि हामी नै हौ, अझै एक दशक हामीले नै चलाउने हो’ भन्ने दम्भ यो पुस्तामा बाँकी नै छ ।

२०३०–२०५० बीच सक्रिय भएको पुस्तालाई शायद तेस्रो पुस्ता भन्नुपर्ने हुन्थ्यो । यो पुस्ताको दायित्व लोकतन्त्रको स्तरीकरण, अर्थतन्त्रको सबलीकरण र सुशासनको प्रत्याभूति हुनुपर्दथ्यो । यी कुनै दायित्व अहिलेसम्म पूरा भएका छैनन् । बरु उल्टै लोकतन्त्रको क्षयीकरण (डिग्रेसन अफ डेमोक्रेसी) भएको छ । दोस्रो पुस्ताको पिछलग्गु हुनु बाहेक तेस्रो पुस्ताको औचित्य, मौलिकता र भिन्नपनको छाप इतिहासको अध्यायमा लेखिन सकेको छैन ।

‘लोकतन्त्रको क्षयीकरण’ सन् २००० को हाराहारीमा देखा परेको एक विश्वव्यापी महाव्याधि थियो । सन् १९९० अघि लोकतन्त्र विश्व राजनीतिको भीमकाय ‘प्रोजेक्ट’ मानिन्थ्यो । व्यक्ति, दल र राष्ट्रिय–राज्य यात लोकतन्त्रवादी हुन्थे यात लोकतन्त्रविरोधी हुन्थे । लोकतन्त्रको आफ्नै शास्त्रीय भाष्य थियो– लिवरल डेमोक्रेसी र सोसियल डेमोक्रेसीको । विरुद्धमा राजावादी, सैन्य ताशनाह, धर्म गुरू, कुलीनतन्त्र र सर्वहारा अधिनायकवादमा विश्वास गर्ने एकदलीय कम्युनिष्ट तानशाहहरू थिए । त्यो युगमा ‘लोकतन्त्रको सौन्दर्य’ को कुरा हुन्थ्यो, ‘क्षयीकरण’ को हैन ।

लोकतन्त्रको क्षयीकरण ‘लोकतन्त्र विरोधी हुँ’ भन्नेबाट हैन, स्वयम् लोकतन्त्रवादीबाटै हुने हो । नेपालमा राजावादी, राप्रपा वा मण्डलेहरूबाट लोकतन्त्रलाई त्यति जोखिम अहिले छैन, जति स्वयं ‘लोकतन्त्रवादी हुँ’ भन्नेहरूबाट छ । खाडी, मध्यपूर्व वा अरब दुनियाँजस्तो बादशाही, सुल्तानियत, अमिरतन्त्र, युद्ध सरदार जस्ता राजनीतिक प्रवृत्ति नेपालमा छैनन् । राणाशासनको अन्त्यसँगै औपचारिक कुलीनतन्त्र इतिहासको चिहानभित्र पुरियो र त्यो जागेर लोकतन्त्रलाई हानी गर्न सक्ने कुनै गुन्जायस छैन ।

पाकिस्तान, बंगालदेश, म्यानमारको जस्तो नेपालको सेनाले कहिल्यै लोकतन्त्रको अपमान र अवमूल्यन गरेन । गरेको छैन । राणा, शाह र पञ्चले सेनाको दुरुपयोग गर्थे, त्यो भिन्नै कुरो हो । नेपालमा खोमेनी वा पोपजस्तो कुनै धार्मिक नेता कहिल्यै जन्मेन । नत स्टालिन, माओ, क्यास्त्रो, चाउचेस्कु, होनेकार जस्तो एक दलीय तानाशाह नै जन्मिए । फेरि पनि लोकतन्त्र जोखिममा छ भने कसको कारणले छ त रु लोकतन्त्रको क्षयीकरण भइरहेको छ भने कसको कारणले भइरहेको छ त रु यो काम लोकतन्त्रका दुश्मनहरूबाट हैन, स्वयं लोकतान्त्रिक आन्दोलनभित्रका पपुलिष्ट र डेमागगहरूको कारणले भइरहेको छ । दोस्रो पुस्तामा जन्मिएका केही अक्षम, डेमागग र पपुलिष्टहरू लोकतन्त्रको क्षयीकरण गर्न तल्लीन छन्, तर तथाकथित तेस्रो पुस्ता लोकतन्त्रको स्तरीकरण गर्नुपर्ने ऐतिहासिक दायित्वबाट च्युत भएको छ ।

बरु चौथो पुस्ताका संकेत अगाडि आइसके । त्यसले इतिहासमा आफ्नो भिन्नपन र मौलिक छाप देखाउन थालिसक्यो । कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल आदि चौथो पुस्ता हुन्, तेस्रो हैन । विवेकशील पार्टी गठन गर्ने उज्वल थापा ४२ वर्षमा बिते । उनले चौथो पुस्ताको अमिट छाप छोडे । मिलन पाण्डे, रञ्जु दर्शना, पुकार बम, निर्देश सिलवाल, अजिता राईलगायतका सम्भावनाका ताराहरू उज्ज्वलले निर्माण गरेको आकाशमा चम्किरहेका छन्, भविष्यमा तिनले कुनै गतिलो योगदान देशका लागि गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

तर, तेस्रो पुस्ता भने सबै पार्टीमा बकवास सावित भएको छ । नेपाली कांग्रेसमा प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, शेखर कोइराला इत्यादिको मौलिकता वा इतिहासमा विशेष भूमिका र छाप के हो अझै प्रष्ट छैन । एमालेमा तेस्रो पुस्ताका प्रतिनिधि मानिएका शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली वा योगेश भट्टराईहरूले पहिलो पुस्ताका पुष्पलाल र दोस्रो पुस्ताका मदन भण्डारीको बिंडो कति थामे होलान् ? ओलीतन्त्री गरुडको छायाँमा सर्पमा लत्रिएको यो पुस्ता दिनप्रतिदिन झनझन बकवास सावित हुँदैछ । आज जबज लोकतन्त्रको सिद्धान्त हो कि लोकतन्त्रको क्षयीकरण गर्ने सिद्धान्त भन्ने प्रश्न उठाउनुपर्ने भएको छ । यो पङ्क्तिमा अझै अलिकति आशा घनश्याम भुसालबाट गर्न सकिन्छ, तथापि उनको चिन्तन पद्धतिमा मूर्त प्रस्तावनाभन्दा अमूर्त तर्कनाहरू नै धेरै छन् ।

माओवादीमा तेस्रो पुस्ता स्थिति झनै विजोग छ । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह आदि ओलीतन्त्रको मतियार र लोकतन्त्रको क्षयीकरणको संवाहक बन्न राजी भएका छन् । प्रचण्डसँगै रहेका ‘वर्षमान पुनहरू’ को अहिलेसम्म कुनै सार्थक भिन्नपन र मौलिकता देखिएको छैन । प्रचण्डको कृपाले बारम्बार मन्त्री खानु र त्यही मन्त्रीको पोर्टफोलियो देखाएर समाजमा आफूलाई बर्चश्वशाली ठान्नु बाहेक माओवादी आन्दोलनको तेस्रो पुस्ताको थप औचित्य देखिन्न ।

तेस्रो पुस्तामा एक हदसम्मको चमत्कार उपेन्द्र यादवले गरेका हुन्, मधेश आन्दोलनमार्फत । उनकै नेतृत्वको आन्दोलनले देशमा संघीयता, समानुपातिकता, समावेशिता र आरक्षण शुरुवात गर्‍यो, जुन नेपालजस्तो जमेको समाजमा कुनै चानचुने कुरा थिएन । अन्यथा शंकर पोखरेलहरूको ‘जबजको समृद्धिकरण’, विप्लवको ‘एकीकृत क्रान्ति’, आहुतिको ‘वैज्ञानिक साम्यवाद’, सीके राउतको ‘मधेश मुक्ति’ केवल बुद्धिविलास सावित भए । यिनले बकवासभन्दा माथि उठेर कुनै सार्थक योगदान गर्न सकेको देखिन्न ।

मुमाराम खनाल, डा. सूर्यराज आचार्य, रवीन्द्र मिश्र, केशव दाहाल वा गोपी हमाललाई उज्ज्वल थापा, मिलन पाण्डे र रञ्जु दर्शनाको पुस्ता भन्न मिल्दैन । विवकेशील–साझा पनि कुनै एक पुस्ताको प्रखर ज्योति हैन । बकवास तेस्रो पुस्ता र सृजनशील चौथो पुस्ताबीचको भेद त्यहाँ पनि प्रष्टै देखिन्छ । ‘वैकल्पिक राजनीति’ को भाष्य र व्यवहार पनि दिन प्रतिदिन धुमिल र ज्योतिहीन हुँदैन, त्यसका लागि कुनै भिन्नै शब्द ‘क्वाइन’ गर्नुपर्ने नौवत आइसकेको छ ।

पहिलो र दोस्रो पुस्ता त्यति निरर्थक थिएन, जति तेस्रो पुस्ता सावित भएको छ । दोस्रो पुस्ताले पहिलो पुस्तासँग विद्रोह गरेकै हो । मोहनविक्रम सिंहको माया नगरिकन प्रचण्ड–बाबुराम जनयुद्ध गर्न निस्किएकै हुन् । गिरिजाप्रसाद कोइरालासँग जोरी खोजेरै शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेस समेत बनाए । कांग्रेस संस्थापनको इच्छाविपरीत कांग्रेसमा जबरजस्त स्थापित भइछाडे । मदन भण्डारीले पुष्पलाल वा मनमोहनलाई उछिनेर ‘जनताको बहुदलीय जनवाद’ बनाएका थिए । पहिलो र दोस्रो पुस्ता बीच सहयोग र संघर्षको दोहोरो सम्बन्ध थियो ।

तथाकथित तेस्रो पुस्तामा भने त्यतिको आँट अहिलेसम्म प्रकट भएको छैन । मुमाराम खनालको शब्द सापटी लिएर भन्दा तेस्रो पुस्ता ‘सामूहिक असफलता’ (कलेक्टिभ फेलर) को शिकार भएको छ । त्यसको पीडा सबैले उत्तिकै भोग्न परिरहेको छ । यो असफलताभित्र म आफैं पनि कहीं न कहींनेर छु भन्ने लाग्दछ । ‘वैकल्पिक राजनीति’ को जुन भाष्य हामीले निर्माण गर्‍यौं, त्यसअनुरुप कोर्स बनाउन सकेनौं । उचित रणनीति र कार्यनीति बनाउन सकेनौं । उचित व्यवस्थापन क्षमता देखाउन सकेनौं । उचित पहलकदमी लिन र श्रृङ्खलाहरु मिलाउन सकेनौं ।

फलतः देश लोकतन्त्रको समृद्धिकरणको साटो लोकतन्त्रको क्षयीकरणतिर उदत्त भयो । यसका लागि सबैभन्दा बढी जिम्मेवार तेस्रो पुस्ता छ । तेस्रो पुस्ताको अक्षमता, नालायकी जिम्मेवार छ । तेस्रो पुस्ताले आफ्नो युगको नाडी ठीक ढंगले छाम्न सकेन । आफ्नो युगको पदचाप ठीक ढंगले बुझ्न सकेन । आफ्नो युगीन कर्तव्य र कार्यभार ठीक ढंगले पूरा गर्न सकेन । तेस्रो पुस्ता बकबास सावित भयो । देश लोकतन्त्रको घटियाकरण र सामूहिक असफतातिर गयो । असान्दर्भिक हुँदै गएको दोस्रो पुस्तासँग यथोचित विद्रोह गर्ने क्षमताको अभाव, दब्बुपन र पिछलग्गु स्वभाव तेस्रो पुस्तालाई बकवास सावित गर्ने मुख्य कारण बन्यो ।

के हामी ठीक यहींनेरबाट आत्मसमीक्षा र ‘कोर्स करेक्सन’ गर्न तयार होऔंला ? अन्यथा छिट्टै चौथो पुस्ताले तेस्रोलाई उछिन्ने छ र इतिहासको किताबमा एक अध्याय खाली पानाहरूको बन्ने छ । भविष्यमा ती खाली पाना पल्टाउनेहरूले हाम्रो पुस्तालाई अक्षम, नालायक र हुतिहाराहरूको युग थियो होला भनेर अनुमान गर्नेछन् ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?